मृगस्थलीका गाई, श्लेषमान्तकका बाँदर !

मृगस्थलीका गाई, श्लेषमान्तकका बाँदर !

थाइल्याण्डको एक प्रतिष्ठित विश्वविद्यालयबाट मर्निंग वाक गर्नेहरुमा सुगर कत्तिको लाग्छ भन्ने विषयमा पीएचडी गरिरहेका एक नेपाली गोलचक्करमा परेका रहेछन् । उनी सकसमा परेको थाहा पाएर अर्का नेपाली प्राध्यापक डा. शिव अधिकारीले सोधेछन्, के भयो निन्याउरो देखिनुहुन्छ नि ! त्यसपछि पीएचडी गरेकाले मनको बह पोखेछन्, डाक्टर सा’ब म त साह्रै अप्ठेरोमा परें । पिएचडी नै गर्न नसकिने भइयो ! म के गरौं ?

बैंककमा बिहान नियमित हिँड्नेहरुमा गरिएको अध्ययनमा ९९ प्रतिशत व्यक्ति सुगरले ग्रस्त देखिए । यो त होइन होला भन्ने ठानेर फेरि अनुसन्धान गरें । पहिलेकै नतिजा दोहोरियो । गाइडलाई भनें, उनले फेरि अध्ययन गर, यो त उल्टो भयो भने । म त बिलखबन्दमा परेको छु, समय पनि सकिन लाग्यो अब पीएचडी नै नगरी फर्कनु पर्छ जस्तो पो भयो, के गरुँ?

डा. शिवले आश्चर्य मान्दै भन्नुभएछ, यस्तो कहाँ हुन्छ ? मलाई हेर्न दिनुस् तपार्इंको अध्ययन ! मर्निंग वाक गर्नेहरुमाथि गरिएको अध्ययन प्रतिवेदन पूरै पढेपछि पीएचडी गरिरहेकालाई डा. शिवले भनेछन्, ‘तपाईंको रिसर्च ठीक छ तर मलाई तपाईंको अध्ययन माथि नै शंका लाग्यो । कतै मर्निंगवाक गर्नेहरु सुगर लागिसकेपछि मात्र हिँड्न थालेका त होइनन् ?अब यो पक्ष अध्ययन गर्नुहोस् त ।’ 

नभन्दै डा. अधिकारीले शंका गरेजस्तै थाइल्याण्डमा मर्निंगवाक गर्ने सबैजसो सुगरले थल्याएपछि हिड्नथाल्ने रहेछन् । यो जानकारी पक्का भएपछि पीएचडी गर्नेले थेसिस तयार गरे । अनि उनले पास पनि गरे र अहिले त्रिभूवनविश्वविद्यालयमा पढाइरहेका छन् । 

हिजोआज राजधानी काठमाडौंमा पनि मर्निंगवाक गर्नेहरुको बगाल जताततै देखिन थालेको छ । उनीहरुको प्रात भ्रमण सुगरले गाँजेपछि हो कि गाँज्नु अघि नै हो ?

आफू पशुपतिनाथ र बौद्धनाथको बीचजस्तो ठाउँमा बसोवास गर्ने भएकाले कहिले एउटा विश्व सम्पदासूची त कहिले अर्कोमा साँझ बिहान घुमफिर गर्न जाँदा विकास अर्थशास्त्रका प्राध्यापक डा. विष्णु शर्माले सुनाउनु भएको सत्य घटना हो माथिको अनुच्छेद ! त्यसपछि उहाँले सोध्नुभयो, ‘कृष्णमुरारीजी बौद्धनाथ र पशुपतिनाथ क्षेत्रमा मर्निंगवाक गर्न लम्किनेहरुमध्ये कतिजनालाई सुगरले गाँजेको होला ?’

शर्माजीलाई मैले अहिलेसम्म उत्तर दिइसकेको छैन तर त्यसपछि म बिहान पशुपतिनाथ क्षेत्रको मृगस्थली, श्लेषमान्तक वन र ध्रुवस्थली (शिवपुरी बाबालाई समाधिस्थ गरिएको ठाउँ)तिर नियमित भ्रमण गर्न थालेको छु । कहिले बिहान सबेरै र कहिले ढिला वा साँझपख । अनि त्यहाँ देखिने चहलपहल, गतिविधि र चर्तिकलबाट आफैं चकलीभूत हुन्छु । त्यसैले त ‘पशुपतिको जात्रा, सिद्राको व्यापार’भन्ने लोकोक्ति जन्मिएको रहेछ ।

हरेक आधा आधा घण्टामा त्यहाँका भाव, भंगीमा र मुद्रामा भइरहने परिवर्तन बग्रेल्ती विद्वानहरुका लागि पीएचडी गर्ने भर्जिन विषय रहेछन् । त्यहाँको चहलपहलले, बदलिँदै गरेको नेपालको सपाट चित्र पनि प्रदर्शन गरिरहेझैं लागेको छ । त्यसैमध्ये एउटा हो, मर्निंगवाक गर्नेहरुले त्यहाँका गाई, बाँदर, मृग र चरा तथा माग्नेमा विकसित गरेको बानी व्यहोरा ! जो एनजीओ र आइएनजीओको सम्बन्धको रुपमा प्रदर्शित भैरहेको देखियो पनि ।

मर्निंगवाक गर्नेहरु आर्यघाटको पुल तरेर मृगस्थलीतिर उक्लिन थालेपछि थरिथरिका आवाजले चिच्याउन थाल्ने रहेछन्, मानौं देवता मस्तसँग निदाइरहेका छन् र उनीहरु देवतालाई ब्यूँझाउन प्रयत्नशील छन् ! कोही जय शम्भो, हरिओम, राधेराधे, माते, गुह्येश्वरी आमा त कोही हेहेहे, हाहाहा, हूहूहूलगायतका आवाज निकालेर मस्त निद्रामा सुतिरहेका देवताका लागि एलार्म घडी बनेर चह¥याउने आवाज निकाली रहेछन् ।

मंसिरको चिसो बिहानीमा सिरक ओढेर मस्तसँग घुरिरहेका देवतालाई फुर्तिला मर्निंगवाकेहरुको चिच्याहटले कत्तिको ब्यूँझाउँछ थाहा छैन तर स्याँस्याँ गर्दै हिँडिरहेका मनुवाहरुको चिच्याहट कानमा परेसँगै त्यो क्षेत्रमा रहेका बाँदर, गाई, चरा र बारभित्र रहेका मृगहरु चनाखो बनेर कान, पुच्छर र आँखा नचाइरहेको देखियो । आवाज सुनेपछि लामबद्ध भएझैं कोही पुच्छर हल्लाउन, बाँदरका बथान त चिच्याउँदै दौडिन, बाछाबाछी छटपटिन, साँढेहरु फुइकिंदै अरुलाई घोच्याउन, कोही मुन्टो बटार्न, मलेवाहरु उड्नलगायतका हरकत शुरु गर्न थाल्ने रहेछन् ।

उनीहरुका यी क्रियाकलाप नियाल्न दिवंगत स्वामी प्रपन्नाचार्यको वासस्थानको ढोकानिरबाट हेर्दा बाँदर, गाई र चराहरु लामबद्ध बनेर पर्खिरहेका देखिने पर छेउको गोरखनाथ बाबाको मन्दिरसम्मै । यी सब क्रियाकलाप देख्दा मेरो मनमा आइएन्जीओ प्रोजेक्ट बाँड्न आइरहेका र एनजीओहरु आँ मुख बाउँदै सलबलाएझैं लागिरह्यो । सँगै बसिरहेका साथीलाई भने पनि वाक गर्दै सुगरका बिरामीले खान नहुने बिस्कुट, गुलीया बासी रहलपहल र पाकेर गिलित्त भएका केरा जस्ता बस्तुहरु बाँड्ने डोनर हुन् र तिनबाट सामान फुत्काएर हात पार्न कुदिरहेका जनावरहरु चाँहि मृगस्थलीका एनजीओहरुजस्ता पो लागे !

एनजीओ भन्नाले परचक्रीको पैसाले स्वदेशको (खासमा आफ्नै) विकास गर्ने संस्था भन्ने बुझिन्छ । एनजीओहरु आइएनजीओको खर्चमा परिचालन हुने स्वदेशी संस्था हुन् । जो सरकारी हुँदैनन् । यिनीहरु गैरसरकारी संस्था हुन् जो सरकारबाट स्वतन्त्र हुन्छन् । यिनीहरु मानवीय कार्यहरु मात्र होइन, सरकारको विकास लक्ष्यका सहयोगी पनि हुन् । मर्निंगवाकेहरुबाट पोषित गाई, बाँदर पनि गैरसरकारी समूहमा संगठित प्राणी त हुन् ।

एनजीओलाई देशका नागरिकहरुले मिलेर संस्थागत बनाएका हुन्छन् । भनिन्छ, यिनले स्थानीय मुद्दाहरुलाई संबोधन गर्न दाता वरिपरि परिक्रमा गर्छन् । पशुपतिनाथ क्षेत्रका गाई, बाँदर र चराचुरुंगीले पनि आफ्ना भोकका मुद्दाहरु सम्बोधन गर्न दाता वरिपरि परिक्रमै गर्दा रहेछन् ।

आइएनजीओ भनेका त्यस्ता संस्था हुन् जो एउटा देशमा त आधारित हुन्छन् तर अर्को देशमा विकासका कार्यहरु परिचालन गर्ने दाताहरु हुन् । मर्निंगवाकेहरु पनि अर्कै थलोमा बस्छन् र यहाँ आएर स्रोत परिचालन गर्छन् । आइएनजीओसँग खर्च गर्ने धेरै क्षमता हुन्छ, जो मर्निंगवाकेहरुमा पनि हुन्छ । आइएनजीओहरु व्यापक क्षेत्रबाट धन संकलन पनि गर्ने गर्दा रहेछन् । त्यसभित्र सर्वसाधारणदेखि सरकार, व्यापारी, उद्योगपति, धनवान, मनकारी आदि पर्दा रहेछन् । मर्निंगवाकेहरुमा पनि यही स्वभाव देखियो ।

भनिन्छ, नेपालमा ६० हजारभन्दा बढी एनजीओ छन् । कुनै पनि संस्था जो विकासको क्षेत्रमा काम गर्न चाहन्छन् उनीहरुले स्थानीय सरकारबाट सर्वप्रथम स्वीकृति लिनुपर्छ । तर मर्निंगवाकेहरुले स्व–स्वीकृति आफैंबाट लिनुपर्छ त्यो भनेको मृगस्थली र श्लेषमान्तक वनमा पुग्नका लागि हात पाउ चल्नसक्ने हुनुपर्छ । एनजीओ र आइएनजीओहरु गैरनाफामूलक हुनुपर्छ, तर मर्निंगवाकेहरु पशुप्रेमी र धार्मिक आस्था भएका हुनुपर्छ ।

एनजीओ÷आइएनजीओलाई दीगो विकास, गरीवी न्यूनीकरण र सामाजिक विकासको पर्याय मानिन्छ । यिनले सरकारले प्राथमिकता दिएका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, लैंगिक समानता र सुशासनमा सहयोग गरेर बल पुर्याइरहेका हुन्छन् भन्ने गरिन्छ । मर्निंगवाकेहरुलाई कसले के भन्छन् थाहा छैन तर पशुपंछीहरुका लागि भने उनीहरु आइएनजीओ हुने गरेका छन् । यसरी मर्निंगवाक गर्नेहरु बिस्कुट, केरा, सेल, पाउरोटी, जेरीस्वारी हलुवा, स्याउ, सुन्तला, डुनट, केक, अन्न, गेडागुडी मृगस्थलिका गाई र मृग अनि श्लेषमान्तकका बाँदरलाई खुवाएर धर्म सञ्चिति गरेर आफूले गरेका पापबाट आफू आफ्नो वंश मोचन होइने ठान्दा रहेछन् । साँच्ची उनीहरुमध्ये कति प्रतिशतलाई सुगरले गाँजेको होला ? यसबारे कोही पीएचडी पनि गर्दैछन् कि ?

टिप्पणीहरू