नागरिक आन्दोलनद्वारा प्रहरी दमनको निन्दा

नागरिक आन्दोलनद्वारा प्रहरी दमनको निन्दा
सुन्नुहोस्

संयुक्त राष्ट्रवादी नागरिक आन्दोलनले सहकारी पीडितको आन्दोलनमा भएको प्रहरी दमनको निन्दा र भर्त्सना गरेको छ । 

बचत फिर्ताको माग राख्दै सडकमा उत्रिएका सहकारी पीडितलाई रक्ताम्य हुनेगरी प्रहरीले कुटपिट गरेको घटनाप्रति संगठनले आपत्ति जनाएको हो । प्रहरीको उक्त कदमले शान्तिपूर्ण आन्दोलनलाई हिंस्रक आन्दोलनमा परिणत गर्न प्रश्रय गरेको संगठनको ठहर छ । 

संगठनले विज्ञप्ति जारी गर्दै बर्दीका तानाशाहहरुको बलमिच्याईँ र ज्यादती नसहने चेतावनी दिएको छ । 

‘सहकारी पीडितहरुको शान्तिपूर्ण आन्दोलनलाई दबाउन प्रशासनको ज्यादती व्यापक दमन र शान्तिपूर्ण आन्दोलनलाई दबाउन खोज्नेहरुले हिंस्रक आन्दोलनलाई प्रश्रय दिन्छन्’,विज्ञप्तिमा भनिएको छ,‘लोकतन्त्रमा न्याय माग्दा खुन पाइन्छ, निरकुंश शासकहरुको दमन पाइन्छ, आम नागरिकमाथिको बलमिच्याईँ र पीडितलाई झन् पीडित बनाइन्छ भने अपराधी आम नेपाली नागरिकहरु तानाशाहहरुको कर्तुत सहेर बस्ने छैनन् ।’

त्यस्तै, संगठनले आन्दोलनका क्रममा पक्राउ परेका सहकारी पीडितहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको अगुवाइमा आज दिँउसो माइतीघर मण्डलामा प्रदर्शन भएको थियो । 

आन्दोलनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । झडपका क्रममा एक जना प्रदर्शनकारीको टाउको फुटेको छ भने आधा दर्जन घाइते भएका छन् ।

टिप्पणीहरू