‘जागरण सभा’ पछिको एमाले–बालेन विवाद नयाँ माेडमा

‘जागरण सभा’ पछिको एमाले–बालेन विवाद नयाँ माेडमा
सुन्नुहोस्

एमालेले गत साता दरबारमार्गमा आयोजना गरेको ‘जागरण सभा’ पछि उत्पन्न फोहोरको विषय थप पेचिलो बनेको छ । मंसिर ७ गतेको सभालगत्तै फोहोर आफूहरुले उठाएको नेकपा एमालेको दाबी खण्डित हुने तथ्य सार्वजनिक भएको छ । 

काठमाडौँको फोहोर व्यवस्थापन गर्दै आएको क्लिन काठमाडौं वेस्ट म्यानेजमेन्ट प्रालिले कार्यक्रमको भोलिपल्ट दरबारमार्ग क्षेत्रबाट दुई ट्रक फोहोर संकलन भएको जानकारी गराएको छ । महानगरले मंसिर ८ गते बिहान दरबारमार्ग क्षेत्रको सरसफाइ, फोहरमैला संकलन र दुवानी सम्बन्धमा क्लिन काठमाडौंसँग सोधनी गरेको थियो । जवाफमा कम्पनीले जागरण सभाको भोलिपल्ट आफ्ना कर्मचारीहरुले कार्यक्रमस्थलबाट दुई ट्रक फोहोरमैला संकलन गरी बञ्चरे ल्याण्डफिल साइट पुर्याएको जनाएको छ । 

‘उक्त कार्य गोल्डेन टिभी, दरबारमार्ग ट्राफिक प्रहरी तथा काठमाडौं महानगर प्रहरीको निगरानीमा सम्पन्न गरिएको थियो । हाम्रो कम्पनीका कर्मचारीहरुले ६.७५ टन क्षमताका ट्रिपरहरु प्रयोग गरी दुई ट्रक फोहोरमैला संकलन गरी बञ्चरे ल्याण्डफिल साइटमा ढुवानी गरेका थिए’, कम्पनीले महानगरलाई लेखेको पत्रमा उल्लेख छ । 

कार्यक्रमको भोलिपल्ट दरबारमार्ग क्षेत्रमा फोहोरमैला व्यवस्थापनका लागि सधैंझैं बिहान ४ बजेदेखि सफाईकर्मी परिचालन गरिएको कम्पनीको दाबी छ । सो क्रममा सार्वजनिक संवेदनशीलता भएका स्थानमा बदामका बोक्रा, चटपटे बनाउन प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक दलको झण्डा, चुरोटका ठुटा, बोट बिरुवाका हाँगा तथा पूर्वराजा महेन्द्रको शालिकमा रक्सीका बोतल र बियरका क्यानहरु भेटिएको कम्पनीले बताएको छ । 

‘सार्वजनिक संवेदनशीलता भएका स्थानहरुमा बदामका बोक्रा, चटपटे बनाउन प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झण्डा, चुरोटका ठट्टा, बिरुवाका हाँगा, तथा पूर्वराजा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्राण्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरु संकलन गरिएको जानकारी गराउन चाहन्छौं’, पत्रमा लेखिएको छ ।

त्यसक्षेत्रमा रहेका सीसीटिभी क्यामराको निगरानीमा सरसफाईको कार्य सम्पन्न भएकाले फोहोरमैलाको प्रकृति र अवस्था यथार्थ रुपमा अभिलेखमा रहेको पनि कम्पनीले उल्लेख गरेको छ । 

यसअघि महानगरले जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरिएको भन्दै एमालेलाई जरिवानाको निम्ति पत्र काटेको थियो । तर, सभा सम्पन्न भएलगत्तै दरबारमार्ग क्षेत्र आफूहरुले नै सफा गरेको जिकिर गर्दै एमालेले पत्र बुझ्न अस्वीकार गर्दै आएको छ ।

टिप्पणीहरू