भारत छिरेका सवारी साधनबारे ट्राफिक प्रहरी बेखबर
ट्राफिक प्रहरीको आखाँ छल्दै नेपालबाट भारततर्फ अवैध रुपमा मानिस ओसारपसार गर्ने सवारी साधन निर्वाध रुपमा सञ्चालन भइरहेको छ । यो हप्ता अर्घाखाँचीबाट गुडेको ना.५ ख ९१२३ नम्बरको बस यात्रुहरु बोकेर भारततर्फ गयो । अगाडिको भागमा ‘आमा तिम्रो काख नै प्यारो’ लेखिएको उक्त बस रुपौडिया नाकाबाट भारत छिर्यो कि, कोइलाबास, कृष्णनगर, कालीदह वा बेलहिया कुन नाकाबाट भारत गयो ट्राफिक प्रहरी हालसम्म अनभिज्ञ रहेको बताइन्छ ।
लुम्बिनी प्रदेशमा ट्राफिक प्रहरी खटन पटन गर्ने नेपाल रागमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी श्याम खत्रीले पनि उक्त अनभिज्ञताबारे पुष्टि गरे । शनिबार उक्त कार्यालयको नियमित पत्रकार सम्मेलनमा खत्रीले बस भारत गएको तर कुन नाकाबाट गयो भन्ने थाहा नभएको बताएका हुन् ।
लुम्बिनी प्रदेशका एकजना एसपी, एकजना डिएसपी, सातजना प्रहरी निरीक्षक सहित ५६२ जना ट्राफिक प्रहरी ड्युटीमा खटिएका छन् । तर यी सबै ट्राफिक प्रहरीको आँखा छल्दै अर्घाखाँचीबाट हिँडेको बस भारत त गयो तर कुन नाकाबाट कतिबेला गयो अझै यकिन भएको छैन । यो घटनाले लुम्बिनी प्रदेशमा ट्राफिक प्रहरीको तदारुकता, चुस्तता र क्रियाशिलता तथा अपडेट कत्तिको भरपर्दो छ भनि पुष्टि गर्दछ ।
एउटा पहाडी जिल्लाबाट हिँडेको बस तराईको जिल्ला त्यसमा दर्जन बढी सुरक्षा घेरा पार गर्दे भारत जाँदासम्म प्रहरी बेखबर हुनु लज्जास्पद देखिन्छ । ९१२३ नम्बरको बस झैँ नेपालबाट दैनिक रुपमा दर्जनौं संख्यामा बसहरु, उत्तिकै संख्यामा साना सवारी साधनहरु नेपाल भारत गरिरहन्छन् तर प्रहरीसँग त्यसको कुनै लेखाजोखा छैन ।
अर्कोतिर केही दिन अगाडि दुम्कीबासमा पुल भाँचिनेगरि ओभरलोड समान लिएर कृष्णनगर भन्सारको बाटो हुँदै नेपाल छिरेको भारतीय नम्बर प्लेटको लरी पनि ट्राफिकले रोक्न सकेन । शिवम् सिमेन्टको यान्त्रिक समान बोकेको उक्त लरी दुई हजार जरिवाना तिरेर हिँड्यो । नेरु दुई हजारको रसिद काटेर भारु दुई हजार बुझेका ड्युटिवाला ट्राफिक भने कारबाहीको शिकार हुने भएका छन् ।
ट्राफिक प्रहरीले हरेक नाकामा ओभरलोड भारतीय गाडीलाई दुई हजारको जरिवाना काट्ने गर्दछ । पहिले यो दर एक हजार थियो । अहिले दुई हजार बनाइएको छ । दुई हजारको जरिवाना काट्दा भारु लिने गरिन्छ । जसमा रसिद काट्ने टिमलाई एक रसिदबाट १२ सय नेपाली रुपैयाँ अतिरिक्त कमाई हुने गर्दछ । यसरी जरिवाना काट्ने ध्याउन्नमा ट्राफिक प्रहरी केन्द्रित देखिन्छ ।
यसरी जरिवाना काट्दासमेत भने लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नवलपरासी पश्चिम र कपिलवस्तुमा भने झनै विजोग तथ्याङ्क देखिएको छ । यी जिल्लाको गत आव र चालु आवको मंसिर महिनाको तथ्याङ्क केलाउँदा मात्रै पनि राजश्व संकलन घटेको देखिएको छ । जबकी यतिबेला बुटवलदेखि सुनवल खन्डको बाटो निर्माण भइरहेको छ । जसको कारण पूर्व पश्चिम राजमार्गमा गुड्ने सवारी साधन यतिबेला चन्द्रौटाबाट बहादुरगन्ज तौलिहवा लुम्बिनी भैरहवा परासी हुँदै भूमही निस्कने गर्दछन् । सवारी साधनको चाप बढेपछि ट्राफिक सक्रियता बढ्नुपर्नेमा त्यसो देखिएको छैन । कपिलवस्तु र नवल परासी पश्चिममा खटिएको ट्रापिक प्रहरीको टिम यतिबेला कमाउ धन्दामा केन्द्रित हुदा राजस्व ह्वात्तै घटेको हो ।
२०८० सालको मंसिर महिनामा नवलपरासी पश्चिममा २३ लाख २७ हजार राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको मंसिर महिनामा जम्मा ११ लाख छ हजार मात्रै राजस्व संकलन भएको छ । यसैगरी गत आवको मंसिर महिनामा कपिलवस्तुमा २५ लाख ८४ हजार ५ सय राजस्व संकलन भएकोमा चालु आवमा ११ लाख ८ हजार मात्रै राजस्व संकलन भएको देखिएको छ ।
यसले के पुष्टि गर्दछ भने नवलपरासी र कपिलवस्तुमा यतिबेला राजस्व संकलन भइरहेको छ तर त्यो सरकारी खातामा नगएर सम्बन्धित ट्राफिकको खातामा जम्मा भइरहेको आरोप छ । यस सम्बन्धमा छानबिन होला वा नहोला त्यो भने समयले देखाउने छ ।
टिप्पणीहरू