विकलको ठाउँमा नयाँ नियुक्तिको तयारी

विकलको ठाउँमा नयाँ नियुक्तिको तयारी

सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक नियुक्त गर्न लागिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर उक्त पदमा दरखास्त आह्वान गरेको हो । 

सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ को दफा १९ बमोजिम योग्यता पुगेका इच्छुकलाई आवेदन पेश गर्न भनिएको छ । दरखास्त दिने म्याद १० दिन तोकिएको छ । 

मन्त्रालयका अनुसार उम्मेदवारको उमेर कम्तीमा ३० वर्ष पूरा भएको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । 

त्यस्तै, व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्षको कार्यअनुभवसहित सरकारी तथा सार्वजनिक संस्थाको सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको, फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र वा नागरिकता नलिएको र कानूनबमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्ने सूचनामा उल्लेख छ । 

केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारसम्बन्धी कसुरमा गत माघमा पक्राउ परेसँगै उक्त पद रिक्त छ । भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंबाट दोषी ठहर भएका उनी अहिले सजाय भुक्तानका लागि कारागारमा छन् । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा साढे ९  करोड बढी भ्रष्टाचार गरेको र झूठा विवरण पेश गरी सरकारी नियुक्ति लिएको मुद्दामा दोषी ठहरिएका उनीविरुद्ध थप दुईवटा मुद्दा विचाराधीन छन् ।

 

टिप्पणीहरू