धादिङ लोक सांस्कृतिक महोत्सवमा खुलेआम जुवा,मौन छन् सरोकारवाला

धादिङ लोक सांस्कृतिक महोत्सवमा खुलेआम जुवा,मौन छन् सरोकारवाला

सदरमुकाम धादिङबेसीमा सन्चालन भइरहेको लोक सांस्कृतिक महोत्सवमा निर्वाध जुवाको धन्दा चलाइएको छ ।  

महोत्सवको मूलगेट प्रवेश गरेदेखि मञ्च अगाडिसमेत खुलेआम जुवाको खाल जमाइरहँदा सरोकारवाला निकाय भने मौन बसेका छन् । जुवा अड्डाहरुलाई आयोजकले त वास्ता गरेका छैनन् नै स्थानीय प्रशासन र सुरक्षा निकायले समेत देखे नदेखे गरिरहेको पाइएको छ । 

महोत्सव स्थलभित्र करिब ६ स्थानमा गरी १२ वटाभन्दा बढि जुवाका थरीथरी खाल छन् । यस्ता जुवा खेलाउनेहरुले गाउँ ठाउँबाट मेला हेर्न आएका सर्वसाधारणलाई थोरै पैसा जुवामा थापेर सैयौं गुणा बढि कमाउने लोभ देखाउँदै धन्दा मच्चाइरहेका छन् । 

प्रहरीको सुरक्षा घेरामा रहेको महोत्सवको मञ्चअगाडि दुई स्थानमा खुल्लमखुल्ला जुवा चलिरहेको छ । त्यस्ता जुवा खालमा दैनिक हजारौँको खेल हुने गरेको छ । महोत्सवभित्र नागरिकहरू खुलेआम ठगिइरहँदा प्रहरी भने थाहा नपाएझैँ गरेर बसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । जुवा खाल नजिकै भेटिएका एकजना प्रत्यक्षदर्शी भन्छन्–‘पैसा जित्न सकिने प्रलोभन देखाएर गाउँबाट महोत्सव हेर्न आएका मान्छेलाई खुलेआम लुटिरहेका छन् । प्रहरीहरू जुवालाई नै सुरक्षा दिएर बस्छन् । यो कस्तो कानून हो !’ 

जुवामा ठूला मान्छेहरु त लुटिएका छन् नै स–साना बालबालिका अझ बढि ठगिएका छन् । मन परेका खानेकुरा खान र बाल उद्यानमा रमाइलो गर्न ल्याएका पैसा जुवामा सकाएपछि अनुहार खुम्च्याउँदै खाली पेट रित्तो हात घर फर्किन बाध्य बनिरहेका छन् । 

मंगलबार दिउँसो अन्दाजी ३ बजेर १५ मीनेटको आसपासमा महोत्सव स्थल प्रवेश गर्दैगर्दा शुभलक्ष्मी रिङ सेन्टरमा प्रहरीले रिङमा जुवा हानिरहेको देखियो । मेला महोत्सव होस् या अन्य कुनै स्थानमा जुवा प्रतिवन्ध छ । यी गतिविधि मेला महोत्सव व्यवस्थापन कार्यविधि विपरित हुन् । तर,प्रहरी आफैले जुवा हानिरहेको दृश्यले धादिङ लोक सांस्कृतिक महोत्सवमा भइरहेको जुवा प्रहरी र प्रशासनकै आडमा चलेको थप पुष्टि हुन्छ । 

कानूनले बर्जित गरेका जुवा लगायतका ठूलो रकम हारजित हुने खेलहरू महोत्सवभित्रै खेलाइरहेकोबारे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले भने महोत्सव स्थलमा सुरक्षाका लागि प्रहरी निरन्तर खटिइरहेको र जुवाबारे आफूलाई कुनै जानकारी नभएको प्रतिकृया दिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले भने जुवाजन्य कार्य नियन्त्रणका लागि निर्देश गरिसकिएको बताएका छन् । 

जिल्ला प्रशासन कार्यालयको गेटै अगाडि चलिरहेको महोत्सव स्थलमा भइरहेको जुवा खाल भने सोमबार साँझसम्म पनि निर्वाध रुपले चलिरहेको छ ।  खुलमखुल्ला भइरहेको जुवा नियन्त्रणमा कसैको चासो नदेखिनुले महोत्सव आयोजक,सुरक्षा निकाय र जिल्ला प्रशासनसमेत जुवा सन्चालन गर्नेहरुको प्रभावमा परेको बुझ्न सकिन्छ । 

जुवा खेलाउनेहरुको ग्याङले फोटो खिच्न खोज्दासमेत अवरोध गर्ने गरेका छन् । किन खिचेको ? तपाईं को हो ? भन्दै त्रसित गराउने गरेको पाइएको छ। 

यसरी भइरहेको छ महोत्सवमा जुवा 

महोत्सवभित्र मञ्चकै अगाडि दुई स्थानमा अग्लो भाग बनाएर हात्ती,सुगा, भाले र घोडाको चित्र अंकित फ्लेक्स राखिएको छ । त्यसमाथि घुमाउने भाग राखिएको छ । र हात्ती,सुगा,भाले र घोडाको चित्रमा आफूलाई जहाँ मन लाग्यो त्यहीँ पैसा राख्न लगाइन्छ । अनि माथिको भागलाई घुमाइन्छ । खेलाउनेले धेरै पैसा भएको ठाउँमा पारेको जस्तो गरी आफ्नै आसेपासेलाई केही पटक पैसा पारिदिन्छन् । 

यो जस्तै अर्काे खेल रिङ हान्ने र पैसा वा सामान पार्ने छ । तीर हानेर नम्बर मिलाउने र दोब्बर चौरल पैसा जित्ने खेल छ । त्यो देखेर लोभिएका सर्वसाधारणले पनि पैसा जुवामा थाप्छन् । थोरै पैसा भएको ठाउँमा पारिदिन्छन् या खेल्नेमध्ये पनि आफ्नो आसेपासेलाई पार्छन् । यो कुरा मेला हेर्न विभिन्न ठाउँबाट आएका सर्वसाधारणलाई पत्तो हुँदैन । एक दुईपटक आएको धेरै पैसाले लोभिएर उनीहरू जुवा खेल्छन् । अन्ततः भएको सबै पैसा सकेर रित्तो फर्कन्छन् ।

टिप्पणीहरू