पीडितको नाममा ठगीधन्दा जारी

पीडितको नाममा ठगीधन्दा जारी
सुन्नुहोस्

पछिल्लो समय ठगीका लागि नयाँ–नयाँ जुक्ति निकाल्न थालिएको छ । काम गर्नभन्दा ठग्न सहज मान्नेहरु समाजमा बढ्दै गएका छन् । कोही मिर्गौला पीडितको नाममा असुलीधन्दा चलाइरहेका छन्, कोही आफैंलाई नक्कली रोगी बनाएर पैसा उठाइरहेका छन् । झुठो परिचयपत्र देखाएर पैसा असुलीरहँदा नियामक निकायले अनुगमन र कारबाहीमा चासो नदेखाएको व्यापक जनगुनासो आइरहेको छ ।

काठमाडौं उपत्यकाभित्र चन्दा उठाउनेहरुको बिगबिगी देखिन्छ । विभिन्न बहानामा पैसा माग्नेहरु पाइलैपिच्छे भेटिन्छन् । मानवताको फाइदा उठाउँदै ठगहरुले आफ्नो ठगीको खेती चलाइरहेका छन् । अधिकांशले यसलाई आफ्नो पेशा नै बनाएका छन् । यता, उनीहरुले स्थानीय पालिकाले दिएको भन्दै देखाउने प्रमाणपत्र पनि नक्कली हुने खुलेको छ । नक्कली प्रमाणपत्र देखाएर चन्दा संकलन गरेकोमा दुई जना केही दिनअघि प्रहरीको फन्दामा परेका छन् । 

उनीहरुले आफूहरु जन्मजात नै बोल्न र सुन्न नसक्ने भन्दै पैसा उठाउँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय, खोटाङले उनीहरुलाई पैसा उठाइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–५ का १९ वर्षीय अजयराम चमार र जितेन्दर राम चमारले आफ्नो नाम परिवर्तन गरी ऐसेलुखर्क गाउँपालिकाको विभिन्न स्थानमा पैसा माग्दै आएका थिए । 

गोरखाको शहिद लखन गाउँपालिकाबाट कान नसुन्ने र बोल्न नसक्ने नक्कली परिचयपत्र बनाएर पैसा उठाउँदै हिँडेका उनीहरुले आफ्नो नाम परिवर्तन गरेर सन्तोषकुमार शर्मा र दिपेन्द्रकुमार शर्मा राखेका थिए । शंका लागेपछि नियन्त्रणमा लिइएका उनीहरु दुवै बोल्न र सुन्न सक्ने रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, उनीहरुले बोकेर हिँडेको परिचयपत्र पनि नक्कली रहेको पुष्टि भएको छ । 

यता, मिर्गौला पीडितको नाममा ठगी गर्दै हिँडेको एक समूहलाई प्रहरीले केही समयअगाडि नियन्त्रणमा लिएको थियो । मिर्गौला पीडितको उपचारमा समस्या भएको भन्दै विभिन्न ठाउँमा चन्दा उठाएर ठगेका तीन जनालाई समातिएको हो । उनीहरुले युनिक स्वयंसेवक नेपालको नाममा संस्था दर्ता गरी पैसा उठाउँदै आएका थिए । 

घर–घरमा गएर पैसा उठाउनका लागि १० वटा टेम्पो भाडामा लिएका थिए । समूह बनाएर चन्दा उठाउन जाने उनीहरुले रसिद पनि दिन्थे । पक्राउ परेपछि मिर्गौला पीडितको नाममा पैसा उठाएर बाँड्ने गरेको खुलेको हो । मिर्गौला पीडितको नाममा चन्दा संकलन गर्नेहरु छ्याप्छ्याप्ती भेटिन्छन् । उनीहरु स्पीकर बजाउँदै घर–घरमा पैसा माग्न आउँछन् । टोली नै बनाएर हिँड्ने उनीहरुले बाटो छेकेर पैदलयात्रीलाई दुःख दिने गरेका छन् । 

पछिल्लो समय स्कुटरमा पनि त्यसरी चन्दा माग्न आउन थालेका छन् । पछाडि बसेकाले स्पीकर बजाएर, माइकमा बोल्दै चन्दा माग्छन् । चन्दा माग्ने प्रायः भर्खरका युवायुवती हुन्छन् । आफ्नो घरको सदस्यलाई गम्भीर रोग लागेको, उपचारका लागि आर्थिक अभाव भएको बताउने तिनीहरुमध्ये कतिपयले रसिदसमेत काटेर दिने गरेका छन् । 

ती वास्तविक पीडित हुन् या नक्कली ? दयाभावले सहयोग गर्नेलाई के थाहा । भावुकता र मानवीय नाताले सहयोग गर्छन् । तर, धेरैको लागि यो राम्रो आम्दानीको माध्यम बनिरहेको छ । दिनभर काम गर्दा पाउने ज्यालाभन्दा माग्दा धेरै रकम उठ्ने भएकाले काठमाडौंमा उपचारको नाममा चन्दा उठाउनेहरुको संख्या बढेको जानकारहरु बताउँछन् । 

पीडितहरुको नाममा व्यापार भइरहेको उनीहरुको भनाइ छ । सर्वसाधारण सबिना रोक्का स्थानीय सरकारले कडाइ नगर्दा पीडितको नाममा ठग्नेहरुको संख्या बढेको बताउँछिन् । पीडितको नाममा चन्दा संकलन गर्नेले हैरान पारेको सबिनाको जिकिर छ । 

भन्छिन्, ‘चन्दा संकलन गर्नेदेखि म वाक्क भएकी छु । केही समययता त दिनदिनै घरमा आइरहेका हुन्छन् । अटो र स्कुटर लिएर घरघरमा माग्दै आउँछन् । हात जोड्छन्, कस्तो अप्ठेरो । पीडितको नाम बेचेर ठगहरुले कमाइरहेका छन् । स्थानीय सरकारले कडाइ गरे यस्तो ठगी कार्यमा रोक लाग्ने थियो’,उनले भनिन् । 

त्यसैगरी सर्वसाधारण महेश नेपालीले सरकारले वास्तविक र नक्कली पीडित पहिचान गर्नुपर्नेमा जोड दिए । वास्तविक पीडितलाई सरकार स्वयमंले उपचारको व्यवस्थापन मिलाउनुपर्ने उनले बताए । भन्छन्,‘उपचारका लागि चन्दा संकलन गर्नुपर्ने भन्दा लाजमर्दो कुरा सरकारका लागि के होला ? संविधानले नै गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्यको सुनिश्चितता गरेको छ । तर, बिरामीहरु उपचारका लागि बाटोमा माग्दै हिँड्नुपर्ने बाध्यता छ । ठग मानसिकता भएकाहरुले त्यसको फाइदा उठाए । सरकारले वास्तविक पीडित पहिचान गर्नुपर्यो । उनीहरुलाई निःशुल्क उपचारको व्यवस्थापन मिलाउनुपर्यो । त्यसपछि त यो न्यूनीकरण भइहाल्छ ।’

सार्वजनिक यातायातमा ‘आतंक’

चन्दा संकलनका नाममा काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातमा ठगीधन्दा मौलाएको छ । कहिलकाँही फर्जी कागजात देखाएर पैसा उठाउनेको लाम लाग्छ । हरेक बस स्टपमा पैसा माग्दै गाडी चढ्छन् । कोही आफ्नो घर जलेको कागज देखाउँछन् त कोही टुहुरो भएको । कोही जन्मजात नै रोगी भएर काम गर्न नसकेको कागज बाँड्छन् । 

कतिपयचाँहि आफूले बिरामीलाई सहयोग गर्नका लागि पैसा उठाएको बताउँछन् । केही दिनअघिको कुरा हो, भर्खर १८–२० वर्षको देखिने एक जना युवक बसमा चढे । राम्रै कपडा लगाएका उनले एउटा परिचयपत्र देखाए । एउटी बालिका बिरामी रहेको र उपचारको लागि सहयोग माग्दै हिँडेको बताउने उनले ती नानीको परिवारको नम्बर माग्दा दिन सकेनन् । बरु हत्तपत्त गाडीबाट ओर्लिए । 

सार्वजनिक यातायातमा पैसा माग्नेहरुले यात्रुलाई आतंक मच्चाएका घटना धेरै छन् । उनीहरु पाँच वा १० रुपैयाँ लिन मान्दैनन् । नदिए गाली गर्न थाल्छन् । सार्वजनिक यातायातमा पैसा माग्नेहरु यात्रुका लागि टाउको दुखाईको विषय बनेका छन् । जानकारहरुका अनुसार उनीहरुले संगठित रुपमै त्यसरी पैसा उठाउने गरेका छन् । ठगहरुका कारण वास्तविक पीडितहरु मर्कामा परेका छन् । 

चन्दा ऐन, २०३० को दफा ३ ले धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यको लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिनदिन बाहेक कुनै व्यक्ति, सरकारी वा गैरसरकारी संस्थाले चन्दा उठाउन नपाउने व्यवस्था गरेको छ । चन्दा उठाउन स्वीकृति लिनुपर्ने ऐनमा उल्लेख छ । रकम कसरी उठाउने र कहाँ खर्च गर्ने भनि विस्तृत विवरण खोली नेपाल सरकार वा प्रदेश सरकारमा पेश गरी स्वीकृति प्राप्त गरेपछि मात्र चन्दा उठाउन पाइन्छ । 

कसैलाई करकाप गरी चन्दा उठाउनु अपराध हो । त्यसो गरेमा दुई वर्षसम्म कैद वा दुई हजार रुपयाँसम्म जरिवाना वा दुवै सजाय गरिने कानुनी व्यवस्था हो । उक्त ऐनको दफा १३ मा भनिएको छ,‘यस ऐनअन्तर्गत बनेको नियमहरुको बर्खिलाप हुने गरी वा करकाप गरी चन्दा उठाउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र त्यसरी उठाइएको चन्दाको रकमसमेत निजबाट सरकारी बाँकीसरह असुलउपर गरिन्छ ।’

के भन्छ प्रहरी ? 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) दानबहादुर कार्की चन्दा उठाउन रोक लगाउन नसक्ने बताए । कसैले जबरजस्ती गरेमा कारबाही हुने उनको भनाई छ । त्यसका लागि सम्बन्धित व्यक्तिले प्रहरीमा जानकारी गराइदिनुपर्ने उनले बताए ।

‘यो मानवतासँग जोडिएको विषय पनि हुन्छ । ऊ वास्तविक पीडित हो कि होइन ? कसरी थाहा हुन्छ ? करकाप गर्यो भनेचाँहि हामीले कारबाही गर्छौं । त्यसका लागि प्रहरीमा जानकारी गराइदिनुपर्छ’,उनले भने ।

टिप्पणीहरू