जलवायु संकट : उता शहर ध्वस्त, यता वनै सखाप
अमेरिकामा आगोले शहर नासिएको छ, यता वनै सखाप । अमेरिकाको क्यालिफोर्निया राज्यको सिङ्गो लसएञ्जलस शहरको केही भाग डढेलोले जलेर ध्वस्त हुँदा नेपालमा पनि आगोले उग्र लिएको छ ।
काभ्रेपलाञ्चोकको महाभारत पर्वत श्रंखृलामा फैलिएको आगो पाँच दिन बितिसक्दा समेत नियन्त्रणमा आउन सकिरहेको छैन । मंगलबार दिउँसो २ बजेबाट शुरु भएको आगोले त्यहाँको ठूलो वन क्षेत्र सखाप पारिसकेको छ । खानीखोला र बेथानचोक गाउँपालिकाको सीमानामा पर्ने थामको लेक (महाभारत) स्थित सामुदायिक वनमा सल्केको आगो निभाउन हेलिकप्टरको प्रयोग गर्दा समेत नियन्त्रणमा लिन सुरक्षा निकायलाई सकस भएको छ ।
जंगलको भीर क्षेत्रमा लागेको आगो निभाउन नेपाली सेना र नेपाल प्रहरीले निरन्तर प्रयास गरेपनि पाँच दिनसम्म नियन्त्रणमा लिन सकिएको छैन । डढेलोले वन क्षेत्र जलेको छ । यद्यपि, मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
उता, अमेरिकाको क्यालिफोर्नियामा डढेलोले एकपछि अर्को भयानक रुप लिएको छ । झण्डै तीन साता (पुस २३ गते) अघि प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट फैलिएको आगोले सिङ्गो शहरलाई लपेटेको छ । दुई दर्जन बढीको मृत्यु र अर्बौ डलरको भौतिक क्षति भइसक्दा समेत आगो नियन्त्रणमा आउन सकेको छैन । हेलिकप्टर र दमकलबाट आगो निभाउने प्रयास जारी रहेपनि सबै प्रयास विफल बनिरहेको छ ।
तीव्र हावा र सुख्खा झाडीका कारण डढेलो फैलिन मुद्दत पुगिरहेको छ । डढेलोका कारण हजारौंको संख्यामा मानिसहरु विस्थापित भएका छन् । र, यो क्रम जारी छ । उक्त आगलागी अमेरिकाको इतिहासमै सबैभन्दा विनाशकारी घटनामध्ये एक बनेको छ ।
तर, प्रकोपको पूर्वतयारी र व्यवस्थापनमा तुलनात्मक रुपमा मजबुत रहेको अमेरिका विश्वकै अति विकसित, शक्तिशाली र प्रविधियुक्त राष्ट्र भएतापनि डढेलो नियन्त्रणमा भने चुकेको यो घटनाले छर्लङ्ग देखिन्छ । यता, विनाशक डढेलोको कारणमा पनि मतभेद छ ।
यसलाई प्राकृतिक विपत्ति मात्र नभई जलवायु परिवर्तनको कठोर यथार्थको रुपमा विज्ञहरुले औंल्याएका छन् । गम्भीर विषय त के छ भने यो केबल क्यालिफोर्नियाको समस्या होइन । नेपालजस्ता जलवायु परिवर्तनको उच्च जोखिम भएका देशहरुमा भविष्यमा आइलाग्न सक्ने डढेलोको प्रकोपबारे यसले चित्रण गरेको छ ।
त्यसमाथि अति विकसित राष्ट्र अमेरिका आफैँ यो संकटलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको बेला हामीजस्तो साना स्रोत र पूर्वाधार भएको मुलुकमा यस्तो अवस्था आएमा हुने क्षतिबारे कल्पना समेत गर्न सकिँदैन । जसको पछिल्लो ज्वलन्त उदाहरण पनि हो, महाभारतमा फैलिरहेको आगो । यतिबेला महाभारतको भीरमा सल्केको आगो नियन्त्रणमा लिन समेत सकस भइरहँदा सिङ्गो शहरमा आगलागी भएमा के होला ?
यस विषयमा सरोकारवाला निकायहरुले गम्भीर भएर सोच्नुपर्ने जानकारहरु बताउँछन् । नेपालमा आगलागी वर्षेनी विनाशकारी विपद् बन्ने गरेको छ । आगलागीकै कारण हरेक वर्ष सयौंको ज्यान अनि अर्बौको धनमाल जलेर नष्ट हुने गरेको छ । आगलागी र डढेलोले वन क्षेत्र पनि मासिँदै गइरहेको छ । डढेलोले सिङ्गो वन जलेर सखाप हुँदै गएको छ ।
आगलागीको सम्भावना वा जोखिम जुनसुकै बेला रहेपनि मुलुकमा विशेष गरी फागुनदेखि वैशाखसम्मको समयमा यसको उच्च जोखिम हुने गर्छ । तर, यो वर्ष काठमाडौं उपत्यकासहित पूर्व र मध्य पहाडी जिल्लामा माघ दोस्रो सातादेखि नै गर्मी बढेकाले आगलागी र डढेलोले भयावह रुप लिनसक्ने चिन्ता बढेको छ । आगलागी विनाशकारी विपद्को रुपमा सावित भइरहँदा समेत सरोकारवाला निकायहरुले यसको निवारण, नियन्त्रण वा पूर्वतयारीका निम्ति चासो दिएको देखिँदैन ।
आगलागीबाट छ महिनामै साढे दुई दर्जनको निधन, करोडौंको क्षति
चालु आर्थिक वर्ष २०८१–०८१ को गएको छ महिनामै आगलागीबाट साढे दुई दर्जन बढीले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका अनुसार गत साउनदेखि पुस मसान्तसम्म देशभर आगलागीका एक हजार ५३४ वटा घटना भएका छन् ।
ती घटनामा ३१ जनाले ज्यान गुमाउँदा दुई सय ११ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सो अवधिमा आगलागीबाट दुई सय ७२ वटा घर जलेर नष्ट भए भने पाँच सय ६७ वटा पशु चौपायाको क्षति भएको छ ।
यस्तै, एउटा सरकारी कार्यालयमा पनि आगोले क्षति पुर्याएको छ । प्रहरीका अनुसार पुस मसान्तसम्म आगलागीबाट ६१ करोड ७४ लाख ५५ हजार पाँच सय रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । पछिल्लो एक दशकमा मुलुकभर साढे २० हजार आगलागीका घटना भएका छन् ।
जसमा झण्डै आठ सयले ज्यान गुमाएका छन् भने हजारौंको संख्यामा मानिसहरु घाइते भएको प्रहरी तथ्याङ्क छ । यस्तै, आगलागीबाट २२ अर्ब रुपैयाँभन्दा बढी धनमालको क्षति हुँदा वन क्षेत्र पनि नासिँदै गएको छ ।
जलवायु परिवर्तनका कारण जोखिम बढ्योः प्राधिकरण
जलवायु परिवर्तनका कारण तापक्रममा लगातार वृद्धि भइरहँदा आगलागी र डढेलोको जोखिम पनि उत्तिकै बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता उपसचिव डा.डिजन भट्टराई गत वर्षजस्तो यो वर्ष भीषण डढेलोको सम्भावना नरहेपनि जोखिम भने कायमै रहेको बताउँछन् ।
उनले भने, ‘गत वर्ष डढेलोले वन जंगल सखाप पार्यो । मानवीय र भौतिक क्षति पनि त्यत्तिकै भयो । अघिल्लो वर्षजस्तो भीषण डढेलोको सम्भावना यसपालि हामीले कमै देखेका छौं । तर, जलवायु परिवर्तनका कारण जोखिम भने कायमै छ ।’
उनका अनुसार मौसम र हावाको बेगले डढेलो बढ्छ कि बढ्दैन ? भन्ने कुराको निर्धारण गर्दछ । अहिले नै डढेलो पूर्वानुमान गर्न नसकिने बताउँदै प्रवक्ता भट्टराईले भने, ‘आगामी दिनहरुमा पानी कति पर्छ ? सुख्खा मौसम रहन्छ कि ? हावाको गति बढ्छ कि बढ्दैन ? जंगलमा सुख्खा पात पतिंगार कति रहन्छ ? त्यो सबै कुराले डढेलोको निर्धारण गर्दछ ।’
चर्को गर्मी भएन र हावाको गति पनि कम भएमा डढेलोले उग्र रुप नलिने उनको भनाइ छ । यद्यपि, यो वर्ष माघ दोस्रो सातादेखि नै गर्मी महशुस हुन थालिएकोले डढेलोको जोखिम बढेको छ । प्रवक्ता भट्टराईले डढेलो नियन्त्रणका निम्ति अहिलेदेखि नै काम थालिएको पनि जानकारी दिए ।
वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा कार्ययोजना बनाएर काम गरिरहेको उनको दाबी छ । ‘डढेलोको सम्भावना कमै रहेपनि जोखिम कायमै छ । त्यसैले, हामीले वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा कार्ययोजना बनाएर काम अघि बढाइसकेका छौं,’ उनले भने ।
हिउँद सुख्खा, थपियो चूनौति
नेपालमा मंसिर १५ गतेदेखि फागुल्न १५ गतेसम्मको अवधिलाई हिउँदे अवधि मानिन्छ । हिउँदमा हुने वर्षाले वायु प्रदूषणसँगै डढेलो र आगलागीका घटनामा कमी ल्याउन मद्दत पुर्याउँछ । तर, यस वर्ष पनि हिउँद सुख्खा हुँदा चूनौति थपिएको जलवायुविद् डा.धर्मराज उप्रेती बताउँछन् । गएको दुई वर्षको हिउँद पनि सुख्खा भएकाले यो वर्ष समेत पानी कम पर्दा डढेलो र आगलागीको जोखिम बढ्नसक्ने उनी बताउँछन् ।
‘मनसुनमा औसतभन्दा बढी वर्षा भयो । हिउँद सुख्खा हुने प्रक्षेपण गरिएकै हो । तर, यो तेस्रो हिउँद हो, जुन सुख्खा भएको छ । यो वर्ष औसतभन्दा ४५ देखि ५५ प्रतिशत कम वर्षा हुने प्रक्षेपण गरिएकोमा गएको दुई वर्षमा ८० प्रतिशतभन्दा कम पानी परेको थियो,’ जलवायुविद् उप्रेतीले भने, ‘यसरी लगातार तीन वटै हिउँद सुख्खा भएपछि त्यसले निम्त्याउने असर गम्भीर हुनसक्छ ।’
नेपालमा हिउँदे वर्षाको निकै महत्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य स्रोत नै हिउँदे वर्षासँगै हुने हिमपात हो । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनःभरण हुन पाउँदैन । जसको असर वर्षायाममा मूल फुट्न समय लाग्नुका साथै कतिपय स्थानमा मूल फुट्नै सक्दैन ।
अर्कोतर्फ, हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीका घटना ह्वात्तै बढ्ने र त्यसले वायु प्रदूषणलाई बढावा दिने जलवायुविद् उप्रेती बताउँछन् । उनी भन्छन्, ‘हिउँदे वर्षा कम हुँदा सुख्खा र खडेरीको अवस्था आउँछ । डढेलो र आगलागीका घटना बढ्छन् । जसले वन, जंगलमा हुने पारिस्थितिय प्रणाली बिग्रिन्छ । प्रदूषण वृद्धि हुन्छ । उत्पादनमा पनि ह्रास ल्याउँछ ।’
हिउँदे वर्षा नहुँदा डढेलो र आगलागी वृद्धि भई प्रदूषण बढ्दा मानवीय स्वास्थ्यमा पनि गम्भीर असर पर्दछ । जलवायुविद् उप्रेती जलवायुजन्य विपद्का अलगअलग कार्यक्रम बनाएर काम थाल्नु आजको आवश्यकता भएको बताउँछन् । प्रत्येक प्रकोप र विपद्ले निम्त्याउने हानिनोक्सानी फरकफरक हुने भएकाले त्यसको निवारणका निम्ति पनि विविध उपाय अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
टिप्पणीहरू