डाक्टर भर्ना एकातिर, पढाइ अर्कोतिर

डाक्टर भर्ना एकातिर, पढाइ अर्कोतिर

खाने मास्ने एउटाको, जुँगामा ताउ लाउने अर्कैको भन्ने उखानलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चरितार्थ पार्दै आएको छ । एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत आर्जव शर्माले नाम विराटनगरस्थित विराट मेडिकल कलेजमा लेखाएर अध्ययन र अभ्यास गर्ने अवसर भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाएको देखिएपछि यस्तो भन्न थालिएको हो । 

१०० जना विद्यार्थीको कोटा भएको यहाँ एमबिबिएस दोस्रो वर्षतर्फ एक सय एक जना विद्यार्थी अध्ययनरत भेटिन्छन् । सीमित कोटाभन्दा बढी विद्यार्थी सोही प्रतिष्ठानका रेक्टर सञ्जीव शर्माका छोरा हुन् । स्रोतका अनुसारको भर्ना भने डा. ज्ञानेन्द्र कार्कीले सञ्चालन गरेको विराट कलेजमा रहेको छ । जाँच उतैबाट दिने, एमबिबिएस अध्ययनबापतको शुल्क उतै तिर्ने तर पढ्ने काम भने धरानमा हुँदैछ । केही महिनाअघि सात जना सिनेटरले भिसी डा. गिरीको राजीनामा माग गरेका थिए । तिनको माग फिर्ता गराउने शर्तमा रेक्टर डा. शर्माले भिसीलाई यस्तो तारतम्यमा सहमति जनाउन बाध्य बनाएको बताइन्छ । यस प्रतिष्ठानमा बर्सेनि क्षमता र प्रतिभा भएका विद्यार्थीहरू अवसर नपाएर रुवावासी गर्दै आइरहेका छन् । 

सरकारी प्रतिष्ठानमा पढाएर जाँच भने प्राइभेटमा दिलाउनु अपराध हो कि हैन भन्ने प्रश्न उठिरहेकै छ । त्यसो त यस प्रतिष्ठानमा बिरामीको चाप उच्च भएकाले प्राक्टिकल गर्ने अवसर धेरै जुर्दछ । प्रतिष्ठानमा प्रतिदिन लगभग ३ हजारदेखि ४ हजारको हाराहारीमा बिरामीहरू स्वास्थ्य जाँच तथा उपचारको लागि आउने गरेका छन् । 

अर्कोतर्फ प्रतिष्ठानमा निर्माण गरिएको मातृ शिशु स्वास्थ्य (एमसिएचसी) र अंकोलोजी (अर्बुद रोग) भवनको उद्घाटन हुन सकेको छैन । नमिल्दो कुरा त के देखिन्छ भने यी भवनमा अक्सिजन प्लान्ट नभए पनि भेन्टिलेटर भने जडान गरिएको छ । मेडिकल उपकरण बिक्री गर्ने व्यापारीसँगको मिलोमतोमा यस्तो काम गरेको हुनुपर्छ । यी उपकरणहरूको भुक्तानी धमाधम भइरहेको छ । अहिलेका भिसी डा. गिरीको कार्यकाल चैतमा समाप्त हुँदैछ । त्यसैकारण उनी रकम भुक्तानी गर्न भटाभट अग्रसर भएको अवस्था छ । भटाभट चेक काट्ने विषयमा भिसी र रजिष्ट्रार डा. सूर्यप्रसाद संग्रौलाबीच खटपट भइरहेको देखिन्छ । 
 

टिप्पणीहरू