रुघा खोकीको सन्दर्भमा पनि प्रचण्डप्रति प्रधानमन्त्रीको आक्रोश

रुघा खोकीको सन्दर्भमा पनि प्रचण्डप्रति प्रधानमन्त्रीको आक्रोश
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सामान्य बिरामी हुँदा पनि कतिपयले आईसीयुको फोटोसहित दुष्प्रचार गरेकोमा चित्त दुखाउनुभएको छ । चार दिनको बेड रेष्टपछि आज प्रशासकीय भवन उद्घाटनको लागि भक्तपुरको सूर्यविनायक नगरपालिका पुग्नुभएका उहाँले हाच्छ्यूँ गर्दा पनि विपक्षीहरुले गलत नियतसहित भेन्टिलेटर लगाएको फोटो प्रचार गरिएको भन्दै दुःखेसो पोख्नुभएको छ । 

एमाले अध्यक्षसमेत रहनुभएका ओलीले सामान्य रुघाखोकीका कारण बालुवाटारमै आराम गरेर बस्नुपरेको जानकारी दिनुभयो । ‘मैले हाच्छ्यूँ गरेँ भने आईसीयूको, भेन्टिलेटर लगाएको, अक्सिजनको मास्क लगाएको फोटो शेयर गरेर रमाउँछन्’, उहाँले भन्नुभयो, ‘मलाई सामान्य रुघा लागेको थियो, जुन आशासहित साथीहरूले त्यस्तो फोटो देखाउँछन्, त्यो पुग्नेवाला छैन ।’

प्रधानमन्त्री ओलीले फरक प्रसंगमा अब २०६४ सालको परिस्थिति कुनै पनि हालतमा नफर्कने पनि बताउनुभयो । केहि दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङको तुलसीपुरमा आयोजित नगर अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै ‘हामी सच्चिएर आउँछौं, तपाईं (जनता)ले साथ दिनुभयो भने ०६४ फेरि फर्किन्छ’ भन्नुभएको थियो । 

सोही प्रसंग कोट्याउँदै उहाँले थप्नुभयो, ‘अचम्मको कुरा, ०६४ को जस्तै भोट दिनुस्, के के गर्छु भनेछन् एक ठाउँमा । त्यो जमाना गयो । त्यतिबेला क्याम्पमा लडाकु थिए, आतकं थियो, त्रास थियो । सरकार र प्रशासन निरीह हुन्थ्यो । त्यो जमाना अब छैन ।’

उहाँले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गर्दै सहमतिअनुसार नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नेसमेत दोहोर्याउनुभयो । ‘अब १७÷१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । भोलि नेपाली कांग्रेसले हामीबाट पूराका पूरा साथ पाउँछ’, उहाँले थप्नुभयो ।

टिप्पणीहरू