सशस्त्रमा अनेकौं छुट सुविधा

सशस्त्रमा अनेकौं छुट सुविधा
सुन्नुहोस्

सशस्त्र प्रहरी बल,नेपालले धुमधामका साथ ‘२४ औं सशस्त्र प्रहरी दिवस–२०८१’ मनाएको छ । हलचोकस्थित मुख्यालयमा अस्ति बुधबार विशेष ड्रिल,सांस्कृतिक कार्यक्रमसहित सशस्त्रले आफनो स्थापना दिवस मनाएको हो । सो अवसरमा सेवारत तथा अवकाशप्राप्त कर्मचारीलाई लक्षित गरी सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले विभिन्न सहुलियतपूर्ण कार्यक्रमको घोषणा गरेका छन् । सशस्त्र कल्याणकारी कोषमार्फत कर्मचारीलाई विभिन्न छुट सुविधा प्रदान गरिने जनाइएको छ । 

आफ्नो आवासको सपना देखेका कर्मचारीलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने,सेवाबाट अवकाशप्राप्त कर्मचारीलाई सीपमूलक तालिममा जोडिन ऋण दिनेलगायत डेढ दर्जन बढी कार्यक्रम ल्याइएको छ । सेवामा पाँच वर्ष खटिएका परिचरदेखि वरिष्ठ हवल्दारले ६ लाख रुपैयाँ,जुनियर अधिकृतले सात लाख रुपैयाँ,सशस्त्र प्रहरी निरीक्षकदेखि माथिको दर्जाका अधिकृतहरुले १० लाख रुपैयाँ वार्षिक ६ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन् । मासिक किस्ताबन्दीमा उपलब्ध हुने सो ऋण पाँच वर्षमा कट्टा गरिनेछ । 

त्यसैगरी,पतिपत्नी दुवै संगठनमा कार्यरत भएर १० वर्ष पुरा गरेकालाई ‘विशेष अफर’ ल्याइएको छ । उनीहरुले घर तथा जग्गा खरिद गर्न चाहेमा ६.५ प्रतिशत ब्याजमा २० लाख रुपैयाँसम्म ऋण दिइनेछ । ‘रिटायर्ड’ हुन दुई वर्ष बाँकी रहेका र अवकाशपछि कुनै काम गर्न चाहने कर्मचारीलाई सःशुल्क सीपमूलक तालिममा सहभागी हुन ५० हजार रुपैयाँ निर्ब्याजी ऋण दिइनेछ । उनीहरु ड्यिुटीमा बाधा नपर्नेगरी त्यस्ता कार्यक्रममा सहभागी हुन सक्छन् । 

सवारी साधन खरिद गर्न चाहने कर्मचारीका लागि पनि ऋणको व्यवस्था गरिएको छ । १० वर्ष सेवावधि पुरा गरेका सिनियर र जुनियर अधिकृतले इन्धनबाट चल्ने हलुका किसिमका चार पाङ्ग्रे सवारी साधन खरिद गर्न चाहेमा ६ प्रतिशत ब्याजमै २० लाख रुपैयाँ ऋण पाउने छन् । त्यसैगरी, इलेक्ट्रिकको हकमा पाँच प्रतिशतमा ऋण उपलब्ध गराइने योजना बनाइएको छ । सो रकम १० वर्षभित्र कट्टा गरिनेछ । 

सशस्त्र प्रहरीहरुको अस्पताल ‘नेपाल एपीएफ अस्पताल’ मा उपचार सम्भव नभएका बिरामीहरुलाई अन्य अस्पतालमा लैजान तुरुन्तै दुई लाख रुपैयाँ प्रदान गरिनेछ । चार प्रतिशत ब्याजमा पाइने सो रकम चुक्ताको अवधि पाँच वर्ष तोकिएको छ । शल्यक्रिया गर्नुपर्ने कर्मचारीका निम्ति पनि ऋण सुविधाको व्यवस्था मिलाइएको छ । 

औषधी खरिदमा अभाव नहोस् भन्ने हेतुले एक लाख रुपैयाँ ऋण दिइने मुख्यालयले जनाएको छ । सो रकम ६ महिनामा उनीहरुको तलबबाट कट्टा गरिनेछ । अब उप्रान्त कर्मचारीका छोरा, अविवाहित छोरीलगायतले पनि एपीएफ अस्पतालबाट उपचार सुविधा पाउने भएका छन् । यसअघि बहालवाला र अवकाशप्राप्त कर्मचारीका आश्रित परिवारभित्र पर्ने बुवा–आमा, श्रीमान–श्रीमती र २१ वर्ष ननाघेका सन्ततिलाई ८० प्रतिशत छुट दिइँदै आइएको थियो । 

मुख्यालयका अनुसार अब २१ वर्ष नाघेका छोरा, अविवाहित छोरी, कर्मचारीको सासु–ससुरा र सौतेनी आामासमेतले एपीएफ अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउनेछन् । उपचारको क्रममा एपीएफ अस्पतालमा बितेका कर्मचारीको परिवारको शव दाहसंस्कार स्थानसम्म पुर्याउन निःशुल्क शववाहन उपलब्ध गराइने जानकारी दिइएको छ । हेरचाहका लागि कोही नभएका प्रहरी कर्मचारीलाई ‘केयर होम’ को व्यवस्था गरिनेछ । 

कर्मचारीमा बचतको बानी विकास गर्न ‘एपीएफ स्टाफ सेभिङ्ग फण्ड’ को स्थापना गरिने भएको छ । उक्त फण्डमा सहभागी हुन चाहने कर्मचारीबाट मासिक चार सय रुपैयाँ उठाउने र अवकाशपश्चात् ब्याजसहित फिर्ता गर्ने मुख्यालयको योजना छ । फण्डको नियमन नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गको बैंकले गर्नेछ । 

कानुनी र प्राविधिक परामर्शको सुविधा थपियो 

सशस्त्र प्रहरी बलले कानुनी परामर्श आवश्यक पर्ने कर्मचारीलाई लक्षित गरी ‘कानुन परामर्श सहयोग डेस्क’ को स्थापना गरेको छ । बहालवाला र अवकाशप्राप्त कर्मचारी, अमर–शहिद सशस्त्र प्रहरी कर्मचारीका परिवारले डेस्कबाट कानुनी परामर्श लिन सक्छन् । कानुनी सल्लाहको लागि मुख्यालयले एक जना कानुन अधिकृत नियुक्त गरेको छ । 

त्यसैगरी, ‘प्राविधिक परामर्श सहयोग डेस्क’ को पनि स्थापना भएको छ । मद्दती तथा सेवा निर्देशनालयबाट दुई जना सम्बन्धित विषयका प्राविधिक अधिकृतहरु राखेर डेस्क सञ्चालनमा ल्याइएको छ । आवास निर्माणको लागि नक्सा पास गर्ने, मर्मत कार्य र अन्य प्राविधिक सहयोग त्यस डेस्कबाट प्राप्त हुनेछ ।

‘एक सिपाही एक घर’ कार्यक्रमलाई थप प्रभावकारी बनाउन मुख्यालय लागिपरेको छ । सशस्त्र प्रहरी बल र ग्लोबल आईएमई बैंकबीच आवास कर्जासम्बन्धी सम्झौता पनि भइसकेको छ । घर खरिद, अपार्टमेण्ट खरिद, विद्यमान भवनको मर्मतसम्भार, सम्पत्तिमा लगानी तथा आवासीय जग्गा खरिद गर्न धितो दिष्ट्रबन्धक राखि पाँच लाखदेखि ३० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ ।

टिप्पणीहरू