संविधान संशोधनपछि समस्या समाधान हुन्छ : एमाले सचिव

संविधान संशोधनपछि समस्या समाधान हुन्छ : एमाले सचिव

एमाले सचिव योगेश भट्टराईले संविधान संशोधनपछि निर्वाचन प्रणालीमा सुधार र तीन तहका सरकारबीच समन्वय बढ्ने बताएका छन् । सचिव भट्टराईले पत्रकार महासंघ, ताप्लेजुङ जिल्ला कार्यालयको भवन उद्घाटनको क्रममा उहाँले उक्त धारणा राखेका हुन् ।

सञ्चार स्मारिका विमोचन तथा निर्वाचित पत्रकारहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रतिनिधिसभा सदस्य तथा पूर्व पर्यटनमन्त्री भट्टराईले वर्तमान सरकारले देशलाई ठूलो राजनीतिक दुर्घटना हुनबाट बचाएको उल्लेख गरे । उनले भने, ‘अब हिउँदे अधिवेशनबाट १९ वटा विभिन्न विधेयक पारित हुने क्रममा छन् । बाझिएका कानुनहरुमा छलफल गरेर एकरुपता ल्याइने छ । संविधान संशोधन गरेर निर्वाचन प्रणाली, तीन तहका सरकारका कार्यक्षेत्रका विषयमा टुङ्गोमा पुगिन्छ ।’

विदेशी मुद्राको सञ्चिति पर्याप्त रहेकाले आगामी दिनमा विकासले गति लिने सचिव भट्टराईको दावी छ । विकास निर्माणमा कसैले पनि बाधा गर्न नहुने बरु उत्पन्न समस्या छलफलबाट समाधान गर्नुपर्ने उनको सुझाव छ । 

प्रतिनिधि सभा सदस्यहरु लीलादेवी बोखिम, उर्मिला थेवे, नगर प्रमुख अमिर मादेन, अठराइत्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमूलगायतले पनि जिल्लाको विकासमा सबै एक हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित जिल्ला अध्यक्ष सुवास आचार्य नेतृत्वको कार्यसमितिलाई पदभार हस्तानान्तरण गरिएको थियो ।

टिप्पणीहरू