मेयरलाई तत्काल कारबाही गरियोस् : पत्रकार महासंघ

मेयरलाई तत्काल कारबाही गरियोस् : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई कानुनी कारबाहीका लागि गृह मन्त्रालयसमक्ष आग्रह गरेको छ । महांसघकी अध्यक्ष निर्मला शर्मासहितको टोलीले आज गृहमन्त्री रमेश लेखकलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ । 

खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहालले केही समयअघि धरानमा चलिरहेको खानेपानी अभियान र श्रमदान पार्क निर्माणमा भएको अनियमितताबारे एक विस्तृत रिपोर्ट तयार पारेका थिए । उक्त रिर्पोट प्रकाशित भएपछि मेयर राईले सामाजिक सञ्जालमार्फत् तथानाम गाली गलौज गर्दै धम्की दिएका थिए । सोही विषयलाई आधार बनाउँदै महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा संलग्न मेयर राईमाथि कारवाही गर्न माग गरेको हो । 

‘महासंघले दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिसनले तयार पारेको प्रतिवेदनले दोषी औल्याएका जो कोहीलाई तत्काल कानुनी कठघरामा उभ्याएर प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतालाई व्यहारमा उतार्न आवश्यक कदम चालिदिनु हुन महासंघ माननीय गृहमन्त्री समक्ष अनुरोध गर्दछ’, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

स्थानीय कोकाहखोला खानेपानी अभियानका लागि देश–विदेशबाट संकलन भएको करिब पाँच करोड रकममध्ये मेयर राईले लाखौँ रुपैयाँ निजी खातामा ट्रान्सफर गरेर आफूखुशी प्रयोग गरेको आरोप छ । अपारदर्शी खर्च भन्दै छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो । आयोगले स्पष्टीकरण सोधेकोमा मेयर राईले केही दिनअघि रैथाने शैलीमा ‘तपाईंहरु पनि ढुंगा गन्न आउनू’ भन्दै लिखित जवाफ पठाएका थिए । 

पछिल्लो समय मेयरको गतिविधिले संघीय सरकार आजित बन्दै गएको देखिन्छ । खानेपानी अभियानकै लागि अघिल्लो साता रित्तो गाग्री बोकेर काठमाडौँ आएका उनले खानेपानीमन्त्री प्रदीव यादवलाई भेटेर फर्किएका थिए । भेटमा मन्त्री यादवले खानेपानी आयोजनाको लागि बजेट सुनिश्चितता गर्ने प्रतिबद्धता जनाए पनि मेयर राई धरान पुगेपछि ‘रित्तो गाग्री देखाएर ड्रामा गरेको’ टिप्पणी गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

टिप्पणीहरू