समाजवादी मोर्चा किन सेलायो ?
चार वटा कम्युनिष्ट तथा वामपन्थी पार्टीहरु मिलेर समाजवादी मोर्चा गठन भएको दुई वर्ष कटिसकेको छ । मोर्चाले प्रारम्भमा गति लिएको थियो । जनतामा आशा पलाएको पनि हो तर माओवादी केन्द्र सरकारको नेतृत्वमा गएर नेकपाका महासचिव विप्लव मोर्चाको नेतृत्वमा पुगेपछि निष्क्रिय भयो । त्यसका पछाडि खास कारण छन् ।
महासचिव विप्लव सीले मोर्चालाई सक्रिय पार्न खोज्दा बैठक बस्नसम्म आलटाल गरियो । जनसरोकारका विषयमा विज्ञप्ति जारी गर्नै डराउने प्रवृत्ति देखापर्यो । समाजवादको गीत गाउने तर दलाल पुँजीवाद तथा साम्राज्यवादको चौघेराबाट बाहिर निस्कन नसक्ने प्रवृत्ति नै यसमा मुख्य समस्याको रुपमा रहेको छ ।
समाजवादी मोर्चामा वैचारिक रुपमा पश्चिमी शैली र स्वरुपको संसदवादलाई स्वीकार गर्ने माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा छन् भने संसदवाद नमान्ने नेकपा अर्कातिर छ । यो वैचारिक अन्तर नै मुख्य समस्या हो । समाजवादी व्यवस्था वा प्रणालीमा जाने औपचारिक स्वीकारोक्ति मात्रै भए पनि निकटताको कारण बनेको छ । तर, दैनिक आचरण–व्यवहार भद्दा संसदीय छ । सरकार र चुनावभन्दा बाहिर सोच्ने फुर्सद देखिँदैन । नैतिक बल गुमाउने र जनताको अपेक्षाविपरीत कामहरु भइरहेका छन् । हामी मोर्चामा छौं भन्न गर्व लाग्ने हर्कत कतै भेटिन्न । जसको कारण नेकपा पनि बिग्रन्छ कि ? संसदवादमा फस्छ कि ? जनता र देशको पक्षमा बोल्ने वास्तविक प्रतिपक्ष नै नहुने हो कि ? भनेर क्रान्तिकारी र देशभक्त शक्तिहरु चिन्तित छन् ।
माओवादीमा हल्ला धेरै गर्ने, पानी धमिलो पार्ने, व्यवस्थित छलफल गर्दै नगर्ने, उपयोग मात्र गर्ने, कागजस्तो बाठो बन्न खोज्ने प्रवृत्ति देखियो । का. ओली समाजवाद भन्नै हुन्न, विदेशीहरु रिसाउँछन् भन्छन् ।
समाजवादी मोर्चामा संसदवादी पार्टीहरु छन्, शासकीय स्वरुपमा कमजोर बहस गरे पनि राजनीतिक प्रणालीमा कुनै बहस छैन । राष्ट्रियतामाथि मडारिएको कालो बादल र शक्ति राष्ट्रहरुबीचको शक्ति संघर्षले पैदा गरेको चुनौतीको सामना गर्न गम्भीर छलफल र तत्परता देखिएको छैन । संसदीय गलगाँड कोराकोरले नागरिक निराश छन् । निराशाको पोखरीमा पश्चगमन र विदेशी शक्तिकेन्द्रको रोटी सहजै पाक्न सक्दछ । यस्तो अवस्थामा कम्युनिष्ट र देशभक्त शक्तिले स्वतन्त्र धार निर्माण नगर्ने हो भने नेपालको कम्युनिष्ट आन्दोलन पुच्छरवादको दलदलमा फस्ने खतरा छ । त्यो खतराप्रति हामी सचेत छौं ।
हामीले समाजवाद उन्मुख संविधानप्रति इमान्दार बन्न र देशलाई समाजवादी कार्यक्रममा लैजान अनुरोध गर्दै, आफ्नो विचार राख्दै आएका छौं । तर, साम्राज्यवादको आशीर्वाद लिएर सरकार टिकाउने प्रतिस्पर्धा चलिरहेको छ । गोप्य सम्झौता र सहमति राष्ट्रघात र जनघातबाहेक केही होइनन् । असल काम गुपचुप गर्नु पर्दैन । यस्तो अविश्वासले भयानक परिणाम निम्त्याउन सक्छ । एमसिसी र एसपिपी ल्याएर देशलाई युक्रेन बनाउन खोजेको चिन्ता छ । देश यस्तो परनिर्भर भइसक्यो कि स्वतन्त्र निर्णय गर्न नसक्ने अवस्था छ । पराधीनताले राष्ट्रिय सुरक्षामा खतरा पैदा भएको छ ।
हामीले माओवादी केन्द्रसँग एकताको प्रयास गरेका हौं । माओवादीमा हल्ला धेरै गर्ने, पानी धमिलो पार्ने, व्यवस्थित छलफल गर्दै नगर्ने, उपयोग मात्र गर्ने, कागजस्तो बाठो बन्न खोज्ने (चराहरुमा बाठो मानिने कागले आची खान्छ) प्रवृत्ति देखियो । हाम्रो पार्टीलाई उल्टोपाल्टो र अनैतिक प्रचार गरेर बदनाम गर्ने काम भयो । जसको प्रतिरोध गर्नुपर्यो । हामीले माओवाद मान्ने पार्टीहरुसँग पनि एकता र मोर्चाको आवश्यकताबोध गरिरहेका छौं तर त्यो पाटोमा उपलब्धि भएका छैनन् । एमालेका नेताहरु पनि समाजवादको पक्षमा आउन् भन्ने हाम्रो अपेक्षा छ । यो जनताको अपेक्षा हो तर का. ओली समाजवाद भन्नै हुन्न, विदेशीहरु रिसाउँछन् भन्छन् । यदुवंशी–क्रिडा चलिरहेकै छन् । कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने खेल जारी छन् । दलाल पुँजीवाद र उसका प्रतिनिधिहरु नेतृत्वको ‘किचेन क्याबिनेट’मा घुसेर अन्तरध्वंशको षड्यन्त्र गरिरहेका त छैनन् ?
कम्युनिष्ट एकता होस् र बलियो, जुझारु शक्ति बनोस् भन्ने जनचाहना छ तर त्यो काम भइरहेको छैन । त्यसमा हाम्रो पार्टी दोषी छैन । जनताले मूल्यांकन गरिरहेका होलान् । माओवादी केन्द्रमा पार्टी एकताप्रति गम्भीरता नदेखिनुमा रुपान्तरण हुन तयार नहुने र संसदवादबाट बाहिर निस्कने चाहना र हिम्मत हो भन्ने हाम्रो बुझाइ छ । ‘बीच जंगलमा बाटो छुट्टियो, सबै फरक त्यसैले पारेको हो’ भन्ने कवितांशको भावजस्तै माओवादी केन्द्र संसदवादबाट बाहिर आउन नसक्ने, नेकपा संसदवादलाई स्वीकार नगर्ने स्थिति समस्याको कारण बनेको छ ।
नेकपा तत्काल पार्टी एकता नगर्ने वा पार्टी एकता गर्न नसक्ने परिस्थिति बनेको निश्कर्षमा पुगेको छ । यस्तो अवस्थामा भए पार्टी एकता, नभए मोर्चा पनि नहुने गरी सोच्नु हुँदैन । मोर्चामा रहेर काम गर्दा एकताको वातावरण बन्दै जान्छ । अर्कोतिर मोर्चामा रहेर पनि धेरै काम गर्न सकिन्छ । २०४६ सालमा संयुक्त राष्ट्रिय जनआन्दोलन र वाममोर्चा दुई वटाले पञ्चायती व्यवस्था ढाल्न निर्णायक भूमिका खेलेका थिए । चिनियाँ कम्युनिष्ट पार्टी र कोमिन्ताङबीच भएको मोर्चाले च्याङ काइसेकको सत्ता ढलेको थियो । २०६२/६३ मा पनि संसदमा रहेका दलहरु र माओवादीबीच मोर्चा बनाएर ज्ञानेन्द्र शाहीको सत्ता ढलेको हो ।
मोर्चामा रहेर काम गर्दा राष्ट्रियता र जनतन्त्रको रक्षा गर्न सकिन्छ । कम्युनिष्ट आन्दोलनलाई संसदवादको पुच्छरवादबाट बचाउन पनि सकिन्छ । संयुक्तबाहेक सोच्नै नसक्ने पुच्छरवाद र सहकार्य तथा मोर्चा बनाउनै नचाहने जडसूत्रवादी एक्ले बाँदर प्रवृत्ति दुवै गलत छन् ।
टिप्पणीहरू