एउटै व्यक्तिको नाममा कतिवटा बैंक खाता र राहदानी ?
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत बुधबार करोडौंको अनलाइन जुवा खेलाएको आरोपमा एक युवकलाई नियन्त्रणमा लियो । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–४, अफलटोल बस्दै आएका ३७ वर्षीय सुनिल राई समातिएका हुन् ।
उनी अनलाइनमार्फत् जुवा खेलाएर रकम संकलन गरेको र क्रिप्टो करेन्सीलगायत गैरकानूनी कार्यमा पनि संलग्न रहेको प्रहरीको आरोप छ । बैंक खाता, ईसेवा वालेट, बाइनान्स आईडीको प्रयोग गरेर उनले हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।
तर, राईबाट बरामद सामग्रीले जोकोहीलाई आश्चर्यचकित बनाउन सक्छ । उनको साथबाट विभिन्न बैंकका एटीएम कार्ड मात्रै ४२ वटा बरामद भएको छ । विभिन्न व्यक्तिको नागरिकता प्रयोग गरी आफ्नो नाममा ७५ वटा बैंक खाता खोलेको पनि पाइएको छ ।
ती नागरिकताको प्रयोग गरी ७५ थान सिमकार्ड निकालिएको, १५ वटा राहदानी र २२ वटा चेकबुक लिएको भेटिएको छ । योसँगै विभिन्न व्यक्तिका ११ थान नागरिकता प्रमाणपत्र, दुई थान ल्यापटप, आठ थान मोबाइल, वाईफाईका दुई राउटर र एउटा मोटरसाइकल पनि उनीबाट बरामद गरिएको छ ।
राईमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५, को दफा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयकै टोलीले गत वैशाखमा तीन जनालाई पक्रेको थियो । झापाको अर्जुनधारा–९, की ३८ वर्षीया रश्मी विश्वकर्मा भनिने सन्जु पौडेल, उनका श्रीमान ३५ वर्षीय निश्चल पोर्तेल र इलामका ३४ वर्षीय धनबहादुर विक पक्राउ परेका थिए । उक्त समूहले सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिसँग सम्पर्क गरी ‘तपाईंको पार्सल, डलर, गिफ्ट आएको छ, प्राप्त गर्नका लागि भन्सार चार्ज लाग्छ’ भन्दै ठगी गरेको पाइएको छ । त्यसका लागि उनीहरुले अरुको नागरिकता दुरुपयोग गरेको भेटिएको हो ।
रश्मी विश्वकर्माको नाममा रहेको बैंक खातामा ठगीको रकम पाइएपछि प्रहरी उनको खोजीमा थियो । प्रहरीले बैंक खाता खोल्न प्रयोग गरिएको नागरिकताको प्रतिलिपि झिक्यो । सोहीअनुरुप ठेगानासम्म पुग्यो तर रश्मी भेटिइनन् । उनको तस्बिर हेर्दा नागरिकतामा प्रयोग भएकोसँग मेल खाएन भने नागरिकता नम्बर मिल्यो ।
अनुसन्धानमा क्रममा पक्राउ परेकी रश्मीले आफ्नो नागरिकता केही समयअघि हराएको प्रहरीलाई बताइन् । त्यसपछि प्रहरीले नागरिकता दुरुपयोग भएको हुनसक्ने अनुमान गरिएकोमा नभन्दै बैंक खाता खोल्दा नागरिकतामा फोटो भएकी सन्जु पक्राउ परिन् । उनैले रश्मीको नागरिकता किर्ते गरेर बैंक खाता खोलेकी थिइन् ।
प्रहरीका अनुसार सन्जुले रश्मीको नागरिकता भेट्टाएपछि उक्त नागरिकताको फोटो उप्काएर आफ्नो फोटो टाँसिन् । सोही नागरिकताको आधारमा विभिन्न बैंकमा १६ वटा खाता खोलिन् । नक्कली नागरिकताको आधारमा खोलिएको बैंक खातामा पीडितहरुलाई रकम हाल्न लगाएर ठगी गरेको प्रहरीको निष्कर्ष छ ।
उनीहरुको साथबाट प्रहरीले विभिन्न छ व्यक्तिका नागरिकता, एनसेलका २६ थान सिमकार्ड, एक थान भारतीय सिमकार्ड, विभिन्न बैंकका आठ थान एटीएम, ११ थान चेकबुकलगायत पनि बरामद गरेको थियो ।
गत वैशाखमै जापान पठाइदिने प्रलोभनमा ठगी आरोपमा दुई युवक प्रहरी नियन्त्रणमा पुगे । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७, का नारायणबहादुर राई भन्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाको गौरीदह नगरपालिका–१, का पर्वराज पाण्डे भन्ने ४६ वर्षीय ईश्वरी पाण्डे समातिएका हुन् । उनीहरुले अर्काको नागरिकता दुरुपयोग गरी अरुकै नाममा कन्सलट्रेन्सी दर्ता गरेर ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयको ठहर छ ।
प्रहरीका अनुसार श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा विकास बैंकमा खाता खोलेका थिए । खाता खोल्दा केवाइसी फाराममा आफ्नो फोटो राखेपनि नागरिकता भने उनले नारायणबहादुरको बुझाए । तर, बैंकले आवश्यक जाँच नगरी खाता खोलिदियो । उक्त खातामा विदेश जान चाहने मानिसलाई उनले रकम जम्मा गर्न लगाई पछि आफ्नो खातामा सार्ने गरेको पाइयो ।
खातामा धेरै रकम जम्मा भएपछि श्रेष्ठले चलाखीपूर्ण पीडितहरुलाई कामना सेवा विकास बैंकमा पर्वराज नाममा खोलिएको खातामा रकम जम्मा गर्न लगाए । यसरी श्रेष्ठ र पाण्डेले दुई सय १९ जनाबाट दुई करोड ६८ लाख रुपैयाँ ठगेको खुल्न आएको छ । यता, प्रहरीले वास्तविक नारायणबहादुर राईलाई पनि सम्पर्कमा ल्याई सोधपुछ गर्दा उनी पठाओ चालक रहेको र उनको नागरिकता १५–१६ वर्षअघि नै हराएको थियो ।
अर्काको नागरिकता देखाएर बैंक खाता खोलेको आरोपमा गत माघमा एक महिला पक्राउ परिन् । काठमाडौं महानगरपालिका–२० बस्दै आएकी ४० वर्षीया सरस्वती खड्का उक्त अभियोगमा समातिएकी हुन् । उनले अर्कैको नागरिकता पेश गरेर बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसी खाता खोल्नुका साथै चेक दुरुपयोग गरेकी हु्न् ।अरुको नागरिकता दुरुपयोग गरेकै अभियोगमा गत फागुन अन्तिमतिर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४, घर भएका २३ वर्षीय सिद्धार्थ चौधरी, महागढीमाई नगरपालिका–५ की २५ वर्षीया सोनमकुमारी चौधरी र पर्साको वीरगञ्ज महानगरपालिका–१५ घर भएका २६ वर्षीय राहुल रै दास पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरु सामाजिक सञ्जालमा ‘वैदेशिक रोजगारीमा अवसर’ भन्दै विज्ञापन गर्थे । सम्पर्कमा आएका व्यक्तिसँग नागरिकता, राहदानीलगायत कागजातसहित रकम लिएर सम्पर्कविहीन हुन्थे । यसरी पीडितहरुकै कागजात दुरुपयोग गरेर उनीहरुले बैंक खाता खोल्दै ८२ लाख बढीको आर्थिक कारोबार गरेको पाइएको हो ।
अरुको नागरिकता दुरुपयोग गरेर बैंक खाता खोल्ने क्रम बढ्दै गएका उल्लिखित घटना केही प्रतिनिधिमूलक मात्रै हुन् । पछिल्ला केही समययता अर्काको नागरिकता दुरुपयोग गरेर बैंक खाता खोल्नुका साथै गैरकानूनी रुपमा आयआर्जन गरिएका रकम त्यस्ता खाताबाट कारोबार गर्ने गरेको संख्या ठूलै छ ।
भेटिएका, चोरिएका वा नक्कली नागरिकता र कागजातका आधारमा सिमकार्ड लिने, बैंक खाता खोल्ने र ठगी गर्ने कार्य ह्वात्तै बढेको प्रहरी अधिकृतहरु पनि स्वीकार्छन् । अपराधमा संलग्न व्यक्तिहरुले आफु बच्नका लागि अरुकै नागरिकता प्रयोग गरी बैंक खाता खोने र उक्त खातामा ठगीको रकम ट्रान्सफर गरी विभिन्न माध्यमबाट निकाल्ने गरेको पाइएको छ ।
यसले प्रहरीलाई अपराधीसम्म पुग्न मात्र सास्ती भएको छैन, निर्दोष व्यक्तिहरु समेत अनलाइन ठगी तथा बैंकिङ्ग कसुरको भागीदार हुन पुगिरहेका छन् । अर्कोतर्फ, यसमा बैंकहरुको पनि ठूलै कमजोरी देखिन्छ । सम्बन्धित व्यक्तिको नागरिकता जाँचबुझ नगरी खाता खोलिदिँदा र खातामा हुने कारोबारप्रति निगरानी नराख्दा अपराधीहरुलाई सहज हुने गरेको छ ।
नागरिकता दुरुपयोग अभियोग : पाँच वर्षमा पौने चार सय पक्राउ
नागरिकताको दुरुपयोग बढ्दै गएको प्रहरीकै तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीको पछिल्लो पाँच वर्ष (२०७६–०७७ देखि ०८०–०८१) को तथ्याङ्कअनुसार नागरिकतासम्बन्धी कसुरमा तीन सय ७३ जना पक्राउ परेका छन् । त्यस्तै, ६ सय ६१ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
गत वर्ष नागरिकतासम्बन्धी कसुरमा ७७ जना प्रहरी हिरासतमा पुगे । सोही अवधिमा एक सय ९७ वटा मुद्दा दर्ता भएको हो । २०७९–०८० मा एक सय १३ जना उक्त अभियोगमा समातिदाँ एक सय ३० वटा मुद्दा दायर गरियो । यसैगरी, ०७८–०७९ मा ६५ जना, ०७७–०७८ मा ४८ जना र ०७६–०७७ मा ७० जना नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।
बैंक जिम्मेवार नहुँदा अनलाइन ठगी बढ्योः प्रहरी
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्य बैंकहरुको लापरबाहीका कारण अनलाइन ठगी गरेको बताउँछन् । बैंकहरुले कागजात भेरिफाई वा रुजु नै नगरी खाता खोलिदिँदा अनलाइन ठगी बढ्नुका साथै अपराधीसम्म पुग्न निकै सास्ती हुने गरेको उनी बताउँछन् ।
एसपी आचार्यले भने, ‘अहिले अनलाइन ठगी बढ्नुमा बैंकहरु सबैभन्दा बढी दोषी छन् । त्यो पनि विशेष गरी नाम नचलेका बैंक । एकातिर केवाइसी फाराम रुजु नगरी खाता खोलिदिने अर्कोतिर एकै दिन पटकपटक कारोबार भएपनि वास्ता नगरिदिँदा अपराधमा संलग्नलाई प्रोत्साहन मिलेको भएको छ ।’
उनका अनुसार ठगीमा संलग्न व्यक्तिहरुले एकै दिन पटक–पटक खातामा पैसा जम्मा गर्ने र निकालिहाल्ने गर्दछन् । पीडितलाई जम्मा गर्न लगाएको केही सेकेण्डमै उनीहरुले रकम निकाल्छन् । यसरी एकै खातामा दैनिक बारम्बार पैसा जम्मा हुने र झिक्ने भइरहँदा पनि बैंकहरुले निगरानी गरेको नपाइएको उनले बताए ।
‘एउटै खातामा दैनिक पटकपटक कारोबार भएपछि बैंकले पनि निगरानी गर्नुपर्ने हो । तर, बैंकले न निगरानी गर्छ । न हामीलाई जानकारी गराउँछ,’ सूचना अधिकारी आचार्यले भने । यस्ता कार्यमा बैंकका कर्मचारीको पनि संलग्नता अनुसन्धानको क्रममा भेटिने गरेको उनको दाबी छ ।
‘बैंकका कर्मचारीको मिलेमतोमा पनि यसरी खाता खोलिने गरेको पाइएको छ । हामीले त्यस्ता कर्मचारीमाथि अनुसन्धान गरी मुद्दा समेत चलाउँदै आएका छौं,’ उनले थपे । एसपी आचार्यले बैंक खाता खोल्नमा कडाई गर्न राष्ट्र बैंकलाई पनि अनुरोध गर्दै आएको जनाए ।
के भन्छ राष्ट्र बैंक ?
नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल नागरिकता नम्बर र त्यसमा प्रयोग भएको फोटो सम्बन्धित व्यक्तिको हो वा होइन भनी यकिन गरेर मात्रै बैंक खाता खोलिने गरेको दाबी गर्छन् । बैंकले सम्पूर्ण कागजात भेरिफाई गरेर मात्र खाता खोल्ने गरेको ठोकुवा गर्दै उनले भने, ‘नागरिकतामा केही शंका लागेमा राष्ट्रिय परिचयपत्र भेरिफाई गरेर मात्र खाता खोलिन्छ ।’ तर, रामुको दाबीलाई घटनाक्रमको विवरणले कुनैपनि कोणबाट पुष्टि गरेको पाईंदैन ।
खाता खोल्दा संवेदनशीलसँगै कागजात अनिवार्य रुपमा रुजु गर्न बैंकहरुलाई निर्देशन पनि दिदैँ आएको उनले जनाए । उनले खातामा हुने दैनिक कारोबार सम्बन्धमा निगरानी गर्ने व्यवस्था भने बैंकअनुसार फरकफरक हुने जानकारी दिए ।
टिप्पणीहरू