सुलभ फार्मेसीका औषधिबारे अध्ययन हुँदै

काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीबाट बिक्री हुँदै आएका औषधिको प्रकार र परिमाणबारे अध्ययन गर्ने भएको छ । महानगरले सञ्चालमा ल्याएको उक्त फार्मेसीअन्तर्गत औषधिबारे अध्ययन गर्न लागिएको हो ।
आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क, स्वास्थ्य बीमा र बीमामा आबद्ध नभएकाहरुलाई सर्वसुलभ औषधि तथा औषधीजन्य सामग्रीहरु उपलब्ध गराउन जेनेरिक फार्मेसीको अभ्यासअनुसार सुलभ फार्मेसी स्थापना गरिएको हो ।
औषधीको ब्राण्डका आधारमा नभई औषधिमा भएका तत्वका आधारमा बिरामीलाई औषधी प्रदान गर्ने प्रणालीलाई जेनेरिक फार्मेसी भनिन्छ । यसलाई व्यवस्थापन गर्न महानगरले गत वर्ष ‘फार्मेसी सञ्चालन तथा नियमनसम्बन्धी निर्देशिका’ समेत जारी गरेको थियो ।
सोही निर्देशिकाअनुसार औषधि पसलहरुको नियमन गर्न लागिएको महानगरको भनाइ छ । महानगरको औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले सुलभ फार्मेसीमा आवश्यक पर्ने औषधीको प्रकार मात्राबारे अध्ययन गर्नेसँगै बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, महानगर मातहत भएका र अन्य फार्मेसीको सञ्चालन व्यवस्थापन गर्न गराउन उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । महानगरले एउटा केन्द्रीय फार्मेसी र अन्य विभिन्न पाँच स्थानमा फार्मेसी सञ्चालनको योजना पनि बनाएको छ ।
औषधि उत्पादकदेखि उपभोक्तासम्म पुग्दा सुपर थोक बिक्रेता, थोक बिक्रेता, खुद्रा बिक्रेताको कमिसनजस्ता कारणले चर्को मूल्य पर्न जाँदा आम नागरिक मर्कामा परेकाले सुलभ फार्मेसी सञ्चालन गर्न लागेको महानगरको भनाइ छ ।
टिप्पणीहरू