सभामुख विदेश गएसङ्गै हिउँदे अधिवेशन अन्त्य

सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपियु) को सम्मेलनमा भाग लिन विदेश गएसङ्गै संसदको चालु हिउँदे अधिवेशन अन्त्य गरिने भएको छ । सभामुखसहित संसदका केही पदाधिकारी आइपियुको १५० औं सम्मेलनमा भाग लिन चैत २२ गते उज्बेकिस्तान जाने कार्यक्रम छ ।
सम्मेलन राजधानी तासकन्तमा चैत २३ देखि २७ गतेसम्म हुँदै छ । सभामुख लामो समय मुलुक बाहिर रहनुपर्ने भएकाले संघीय संसदको माघ १८ गतेदेखि चालु हिउँदे अधिवेशन अन्त्य गर्नेतर्फ सरकारले आवश्यक तयारी थालेको बताइन्छ ।
यसबीच ल्याइएका अध्यादेशका कारण अन्य विधेयकमाथि छलफल भएको छैन । यो वर्षको हिउँदे अधिवेशनमा प्रि–बजेट छलफल नहुने भएको छ । सरकारले अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने र प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गर्ने कार्यसूचीलाई अघि बढाउने बुझिएको छ ।
पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक चैत १८ गतेभित्र दुवै सभाले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण समेत गरिसक्नुपर्ने कानुनी बाध्यता छ । त्यसका लागि फास्ट ट्र्याक विधि अपनाइने सम्भावना छ ।
यसअघि चालु अधिवेशनबाट पारित गर्ने भनिएका निजामतीलगायत विधेयक कम्तीमा अर्को हिउँदे अधिवेशनसम्म धकेलिएको छ ।
टिप्पणीहरू