चीनको सिमानासम्म हेर्ने भारतीय जर्नेल काठमाडौंमा

चीनको सिमानासम्म हेर्ने भारतीय जर्नेल काठमाडौंमा

भारतीय सेनाका लेफ्टिनेन्ट जर्नेल जुबिन ए मिनवाला काठमाडौं आएका छन् । उनी गोर्खा राइफलका कर्णेल सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो नयाँ दिल्लीबाट आएका हुन् । 

भारतीय सैन्य टोली एअर इण्डियाको उडानमा दिउँसो २ बजे आइपुगेको हो । आगामी शनिबार स्वदेश फर्कने उक्त टोली भोलि बिराटनगर र पर्सि पोखरा जाने कार्यक्रम छ । 

प्राप्त विवरणअनुसार टोली बुद्ध एअरको उडानमा भोलि दिउँसो २ बजे विराटनगर गएर साँझ ७ बजे राजधानी फर्कने छ । पर्सि बिहान ११ बजे बुद्ध एअरको उडानमा पोखरा गएर पर्सि बेलुकी साढे ५ बजे नै फर्कने कार्यक्रम बनाइएको छ । 

बिहिबार र शुक्रबारको कार्यक्रमबारे केही बताइएको छैन । नेपाल भ्रमण पूरा गरेर भारतीय सैन्य टोली शनिबार अपरान्ह एअर इण्डियाको उडानमा नयाँ दिल्ली फर्कने छ ।

नेपाल आएका जर्नेल मिनवाला भारतीय सेनाको प्रख्यात त्रिशक्ति कर्प्सका कमाण्डर हुन् । यसअघि उक्त जिम्मेवारीमा जर्नेल भिपिएस कौशिक थिए । त्रिशक्ति सन् १९६० मा भारतीय सेनाले सिलिगुडीमा पूर्वी कमाण्डको रुपमा स्थापना गरेको हो । लगत्तै सन् १९६२ को भारत–चीन युद्धमा संलग्न भएको यो कमाण्डले चिनियाँ सेनाका सञ्चार सामाग्रीलगायत बन्दोबस्तीका महत्वपूर्ण सामान नियन्त्रणमा लिएको भारतीय दाबी छ । 

ती सामाग्रीलाई सेनाले जबलपुरको सैनिक संग्रहालयमा सुरक्षित राखेको बताइन्छ । पछिल्लो समय त्रिशक्ति कर्प्समा रहेका तीन पर्वतीय डिभिजनहरु १७ औं गाङतोक, २० औं बिन्नागुरी र २७ औं कालिम्पोङ हुन् ।

मिनवालाको कमाण्ड र भारतीय सेनाले उत्तरपूर्वी भेगमा बढाएको सुरक्षा बन्दोबस्तीलाई सैनिक विश्लेषकहरुले अर्थपूर्ण ठानेका छन् । दुई वर्षअघि सन् २०२३ को गणतन्त्र दिवसका दिन नयाँ दिल्लीमा उनै जर्नेललाई अति विशिष्ट सेवा पदक प्रदान गरिएको थियो ।

टिप्पणीहरू