यताको सिजनमा उताबाट गहुँ आयात गरिँदै

यताको सिजनमा उताबाट गहुँ आयात गरिँदै
सुन्नुहोस्

सरकारले यो वर्ष पनि भारतबाट गहुँ आयात गर्ने भएको छ । त्यसका लागि  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रक्रिया अघि बढाएको छ । 

इच्छुक फर्म तथा कम्पनीले आगामी सात दिनभित्र आवेदन गर्न सक्ने र एउटा कम्पनीले न्यूनतम एक सय मेट्रिक टनदेखि बढीमा १० हजार मेट्रिक टन गहुँ आयात गर्न पाउने छन् । 

तर त्यस्ता फर्म वा कम्पनीको चुक्ता पूँजी कम्तीमा एक करोड रुपैयाँ हुुनुपर्ने जनाउँदै गहुँ आयातका लागि भारतको नेशनल कोअपरेटिभ एक्स्पोर्टस लिमिटेडलाई शतप्रतिशत अग्रिम भुक्तानी दिनुपर्ने भएकाले वित्तिय स्रोतको सुनिश्चिता गर्न आग्रह गरिएको छ ।

कम्पनीले आयात माग गरेको आधारमा प्राप्त कोटा विभागबाट अघिल्लो वर्षमा आवेदक कम्पनीले राजस्वमा गरेको योगदान र खाद्यान्न आयातमा अनुभव भएकालाई सक्षमताका आधारमा प्राथमिकता दिई बाँडफाँड गरिने जनाइएको छ । 

कोटा प्राप्त भएको मितिले तीन महिनाभित्र गहुँ आयात गरिसक्नुपर्छ । गहुँ आयात गर्न नसकेको अवस्थामा अनुमतिप्राप्त भएको मितिले १५ दिनभित्र विभागमा जानकारी गराउनुपर्ने छ । 

गहुँ आयातमा प्रचलित कानूनबमोजिम गुणस्तर मापदण्ड पालना गर्नुपर्ने, आयातित गहुँको मौज्दात, मूल्य, गुणस्तर र बिक्री विवरण साप्ताहिक रुपमा पेश गर्नुपर्ने छ ।

टिप्पणीहरू