करिब करोडको चिनियाँ स्वास्थ्य उपकरण नेपाललाई

चीनले मीनभवनस्थित सिभिल हस्पिटललाई निकै महँगा स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वास्थ्य आयोगका भूतपूर्व उपमन्त्री छुई लिले ती उपकरण हस्तान्तरण गरेको चिनियाँ दूतावासले जनाएको छ । छुई सांघाई सहयोग संगठनअन्तर्गतको असल छिमेकी, मैत्री तथा सहयोग आयोगकी उपाध्यक्ष हुनुहुन्छ ।
राष्ट्रिय सभा उपाध्यक्ष विमला सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अस्पतालमा नेपाल–चाइना लाइफलाइन एक्सप्रेस सेन्टर अफ कोपरेसन स्थापनाको घोषणा गरिएको छ । उक्त सेन्टरले विशेषगरी अन्धोपना हुनबाट रोक्न विशेष कार्यक्रम सञ्चालन गर्नेछ । आज हस्तान्तरित झण्डै एक करोड रुपैयाँ बराबरका उपकरणहरु अधिकांश आँखा रोगको उपचारसँग सम्बन्धित छन् ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव मनाउँदै गर्दा भएको आजको स्वास्थ्य उपकरण हस्तान्तरणले दुई मुलुकबीच स्वास्थ्य क्षेत्रको सहयोगमा थप इँटा थप्ने विश्वास लिइएको छ । ती उपकरण उपलब्ध गराउने क्रममा सांघाई सहयोग संगठनअन्तर्गतको असल छिमेकी, मैत्री तथा सहयोग आयोग, चीनको अन्तर्राष्ट्रिय स्वास्थ्य आदानप्रदान केन्द्र र लाइफलाइन एक्सप्रेस फाउण्डेसन हङकङको विशेष योगदान रहेको बुझिएको छ ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत सरकारी अधिकारी तथा अस्पतालका पदाधिकारीहरुको उपस्थिति थियो ।
टिप्पणीहरू