ऐन महरकी पत्नीले थुनाइन् रश्मिला धामीलाई
एमाले नेता ऐन महरबाट बलात्कृत भएको भनिएकी रश्मिला धामीलाई थुनामा राख्न दोस्रो पटक म्याद थप्ने तयारी भएको छ ।
महरविरुद्ध सामाजिक सञ्जालमा बोलेवापत विद्युतीय अपराधको कसुरमा सोमबार माइतीघर मण्डलाबाट समातिएकी उनलाई थप पाँच दिन हिरासतमा राख्ने तयारी भएको हो । भोलि शनिबार परेकाले आइतबार म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराइने काठमाडौँ प्रहरी परिसरकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।
उनका अनुसार फेसबुक लाइभ तथा भिडियोमा विभिन्न व्यक्तिको चरित्र हत्या गरेको भन्ने एक युवतीको जाहरीको आधारमा धामीलाई पक्राउ गरिएको हो । प्रहरीले खुलाउन नमाने पनि ती युवती आरोपित ऐन महरकी पत्नी भएको बुझिएको छ ।
‘अहिले उहाँ सिंहदरबार प्रहरी बृत्तको हिरासतमा हुनुहुन्छ’, डिएसपी चन्दले भनिन्, ‘अनुसन्धान सकिएको छैन, भोलि शनिबार भइहाल्यो,पर्सि म्याद थपको लागि अदालत लैजान्छौँ ।’
‘अहिले उहाँ सिंहदरबार प्रहरी बृत्तको हिरासतमा हुनुहुन्छ’, डिएसपी चन्दले भनिन्, ‘अनुसन्धान सकिएको छैन, भोलि शनिबार भइहाल्यो,पर्सि म्याद थपको लागि अदालत लैजान्छौँ ।’
बझाङ घर भएकी धामी यसअघि गत बैशाखमा पनि चरित्र हत्याको आरोपमा पक्राउ परेकी थिइन् । महरका भाइले मुद्दा फिर्ता लिन दबाब दिँदै उच्च अदालत पाटन परिसरमै कुटपिट गरेपछि उनले विष सेवनसमेत गरेकी थिइन् ।
धामीले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र महरले खिचेको सेल्फी शेयर गर्दै भनेकी थिइन्, ‘गुरु प्रधानमन्त्री,चेला बलात्कारी ऐन महर, अपराधी घाँटी तानी तानी,टाँसी टाँसी खिचेको फोटोले केही प्रभाव पार्छ भनेर । केपी ओली न्यायाधीश बनी फैसला गरे पनि केही हुनेवाला छैन ।’
यता, महरलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गर्दै उनले दर्ता गरेको मुद्दामा उच्च अदालतले रिट जारी गरेको छ । बुधबार न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले जाहेरी दरखास्त लिएर अनुसन्धान अघि बढाउन आदेश दिएको हाे ।
टिप्पणीहरू