नेताजी, तपाईंको उत्तराधिकारी खै ?

कसको उत्तराधिकारी को ? हरेकमा खुलदुली र चासो जतिधेरै देखिन्छ त्यत्तिकै यो विषय जटिल पनि छ । नेपालमा उत्तराधिकारी शब्द राजपरिवार, मठमन्दिर र संस्कृतिसँग मात्र जोडिएझैँ थियो । त्यो भनेको राजाको जेठो छोरो नै राजा हुन्छ र मूल पूजारीको सन्तान वा जातिकै मूलपूजारी हुन्छ भन्ने हो । दरबारभित्र यस्तो थियो, रैतीतिर भने भर्खरै सकिएको स्वस्थानी ब्रतकथामा उल्लेख भएकै कुरालाई आधार मानेर व्यवहार चलिरहेको छ । चन्द्रावतीले शाली नदी किनार स्वस्थानी माताको एक महिना व्रत लिएर माघ पूर्णिमाका दिन गरिने सांगेको फूलप्रसाद कसरी वितरण गरिन् भन्नेसँग जोडिएको छ सर्वसाधारणको उत्तराधिकारी चयन । स्वस्थानीको प्रसाद श्रीमानलाई खान दिनु, श्रीमान् नभए छोरालाई दिनु, छोरा नभए मीत छोरालाई दिनु भन्दै–भन्दै अन्त्यमा कोही नभए नदीमा बगाउनु भनेर सविस्तार चर्चा गरिएको छ । छोरीलाई दिउँचाहिँ किन नभनिएको होला ? त्यसैअनुसार को पछि कसले कसको उत्तराधिकार पाउँछ भनेर निधो गरिने युगौंको प्रचलन छँदैछ ।
बेलायती राजपरिवारमा भने गद्दिनसिन राजा वा रानीको पहिलो सन्तान छोरा वा छोरी जे छ उसैको हक लाग्ने परम्परा छ । त्यसैले बेलायतमा त्यहाँ उहिलेदेखि राजगद्दीमा पुरुष मात्र बसेका छैनन्, महिलाले पनि आसन जमाएका छन् । जंगबहादुर राणाको बेलायत भ्रमणताका सिंहासनमा रानी भिक्टोरिया थिइन् । वर्तमान राजाका बाबु होइन, आमा एलिजाबेथ गद्दीनसिन भएको जगजाहेरै छ ।
संसारभरका धेरै बौद्धिक संस्थामा भने जो सर्वोत्कृष्ट अंक ल्याएर परीक्षामा प्रथम हुन्छ, उक्त संस्थाको उत्तराधिकारी उही हुने प्रचलन छ । भारतीय उपमहाद्वीपका चर्चित दार्शनिक, अर्थशास्त्री र राजनीतिज्ञ चाणक्यले उत्तराधिकारमा विशेष जोड दिएका छन् । सर्वश्रेष्ठ कर्म गर्ने योग्य व्यक्ति मात्र उत्तराधिकारी बन्नुपर्छ भन्ने उनको दृढ विचार थियो । गोर्खाली राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणताका भनेका थिए– बिराज बखती कि कालु पाण्डे कसलाई सेनापति बनाउने ? अधिकांश भारदारले कालु पाण्डेको माग गरेकाले मलाई बिराज बखती मन परे पनि बहुमतको विचारलाई कदर गर्नुप¥यो ।
मातृका हुन् कि बिपी भन्ने झगडाले क्रान्तिको नेतृत्व गर्ने कांग्रेस फुट्यो । साँढुदाइ, साँढुभाइको तँ ठूलो कि म ठूलो भन्ने झगडामा फसेका कम्युनिष्टको नेतृत्व महासामन्त डा. केशरजंग रायमाझीले उछिट्याइदिए ।
आधुनिक नेपालमा भने उत्तराधिकारी छान्ने सकस सामन्ती राजतन्त्रभन्दा बढी लोकतान्त्रिक दलमा देखिँदै छ । लोकतन्त्रमा किन यस्तो पश्चगामी सोच हावी भइरहेको होला ? नेपाल सरकारलाई नेतृत्व दिने राजनीतिक दल किन संस्थागत हुनुको बदला कांग्रेसले राणा शाहको, एमालेले कांग्रेसको र माओवादीले एमाले–कांग्रेस दुवैको रोलमोडल पछ्याइरहेका हुन् ? नेपाली लोकतन्त्र जहिलेसुकै अस्थिरताको भुमरीमा परिरहेको छ । यसको कारण अरू होइन, उत्तराधिकारीको कचमच नै हो ।
राजनीतिमा उत्तराधिकारी भनेको पुरानो नेतृत्वलाई विस्थापित गरेर नयाँले देश अनि समाजको रूपान्तरण गर्ने हो तर नेपालका ठूला भनिने पार्टीहरू सधैं धोका, षडयन्त्र, लडाइँ, झगडा, नातावाद, कृपावादले आक्रान्त छन् । देश रूपान्तरण गर्नुपर्नेहरू आफैँं नवसामन्तमा रूपान्तरण भइरहेका छन् । राजाको ठाउँमा राजा फाल्नेहरू पुगेका छन् ।
सात सालको क्रान्तिबाट विस्थापित भनिएका राणा प्रधानमन्त्री मोहनसमशेर राणालाई नेपाली कांग्रेसले क्रान्तिकारी सरकारको प्रधानमन्त्री स्वीकार ग¥यो । तर पनि कांग्रेसको उत्तराधिकारी डिक्टेटर मातृकाप्रसाद कोइराला हुन् कि उनका भाइ बिपी भन्ने झगडाले क्रान्तिको नेतृत्व गर्ने नै फुट्यो । नेपाल कम्युनिष्ट पार्टीले पनि आफ्ना संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई दुई वर्षमै गलहत्याएर मनमोहन अधिकारीलाई नेता बनायो । साँढुदाइ, साँढुभाइको तँ ठूलो कि म ठूलो भन्ने झगडामा फसेका कम्युनिष्ट नेतृत्व महासामन्त डा. केशरजंग रायमाझीले उछिट्याइदिए । समाज रूपान्तरणको मुद्दा त्यही बेलादेखि ओझेलमा परेको छ । कांग्रेस र कम्युनिष्टमा उत्तराधिकारीको विवाद आजका मितिसम्म गुजुल्टिएकै छ ।
शेरबहादुर देउवापछि को ? केपी ओलीपछि को ? पुष्पकमल दाहालपछि को ? नेताहरूले आफ्नो उत्तराधिकारी होइन, धनार्जन गरिदिने ग्राहक खोजिरहेका हुन् ? नेताहरू पार्टीपक्षीय कि पार्टीचाहिँ नेतापक्षीय हुन पुगेका हुन् ?
जीवनको अन्तिम घडीमा बिपी कोइरालाले उत्तराधिकारीका रूपमा नेतात्रयको व्यवस्था गरे । तर, सत्तामा पुगेपछि गिरिजाप्रसादले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई गोकुलठ्याक लगाउँदै पार्टी नै कब्जा गरे । आफ्नै अध्यक्षलाई चुनाव हराउन अन्तरघात गरे । मध्यावधि घोषणा गरे अनि चुनाव हारेर तीन बल्ड्याङ खाए । रामचन्द्र पौडेल सभामुखमै मुख मिठ्याउन थालेकाले शेरबहादुरलाई संसदीय दलको नेता बनाए । लगत्तै शेरबहादुर प्रधानमन्त्री बने तर गिरिजाप्रसादले सहेनन् र सत्ता खोसे । शेरबहादुरले पनि कांग्रेस पार्टी फुटाए । गोर्खाका राजाले न्याय दिए भनेर ज्ञानेन्द्रपट्टि लागे । फुटेपछि गिरिजाप्रसाद र शेरबहादुर दुबैले हार खाए । शेरबहादुर कांग्रेसमै प्रवेश गरे, गिरिजाले भिœयाए ।
शेरबहादुरले उत्तराधिकारी खोजिरहे र अन्ततः कांग्रेसको सभापति बने । अहिले उनैलाई पार्टी उत्तराधिकारी तोक्न यति सकस भएको छ कि आसन्न पन्ध्रौं महाधिवेशन नै समयमा नहुने अवस्था छ । उनले उत्तराधिकारी तोके वा महाधिवेशन भयो भने २०८३ मा भागको प्रधानमन्त्री बन्ने अवसर अर्कैले उछिट्याउने भय व्याप्त छ । एमालेमा मदन भण्डारीले बहुदलीय जनवाद भनेर वामपन्थी बालरोगीलाई लोकतान्त्रिक बनाउन थाले तर उनको सोचले पूर्णता नपाउँदै इहलीला समाप्त भयो । त्यसपछि माधव नेपाल महासचिव बनेर १५ वर्ष राज गरे ।
वामदेव गौतमले पार्टी नै फुटाए । चुनावमा एमाले निम्छरो बन्यो र माधवले हारे । वामदेवले एमाले र माधवले वामदेवलाई स्वीकारे । पार्टी एकीकरण गरे । केपी ओलीले अधिवेशनमा नेपाललाई हराए तर नेपाललाई यो सह्य भएन । एकीकृत बनेको नेकपा प्रचण्डसँग मिलेर फुटाए । अहिले समाजवादी दल खोलेर बसेका छन् । एमालेभित्र ओलीले पनि समयमा उत्तराधिकारी तोक्न नसक्दा पूर्वराष्ट्रपति नै म उत्तराधिकारी भनेर तामझाम देखा पर्न थालेको छ । के पहिलो पुस्ताको डुप्लिकेट दोस्रो पुस्ता बनिरहेकाले पार्टीमा अन्तरपुस्ता तनाव बढिरहेको हो ? नयाँ पुस्ता कहाँनेर छ ?
माओवादी कित्ताका मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्यलाई पाखा लगाउँदै प्रचण्ड यस्तो सर्वसत्तावादी बनेका छन् कि उनको जीवनभर उत्तर कोरियाका किम परिवारवादको एकछत्र राजजस्तै चलिरहनेवाला छ । उत्तराधिकारी भन्ने शब्द नै माओवादी डिक्सनरीमा छैन । पार्टी फुटेर धुजाधुजा भैसक्दा पनि उनको दबदबा र हुंकार बूढो साँढेको झैँ सुनिन्छ र नयाँ बहरहरू उनको आवाज सुनेरै गाईको नजिक पुग्दैनन् ! पूर्वउपराष्ट्रपतिलाई उत्तराधिकारी बनाउने खेलोले माओवादी पुनः फुटको संघारमा पुग्दै छ ।
ठूलोबाबुको त यो मति, कान्छा बाबुको कुन गति ? नयाँ विकल्प बनेर ठूला पार्टीलाई चुनौती दिन आएकाहरूको उत्तराधिकारी बनाउने विषय आलसतालस छ । वैकल्पिक पार्टी, नयाँ नेतृत्व भन्ने डा. बाबुराम भट्टराईले नयाँलाई कहिल्यै उत्तराधिकार हस्तान्तरण गर्न सकेनन् र आफैँं पार्टी प्रमुख बनेर भर्खरै अधिवेशन सके । अनि छोरीलाई उत्तराधिकारीको रूपमा उपाध्यक्ष घोषणा गरेका छन् । मधेशी पार्टीहरूमा त उत्तराधिकारी भन्ने संस्कारसमेत देखिँदैन । जो पदमा पुग्यो ऊ नमरुञ्जेलसम्म उसैले पद ओगटिरहँदा मधेशी पार्टीहरू चिनियाँ चियाको ग्लास फुटेझैँ टुक्राटुक्रा भई छरपष्ट बनेका छन् । स्वतन्त्र पार्टी रवि लामिछाने सती गएको भ्रष्टाचारकै परिक्रमा गरिरहेको छ, योग्य उत्तराधिकारी छान्नबाट धेरै टाढा छ ।
उत्तराधिकारी पार्टीलाई संस्थागत गरेपछि हुने हो, तिकडम गरेर तोक्ने विषय होइन । यो मानका खातिर मान पनि होइन न त परिवारवाद नै हो । यो सत्ता नेतृत्व हस्तान्तरणको प्रक्रिया हो । देशको विकास नीतिले हुने हो भने नीति बनाउने ज्ञानले हो । विचार विश्वव्यापी स्वभावको हुन्छ भने नीति राष्ट्रिय र स्थानीय स्वभावको हुन्छ । त्यसैले उत्तराधिकारी नीति, सिद्धान्त र आदर्श बोक्ने आन्दोलन, अभियानबाट खारिएको अनि त्यही भावलाई बोकिरहेकाले पाउने पद्धति हो । नेपालको संविधानले परिकल्पना गरेको समृद्ध नेपाल, सुखी नेपाली बनाउने दृढ इच्छाशक्ति भएको नेता हुनुपर्छ उत्तराधिकारी ।
सुशासन, समृद्धि र सामाजिक, आर्थिक न्यायअनुकूल हिँड्न सक्ने युवा ढुकढुकी हुनुपर्छ उत्तराधिकारी । आर्थिक अनुशासन, पारदर्शिता, इमान्दारी भएको र कुनै पनि विवादास्पद काण्डमा नपरेको, आर्थिक अनुशासनमा रहेको पात्र चाहिन्छ उत्तराधिकारी । उत्तराधिकारीको विकास र प्रोत्साहन गर्न सक्ने पात्र आज हरेक दलको आवश्यकता हो । भुइँ मान्छेका कुरा बोकेर समाज रूपान्तरणको मुद्दा अगाडि बढाउने अविच्छिन्न पात्र हुनुपर्छ उत्तराधिकारी । पार्टी, समाज र देशलाई उत्तराधिकारीले दिने कुरा के–के हुन् ? यस्तो विरासत बोकेको र दृष्टिकोण भएको नयाँ पात्रलाई अहिलेको नेतृत्वले आफ्नो उत्तराधिकारीको रूपमा अगाडि बढाइहाल्नुपर्छ ।
पार्टीको उत्तराधिकारी पार्टी पंक्ति र आमजनतामा आशा जगाउने र भविष्यप्रति भरोसायोग्य पात्र भएको देखिनुपर्छ । यसमा किन्तु, परन्तु हुनुहुँदैन । ऐरे गैरे नत्थु खैरेले पनि हुँदैन । उत्तराधिकारी घोषणा गर्न नेताहरूले जति ढिला गर्छन् त्यति नै तिनका पार्टीमा गुट उपगुट र कोटरी जन्मँदै जान्छन् । अनि नेता र पार्टीको साख गिर्दै जान्छ र उनीहरूप्रति विकर्षण र वितृष्णा उत्कर्षमा पुग्छ र जनता भाषण र आश्वासनको भुमरीमा पर्न पुग्छन् । अनि बंगलादेश, श्रीलंका वा सिरिया हुन कुनै आइतवार कुरिरहनै पर्दैन !
टिप्पणीहरू