७० लाख डुबाएका निर्माताको खातामा एक लाख
पछिल्लो तीन महिनायता देशभरका सिनेमा हलहरु दर्शकले भरिभराउ छन् । एकपछि अर्को चलचित्रले आक्रमक व्यापार गरिरहँदा बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बन्ने क्रम जारी छ ।
निर्माताहरुको दावीलाई आधार मान्ने हो भने ‘खुश्मा’ले १० करोड, ‘छक्कापञ्जा ५’ २० करोड, ‘१२गाउँ’ २३ करोड, ‘ज्वाइँसाब’ ४ करोड, ‘पूर्णबहादुरको सारङ्गी' ४७ करोड र ‘ह्रस्वदीर्घ’ ले १० करोड हारहारमा कलेक्शन गरेका छन् । यसरी एकपछि अर्को फिल्मले बक्स अफिसमा तहल्का पिट्दा संगै प्रदर्शनमा आएको एउटा चलचित्रका निर्माता भने नराम्रोसँग डुबेका छन् ।
कात्तिक ९ गते प्रर्दशन भएको चलचित्र ‘सानो संसार’ सुपरफ्लप भएको हो । ७० लाख लगानी रहेको चलचित्रले जम्मा तीन लाख कलेक्शन गरेको निर्माता माधव वाग्लेले बताए ।
एक मिडियासँगको कुराकानीमा उनले फिल्मबाट आफ्नो खातामा एक लाख जम्मा भएको दु:खेसो गरे । ‘हाम्रो ७० लाख लगानी हो । तीन लाख जतिको व्यापार गर्यो, एक लाख खातामा आएको छ', उनले भनेका छन्, 'लसमा जाँदा टेन्सन त भैहाल्छ, तर याे लाइनमा यस्तै हाे ।’
सोसल ड्रामा जनरामा बनेको यस चलचित्रले प्रदर्शनकै दिन नराम्रो संयोगको सामना गर्नुपरेको थियो । असोज ११ गतेबाट प्रदर्शन गर्ने भनिए पनि सोही दिन देशभर बाढी पहिरो गएपछि अन्तिम समयमा प्रदर्शन रोकियो । त्यसपछि कात्तिक ९ गतेबाट पुनःप्रदर्शनमा आएको चलचित्र हलमा टिक्नै सकेन ।
टिप्पणीहरू