हवाई कम्पनीलाई भाडादर बुझाउन २४ घण्टे अल्टिमेटम

हवाई कम्पनीलाई भाडादर बुझाउन २४ घण्टे अल्टिमेटम
सुन्नुहोस्

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले २४ घण्टाभित्रै हवाई कम्पनीहरुलाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको छ । 

अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । ‘हामीले नागरिकहरुकै सेवा भनेर हवाई कम्पनीहरुलाई सहुलियत दिएका थियौं । तर, त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ । नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ । यस विषयले म निकै दुखी भएको छु’, मन्त्री पाण्डेले भन्नुभयो ।  

कम्पनीहरुले नियामक निकायसँगको छलफलमा पाँच बुँदे सहमति गरे पनि त्यसको कार्यान्वयन नभएको भन्दै मन्त्रीले त्यसक्रममा आक्रोशसमेत व्यक्त गर्नुभएको बताइएको छ । 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई पनि उहाँले मनपरी भाडा नलिन सचेत गराउनुभयो । नागरिकले हवाईभाडा बृद्धिबारे गरेको गुनासोले आफूलाई चिन्तित तुल्याएको बताउँदै मन्त्री पाण्डेले २४ घण्टाभित्र बिक्री हुने टिकटको मूल्य भोलि ४ बजेभित्र उपलब्ध गराउन कडा निर्देशन दिनुभएको छ ।

टिप्पणीहरू