राप्रपाको बैठक रमिता हेर्ने थलो बनेको ज्ञानबहादुरको गुनासो
पूर्वपञ्चहरुको पार्टी राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानबहादुर शाहीले हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठक आरोप-प्रत्यारोपको थलो बनेको टिप्पणी गरेका छन् ।
बैठकमा एजेण्डामाथि गम्भीर छलफल हुनुपर्नेमा त्यसो नभई नेताहरुले आरोप-प्रत्यारोप गरेर रमिता बनाएको उनको भनाई छ । हिजो र अस्ति चलेको बैठकमा आफू पारिवारिक कारण उपस्थित हुन नसकेको जानकारी दिँदै उनले आज बिहान सामाजिक सञ्जालमार्फत् ‘कामकाज एकातिर, कुम्लो बोकी ठिमीतिर त भएन ?’ भनी प्रश्न गरेका हुन् ।
राष्ट्र र देशवासीको हितको लागि अहिलेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर संविधान संशोधनको लागि सरकारलाई दबाब दिनुपर्नेमा नेताहरुले ‘बैठकलाई रमिता हेर्ने थलोका रूपमा प्रयोग गरिरहेको’ शाहीको आरोप छ ।
अस्ति पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि महामन्त्री डा. धवलशमसेर राणाले १६ बुँदे फरक मत राखेका थिए । जस कारण यतिबेला राप्रपाका नेताहरु आ-आफ्नो शक्ति सञ्चयको अभ्यासमा रहेको टिप्पणी भइरहेको छ । तर, यस्तो प्रवृतिले कुनै प्रगति र परिणाम नदिदे सांसद शाहीको तर्क छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था, प्रदेश संरचनाको खारेजी, राष्ट्रपति र राजाका बारेमा जनमत संग्रहको मागलगायतका एजेण्डामा अघि बढ्न उनले नेताहरुलाई सुझाव दिएका छन् ।
त्यस्तै, ‘बुद्ध, किराँत र हिन्दुसहितको वैदिक सनातन हिन्दु राष्ट्रको स्थापना, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार, युवाहरूलाई रोजगारीको ग्यारेन्टी, कर्मचारी तथा शिक्षकहरूलाई राजनीतिमा प्रतिबन्धजस्ता एजेण्डालाई पनि पार्टीले अघि सार्नुपर्ने शाहीको भनाई छ ।
टिप्पणीहरू