बालका नाममा काल निम्त्याइँदै

बालका नाममा काल निम्त्याइँदै
सुन्नुहोस्

बाँकेको डुडुवा गाउँपालिका ६, आसमानपुरस्थित जयन्दु बाल सुधारगृहमा हिजो भएको झडप र आगलागीमा तीन प्रहरीसहित ४२ जना घाइते भएका छन् । शुक्रबार राति साढे १ बजे सुधारगृहभित्र रहेका बालबन्दीहरुबीच झडप हुँदा  घाइतेलाई  राति साढे ३ बजे भेरी अस्पताल लगिएको थियो ।

झडपपछि दुई जना बालबन्दी नेपाल प्रहरीको मोटरसाइकल चढेर फरार भएका थिए । उनीहरुलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसपछि बिहान ११ बजे सशस्त्र प्रहरीको नम्बर ३० गणबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा आएका एक सय जनाको टोलीले सुधारगृहभित्र रहेका बालबन्दी गन्ने क्रममा सशस्त्र टोलीमाथि ढुंगामुढा प्रहार भएको बताइन्छ । ढुंगा लागेर एक जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।

त्यसपछि बालबन्दीहरुले चार तले भवनमा आगजनी गरेर छतबाट प्रहरीमाथि आक्रमण गरेका थिए । तीमध्ये १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुन्दरपुर गाउँमा रहेका पसलमा बालबन्दीहरुले लुटपाट गरेको स्थानीयको भनाइ छ ।

बालबन्दी सुधारगृह भनिएको ठाउँमा उमेर पुगेका युवासमेत राखेपछि पटक पटक यस्तो अवस्था आएको कर्मचारीहरु बताउँछन् । सुधारगृहमा झडप हुने संकेत पाएपछि त्यहाँका कर्मचारी केही दिन अघिदेखि कार्यालय जान छाडेका थिए ।

टिप्पणीहरू