राजावादीहरुलाई जोड्न सक्लान् त नवराजले ?

सोमबारको भीडले राजावादीहरुलाई एकै ठाउँमा जम्मा हुन प्रेरणा दिएको भन्दै पशुपतिसमशेर राणाको महाराजगन्जस्थित निवास (शिक्षण अस्पतालअगाडि विजय वास) मा पूर्व पन्चहरु भेला भएका छन् । हिजोको अनौपचारिक छलफलमा राष्ट्रिय पञ्चायतका अन्तिम अध्यक्ष नवराज सुवेदीलाई राजा र राजतन्त्रको वकालत गर्ने सबैलाई एकै ठाउँमा ल्याउन संयोजकको जिम्मा दिनेवारे सरसल्लाह भएको स्रोतले बतायो ।
‘राजावादीहरु सबैलाई एकै ठाउँमा ल्याउने तयारीस्वरुप हिजो अपर्झट उक्त जमघट भएको हो । राजेन्द्र लिंगदेन, कमल थापा,केशरबहादुर विष्ट,दुर्गा प्रसाईंलगायत सबैलाई एकै ठाउँमा ल्याउन नवराज सुवेदीलाई संयोजनको जिम्मा दिने पूर्व राजाको सोच बनेको बताइन्छ । महामन्त्री धवल समशेरको नेतृत्वमा बेग्लै आन्दोलन (प्रदर्शन) समिति बनाइसकेको राप्रपाले सुवेदीलाई पर्सिको भेटघाटबाट नेतृत्वमा स्वीकार्ने नस्वीकार्ने भने निधो छैन,’ राप्रपा उच्च स्रोतको दाबी छ ।
हिजोको छलफलमा डा.प्रकाशचन्द्र लोहनी,धवल समशेर राणालगायत देखा परे पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने अनुपस्थित रहेको बताइन्छ । राष्ट्रिय पञ्चायतका अन्तिम अध्यक्ष सुवेदी तत्कालीन राजा महेन्द्र र वीरेन्द्रले मन पराएका थोरैमध्येका एक हुन् ।
टिप्पणीहरू