डेभिज फल्स सञ्चालनको जिम्मा महानगरलाई

डेभिज फल्स सञ्चालनको जिम्मा महानगरलाई

पर्यटन राजधानी पोखराको लोकप्रिय गन्तव्य पातले छाँगो अर्थात् डेभिज फल्स पोखरा महानगरपालिका आफैंले सञ्चालन गर्ने भएको छ । आज बसेको सर्वपक्षीय बैठकले डेभिज फल्समा जारी अवरोध हटाएर तत्काल सञ्चालन गर्ने निर्णय गरिएको छ ।

नगर प्रमुख धनराज आचार्यले डेभिज फल्समा महानगर आफैंले कानूनबमोजिम पर्यटक शुल्क उठाउने र महालेखा परीक्षक कार्यालयले औंल्याएको बेरुजु फछ्र्यौटका लागि प्रक्रिया थाल्ने निर्णय भएको जानकारी दिए । अहिले स्थानीय छोरेपाटन माविले डेभिज फल्स सञ्चालन गरिरहेको छ । तर, केही विवादका कारण गत माघ १ गतेदेखि डेभिज फल्स बन्द छ । 

सर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ, ‘पोखरालाई पर्यटकीय राजधानी घोषणा भएको अवस्थामा छोरेपाटन माविले डेभिज फल्सको पर्यटन शुल्क उठाइरहेको विषय नेपालका प्रचलित कानून, पोखरा महानगरपालिका आर्थिक ऐनको प्रावधानविपरीत रहेको र महालेखाको प्रतिवेदनले समेत डेभिज फल्सबाट पर्यटन शुल्क उठाई सोबापत प्राप्त आम्दानी छोरेपाटन माविले भोग गरिरहेको नियम विपरीत भनी स्पष्ट किटान गरी असुल उपर गर्नुपर्ने बेरुजुको रुपमा कायम गरेको हुँदा तत्कालै डेभिज फल्समा लगाएको ताला खोलेर महानगर आफैंले कानुनबमोजिम पर्यटन शुल्क उठाई डेभिज फल्स सञ्चालन गर्ने, पर्यटकको लागि खुल्ला गर्ने र महालेखाले औँल्याएको बेरुजु फछ्यौटको लागि कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय भएको...।’

डेभिज फल्समा परियोजना सञ्चालन गर्ने सम्बन्धमा बैठकले सरोकारवाला पक्षसँग छलफल गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नगर प्रमुख आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौंलागार्इं, कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहित सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।

टिप्पणीहरू