स्तन र पाठेघर क्यान्सर, महानगरमा निःशुल्क परीक्षण र उपचार

काठमाडौं महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचार गर्ने भएको छ । महानगरको स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालसँगको सहकार्यमा आगामी मंगलबारदेखि एक महिना उक्त सेवा सञ्चालन गर्न लागेको जनाएको छ ।
वैशाख १२ गतेसम्म सञ्चालन हुने उक्त परीक्षण तथा उपचारमा गत वर्ष छुटेका महिला र पोजेटिभ देखिएका महिलालाई प्राथमिकतामा राखिने छ । कार्यक्रम फोकल पर्सन चन्द्रा भट्टका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा विवरण टिपाउनुपर्छ ।
यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पतालको सर्जिकल भवनको भुईँ तलामा गएर जाँच्नुपर्छ । महानगरका अनुसार परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ ।
प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० वर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आएमा कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।
गत वर्ष महानगरले वडाहरुमा चलाएको निःशुल्क परीक्षणका क्रममा क्यान्सरसँगै धेरै महिलामा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या देखिएको थियो । प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने, पाठेघरको मुखको संक्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरु देखिएका थिए ।
टिप्पणीहरू