मनमोहनको ‘मिसन २०८५’

मनमोहनको ‘मिसन २०८५’
सुन्नुहोस्

मुलुककै पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ ले मिसन २०८५ तय गरेको छ । विश्वविद्यालयको कार्यसम्पादनलाई तीव्र बनाउन मिसन २०८५ अन्तर्गत १८ कार्यभार उल्लेख गरिएको छ । 

उपकुलपति (भीसी) सुवासश्री पोखरेलका अनुसार १८ बुँदे कार्यभारमा विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । कोशी प्रदेश सरकारले २०७४ सालमा स्थापना गरेको उक्त विश्वविद्यालयले २०७६ बाट इन्जिनियरिङ तर्फको सिभिल र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स विषयको स्नातक तहको पठनपाठन शुरु गरेको हो । हाल औषधि विज्ञान, कानुन र अस्पताल व्यवस्थापनमा स्नातकोत्तर तहको अध्यापन थालिएको छ । 

सीमित बजेट र स्रोत साधनका बाबजुद विश्वविद्यालयले गरेको प्रगति सन्तोषजनक भएको भीसी पोखरेल बताउँछन् । तर, त्यतिले मात्र नपुग्ने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन आगामी पाँच वर्षको रणनीति तयार पारिएको बताए । 

विश्वविद्यालयले स्थापनाकालदेखि नै १० वर्षभित्र अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने, डिप्लोमादेखि पिएचडीसम्मको अध्यापन सञ्चालन गर्ने लक्ष्य लिएको छ । उनी भन्छन्,‘मिसन सफल भयो भने विश्वविद्यालयले नयाँ उचाइ प्राप्त गर्नेछ । सबै विषयमा पठनपाठन हुन थालेपछि मनमोहनमा स्वदेशी र विदेशी गरी दुई हजार पाँच सय विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।’

परिषद् बैठकले पारित गरेपछि मिसन कार्यान्वयनमा जाने छ । स्थापनाको पहिलो चार वर्षमा मनमोहनले १९ निर्देशिका, सात विषयमा स्नातक र दुई विषयमा मास्टर्स तहको पठनपाठन सञ्चालन गरिसकेको छ ।

के–के हुन् कार्यभार ? 

मिसन २०८५ का लागि मनमोहनले थप १८ वटा पाठ्यक्रम तर्जुमा गर्नुपर्छ । पाँच विषयमा पिएचडी, १० विषयमा मास्टर्स, १२ वटा स्नातक तहका कक्षा सञ्चालन गर्नुपर्नेछ । विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउन १८ वटा ल्याबको निर्माण गर्नुपर्छ । जसमा पानी, जडीबुटी, एनिमल टेष्टिङदेखि फरेन्सिक, प्याथोलोजी, जेनेटिक्स, नेचुरोपेथी, वायोमेडिकल, हाईभोल्टेज कन्ट्रोल, सुपर कम्प्युटर, हेमाटोलोजी, फिजियोथेरापी, इक्योलोजीलगायत छन् । 

विश्वविद्यालयले २०८५ सम्म विश्वभरका १८ वटा विश्वविद्यालयसँग एमओयु गर्ने योजना बनाएको छ । दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न मुलुकबाट एउटा विषयमा एक जना विदेशी विज्ञ शिक्षक ल्याइनेछ । यसबाहेक विश्वविद्यालयले आफ्नै तारामण्डल र साइन्स म्युजियमसहितको विज्ञानपार्क निर्माण गर्ने योजना बनाएको छ । मेडिकलतर्फको प्राविधिक विषय अध्यापन गराउनका लागि आफ्नै शिक्षण अस्पताल निर्माण गर्ने, अनुसन्धान केन्द्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउने, परिसरभित्र स्विमिङ पुल बनाउने, मेडिसिनल गार्डेन निर्माण गर्ने, फिजिकल फिटनेस सेन्टरको स्थापना गर्ने विश्वविद्यालयले जनाएको छ । 

यसबाहेक एक हजार जना सहभागी हुने अडोटोरियम हल, पाँच हजार क्षमताको स्टेडियम, अलग्गै टिचिङ ब्लकदेखि आफ्नै ग्रोसरी कम्प्लेक्स बनाउने विश्वविद्यालयको योजना छ । यसैगरी, विश्वविद्यालय क्षेत्रलाई मनमोहन स्मार्ट सिटीका रुपमा विकास गर्ने, आफ्नै मनमोहन कानुन ब्लक बनाउने, एनिमल हाउस तयार गर्ने, इलेक्ट्रिक टेष्टिङ सेन्टर स्थापना गर्नेदेखि अन्तरिक्षका लागि आफ्नै चन्द्रयान बनाउने महत्वाकांक्षी लक्ष्य पनि लिइएको छ । ‘म आफैं अन्तरिक्ष विषयमा रिसर्च फेलो हुँ, यसैले अन्तरिक्ष प्लानेटमा आफ्नै यान पठाउने कुरा असम्भव हैन, बजेटको मात्र हामीलाई खाँचो छ’,भीसी पोखरेलले भने । सो मिसनका लागि २० अर्ब रुपैयाँ चाहिन्छ । कोशी प्रदेश सरकार, संघीय सरकार, अनुदान आयोगदेखि विभिन्न नियोगहरुसँग सहयोग सम्झौता गर्ने मनमोहनको नीति छ । 

बजेटको कमी हुन दिन्नौं : कुलपति 

कोशी प्रदेशका मुख्यमन्त्री तथा कुलपति हिक्मतकुमार कार्की विश्वविद्यालयलाई बजेटको कमी हुन नदिने बताउँछन् । विश्वविद्यालयको सिनेट बैठकमा उपस्थित मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै उनले बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । भन्छन्,‘अन्य प्रदेशको तुलनामा हाम्रो प्रदेशको विश्वविद्यालयको प्रगति धेरै नै सन्तोषजनक छ । तर, अब यसरी हिँडेर मात्र हुँदैन, दौडिनुपर्छ । त्यसका लागि हामी बजेटको कमी हुन दिँदैनौं, यसबारे सबै सरोकारवाला मन्त्रालयका सचिवज्यूहरुले विशेष चासो दिनुहोला ।’

मनमोहनले प्रदेश सरकारबाट करिब २० करोडको हाराहारीमा बजेट पाउने निश्चित भएकोे छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विश्वविद्यालयलाई मन्त्रालयसरह बजेट दिनुपर्ने जनाएको छ । मन्त्रालयका उपसचिव फडिण्द्र खत्रीले भने,‘हामीले पहिलेदेखि नै मनमोहनलाई मन्त्रालय मातहत राखेपनि बजेटचाँहि अलग्गै एउटा मन्त्रालयसरह दिनुपर्छ । अनि मात्र विश्वविद्यालयले गति लिन सक्छ ।’

उत्कृष्ट भौतिक संरचना 

मोरङको बूढीगंगा गाउँपालिका–४, हात्तीमुढामा रहेको विश्वविद्यालय मुलुककै पहिलो प्राविधिक विश्वविद्यालय हो । विश्वविद्यालयमा इन्जिनियरिङ, मेडिसिन एण्ड एलाईड हेल्थ साईन्सेज, स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल गरी तीन वटा स्कुल छन् । करिब २१ बिगाहामा फैलिएको विश्वविद्यालयको ३० अर्ब बढीको आफ्नै भौतिक संरचना छ । यसबाहेक आफ्नै अनुसन्धान केन्द्र, आधुनिक विषयतः ल्याब, भौतिक वस्तु परीक्षण गर्ने व्यवसायिक ल्याब, आधुनिक लाइब्रेरी, वर्कशप सञ्चालनमा छ । विद्यार्थी, कर्मचारी र शिक्षकका निम्ति आवासदेखि विद्यार्थी पढ्न आधुनिक कक्षाकोठाको निर्माण गरिएको छ । आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकमा डिप्लोमा तहको इन्जिनियरिङ कार्यक्रमअन्तर्गत ५०८ विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले सीप परीक्षण गराउने र सीपमूलक छोटो तथा लामो अवधिको तालिम पनि दिने गरेको छ ।

टिप्पणीहरू