रविका वकिलको बहस शुरु, कहिले आउला आदेश ?
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको ५ नम्बर इजलासमा बुधबार बयान दिएका लामिछानेको बिहीबारदेखि थुनछेक बहस शुरु भएको थियो । शुक्रबार हेर्दाहेर्दैमा राखिएको बहस आज बिहानैदेखि सूचारु भएको हो ।
बिहीबार सरकारी वकिल र जाहेरकर्ताका तर्फबाट बहस भएको थियो भने शुक्रबार प्रतिवादीका तीन जना वकिलले बहस गरेका थिए । आज पूर्व न्यायाधिवक्ता रमण श्रेष्ठसहित तीन जनाले बहस गर्दैछन् ।
त्यसपछि सरकारी वकिलले जवाफी बहस गरेपछि न्यायाधीश योगीले आदेश सुनाउने छन् । प्रतिवादी लामिछानेका वकिलले निर्धारित समयमै बहस टुंग्याए आजै आदेश आउनसक्ने सम्भावना छ ।
१८ सय बचतकर्ताको झण्डै ८७ करोड रकम हिनामिना भएको उक्त सहकारीबाट लामिछाने प्रबन्धक निर्देशक रहेका बखत गोर्खा मिडिया नेटवर्क प्रालिमा १४ करोड गैरकानुनी ढंगले प्रवाह भएको अभियोग पत्रमा उल्लेख छ । २२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले गत आइतबार पूरक अभियोजन दर्ता गरेको थियो ।
मंगलबार साँझ बुद्ध एयरको जहाजमार्फत् रुपन्देही गएका लामिछाने उक्त रात भैरहवास्थित मेरी गोल्ड होटलमा बसेका थिए । भोलिपल्ट अदालतमा हाजिर भएका उनलाई अदालतले बयान सकेर परिवार र वकिलको जिम्मा जमानीमा छाडेको थियो ।
लामिछाने पत्नी निकिता पौडेलसहित बुटवलकै एक होटलमा बसेका छन् । थुनछेक शुरु भएदेखि रास्वपाका केही नेता पनि बुटवल पुगेका छन् ।
टिप्पणीहरू