स्वेच्छिक मरणका विभिन्न श्रृंखला

स्वेच्छिक मरणका विभिन्न श्रृंखला
सुन्नुहोस्

सन् १९९९ तिर हुनुपर्छ एक दिन बेलायती नर्सिङ होमको किचेनमा काम गरेको थिएँ । यहाँ उमेर पुगेका वा अशक्त व्यक्तिलाई राखिने स्थानलाई केयर वा नर्सिङ होम भन्ने गरिन्छ । घरमा एक्लो हुने भएकाले आफूलाई आवश्यक काम आफँैले गर्न नसकिने, परिवारका सदस्यको पनि व्यस्तता हुने भएकाले नर्सिङ होममा राख्न सजिलो हुन्छ ।

नर्सिङ होममा प्रत्येकको स्वास्थ्य अवस्थाको कारण एकै खालको खाना तयार गर्न सकिँदैन । त्यहाँ एक जना बिरामी यस्तो पनि देखँे जसले गर्दा जीवन देखेरै विरक्त लाग्न थाल्यो । हलचल, बोलचाल केही नगर्ने– खाली खाटमा सुताएर राख्ने । दिसापिसाब पनि पाइपबाटै गराउनुपर्ने । कति दिन बाँच्ने होला भनेर अन्दाज लगाउँदै थिएँ, ६–७ वर्षदेखि यस्तै अवस्थामा रहेको चाल पाएँ । यसरी सकससमेत महसुस हुन नसक्ने अवस्थामा बचाएर राख्नुको के अर्थ ? बरु मृत्युवरण गर्दा आनन्द होला नि भनेर सेफसँग छोटो कुराकानी गरेँ । उनले त्यसोभए हामीले जागिर कसरी पाउने त ? भनेर मजाक गरे । 

गम्भीर रुपमा अशक्तलाई कानुनी रुपमा सहज मृत्युवरण गर्न दिने कानुन सन् १९४२ देखि नै स्विट्जरल्याण्डले लागू गरेको थियो । जसले गर्दा स्विट्जरल्याण्ड पुगेर अन्तिम सास फेर्नेहरूको संख्या बढ्दो छ । यहाँ वार्षिक करिब १३०० जनाले स्वेच्छिक मृत्युवरण गर्दछन् । गम्भीर प्रकृतिको रोग लागेर आत्महत्या गर्न चाहने व्यक्तिले निर्णय लिन सक्षम हुनुपर्ने र सहायतामा संलग्न व्यक्तिले कुनै स्वार्थी उद्देश्य राख्न नपाइने शर्त पूरा भयो भने त्यहाँ देह त्याग गर्न छुट छ । प्रत्येक वर्ष लगभग २००–३०० विदेशीले त्यहाँ डिग्निटाज र एक्जिट नामक संस्थामार्फत आत्महत्याको सेवा लिने गर्छन् । यसमध्ये बेलायती नागरिकको संख्या अधिक छ । 

प्रतिहप्ता कम्तीमा एक बेलायती नागरिक सहयोगीसँगै मृत्युका लागि स्विट्जरल्याण्ड जाने गरेको र यो सन् २००५ पछि छ गुणा वृद्धि भएको देखिन्छ । हाल १५ सयभन्दा बढी बेलायती नागरिक स्विस सहायता प्राप्त मृत्यु संस्थाको सदस्य छन् । त्यहाँ एकको मृत्यु खर्च करिब १२ हजार पाउण्ड लाग्छ । नेदरल्याण्ड्समा २०२२ मा लगभग ८,७००, बेल्जियममा सोही वर्ष लगभग २,७००, क्यानाडामा २०१६ देखि अहिलेसम्म ३०,००० भन्दा बढी, लक्जेमबर्गमा वार्षिक लगभग २०–३०, कोलम्बियामा लगभग २००, अष्ट्रेलियाको भिक्टोरिया राज्यमा वार्षिक करिब २००, न्युजिल्याण्डमा पहिलो वर्ष २०० भन्दा बढीले स्वेच्छिक मृत्युवरण गरेको तथ्यांक छ । 

विश्वमा ४० करोड नागरिक युथेनाजिया वा मृत्युलाई साथ दिने कानुन भएका देशमा बसोबास गर्छन् । स्विट्जरल्याण्डबाहेक अन्य देश नेदरल्याण्ड्स र बेल्जियम मा २००२, लक्जेमबर्गमा २००९, क्यानाडामा २०१६, अष्ट्रेलियाको भिक्टोरियामा (२०१९), अष्ट्रियामा २०२२, स्पेन २०२१, पश्चिमी अष्ट्रेलिया (२०२१), तस्मानियामा (२०२२) देखि कानुन निर्माण भएको हो । न्युजिल्याण्डमा सन् २०२० मा जनमत संग्रहबाट अनुमोदित भई २०२१ मा कानुन बनेको थियो । कोलम्बियामा युथेनाजियालाई १९९७ मा गैरकानुनी घोषणा गरियो तर सन् २०१५ मा संवैधानिक अदालतले यसलाई पूर्ण रूपमा व्यवस्थित गरेको छ । जर्मनीमा सन २०२० र इटलीमा सन २०१९ मा अदालत मार्फत सिमित रूपमा देहत्याग गर्न पाइने भयो । पोर्चुगलमा पनि सन २०२३ बाट बल्ल यो नियम शुरू भएको हो । 

संयुक्तराज्य अमेरिकामा स्वैच्छिक मृत्युलाई केही राज्यमा मात्र कानुनी मान्यता प्राप्त छ । प्रत्येक राज्यमा यसका लागि विशिष्ट नियम छन् । हाल ओरेगन, वासिंगटन, क्यालिफोर्निया, भर्मन्ट, कोलोराडो, हवाई, न्युजर्सी, मेन, न्यु मेक्सिको र वासिंगटन, डिसीमा यस्तो व्यवस्था छ । साथै, मोन्टानामा अदालतको निर्णयमार्फत यसको अनुमति पाइन्छ । यी कानुनहरू प्रायः ओरेगनको डेथ विथ डिग्निटी एक्ट (१९९७) बाट प्रेरित छन् । 

डेनमार्क, फ्रान्स, नर्वे, फिनल्याण्ड, चिली, अर्जेन्टिना, मेक्सिको, दक्षिण कोरिया, जापानलगायत केही देशमा अवैधानिक भए पनि बिरामीले आफूखुशी उपचार गराउन चाहेन भने पाउने गरी अघोषित रूपमा युथेनाजियालाई स्वीकार गरेको देखिन्छ । 

यसबारे इंग्ल्याण्ड र वेल्समा यही नोभेम्बर २९ तारिख शुक्रबारको दिन एक ऐतिहासिक निर्णय भयो । बेलायतीले तल्लो सदन लामो समयदेखि छलफलमा आएको यो विषयउपर मतदाताले पक्षमा ३३० र विपक्षमा २७५ ले मतदान गरे भने तटस्थ ३८ जना देखिए । अब केही प्रक्रियापछि यो कानुन बन्ने बलियो सम्भावना छ । यसलाई सरकार आफैंले दर्ता नगरी एक सांसदले निजी विधेयकको रुपमा प्रस्तुत गरेको हुँदा कुन पार्टी पक्ष वा विपक्षभन्दा पनि कुन सांसद कता भन्ने देखिएको छ । पार्टीले यस विषयमा ह्विप जारी गरेनन् । पक्षमा लेबरका २३४, लिबरल डेमोक््रयाटका ६१, कञ्जरभेटिभका २३, ग्रिनको ४, प्लेड ३, रिफर्म ३, स्वतन्त्र १ र एसडिएलपीका १ रहे भने विपक्षमा क्रमशः १४७, ११, ९२, लेबर, लिवडेम र टोटी थिए । १४ जना स्वतन्त्रले मतदान गर्दा उता स्कटिश नेशनल पार्टीका सबै ९ जना र सिनफेन पार्टीका सात जनाले भागै लिएनन् ।

प्रधानमन्त्री र भूपू प्रम ऋषि सुनाकले पक्षमा भोट हाले । तर, मन्त्रिमण्डलका ६ जना विपक्षमा गएनन् । जसमा उपप्रम एन्जेला रेनर, विदेशमन्त्री डेभिड लामी, कानुनमन्त्री सवाना महमुद, स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङ तथा व्यापारमन्त्री जोनाथन रेनोल्डस छन् । यो कानुन बन्यो भने इंग्ल्याण्ड र वेल्सका नागरिकहरुको हकमा मात्र तत्काल लागू हुनेछ । स्कटल्याण्डमा यस विषयमाथि सन् २०२५ मा थप छलफल गरिनेछ भने उत्तरी आयरल्याण्डको यसबारे कुनै योजना देखिँदैन । 

बेलायती कानुन ‘सुसाइड एक्ट १९६१’ अनुसार यदि कसैले कसैलाई मर्नका लागि सहयोग गरेको प्रमाणित भएमा १४ वर्षको जेल सजायँ हुन्छ । बिरामीहरुको अन्तिम अवस्थातिर निकै कष्ट हुने र कुनै उपचारले पनि जीवित नरहने भएपछि स्वेच्छाले देहत्याग गर्न पाउनुपर्छ भन्ने चर्चा पटकपटक चल्ने गरेको हो । 

अब यो विधेयक थप छलफलका लागि माथिल्लो सदन हाउस अफ लर्ड्समा प्रस्तुत गरिनेछ । पुनः हाउस अफ कमन्समा तेस्रोपटक प्रस्तुत गरिवरि बल्ल कानुनी रुप धारण गर्ने हो । माथिल्लो सदनमा धेरैजसो स्थायी सदस्य हुने र यसअगाडि समर्थन गर्नेहरुले पुनः समर्थन गर्ने देखिन्छ । तल्लो सदनमा पनि हुन्न भन्नेभन्दा हुन्छ भन्नेहरु ७५ जना बढी छन् । 

युथेनाजिया ग्र्रिक शब्द हो, जसको अर्थ हुन्छ– गुड डेथ । कसैले अन्तिम अवस्थामा भोग्न परेको पीडाबाट मुक्त पार्न जानी जानी जीवन समाप्त गर्ने यो अभ्यास विस्तारै विश्वका थप देशहरुमा बढ्न थालेको छ । उता, ईश्वरले श्रृष्टि गरेको जीवनलाई व्यक्तिको इच्छाले समाप्त गर्न हुन्न भन्ने बलियो तर्क गर्नेहरु पनि उत्तिकै छन् । 

पक्ष विपक्षमा जे–जस्तो तर्क रहे पनि विश्वमा बाँच्न नचाहेने आत्महत्या गरेकै छन् । प्रत्येक ४० सेकेण्डमा एक जनाले देहत्याग गर्ने विश्वमा रेकर्ड देखिन्छ । वार्षिक सात लाखभन्दा बढीले आफ्नो ज्यान आफैंले लिने गरेका छन् । तसर्थ गम्भीर बिरामी भएका र उमेर पुगेकालाई राज्यले नै निश्चित कानुन बनाएर आफ्नो ज्यान लिने निर्णय लिन उपयुक्त नै मान्नुपर्दछ । 
 

टिप्पणीहरू