सेवासुविधा कटौतीबारे हल्ला चलाउनेलाई प्रहरीले नछोड्ने

प्रहरीको औषधीपचार रकम कटौती हुन लागेको सूचना फैलाउनेमाथि नेपाल प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरी कर्मचारीहरुले प्राप्त गरिरहेको सेवा सुविधामा कुनै पनि कटौती नहुने प्रष्ट्याउँदै मुख्यालयले अफवाह फैलाउने जो कोहीलाई कानुनी दायरामा ल्याउन प्रतिबध्द रहेको जनाएको छ । त्यसैगरी, प्रहरी कर्मचारीको सेवासुविधा बढाउन विशेष पहल भइरहेको जानकारी दिइएको छ । मुख्यालयको प्रशासन विभागअन्तर्गत बजेट शाखाले बजेट सञ्चालन गर्ने सबै कार्यालयलाई पत्राचार गर्दै सेवासुविधा कटौती नहुने सूचना टाँस्न र तल्लो दर्जाका प्रहरी कर्मचारीलाई जानकारी गराउन निर्देशन दिएको छ ।
‘अन्य सरकारी कार्यालयले मातहतका कार्यालयहरुलाई नियमित रुपमा गर्ने परिपत्रलाई आधार मानी विभिन्न माध्यमहरुबाट औषधी उपचारबापतको रकम कट्टा हुँदैछ भन्ने भ्रामक सूचना तथा अफवाहमा कुनै पनि सत्यता नरहेको, नभएको र प्रहरी कर्मचारीहरुले प्राप्त गरिरहेको कुनै पनि सेवासुविधामा कटौती हुन नसक्ने तथा अझ थप सेवासुविधा प्राप्तिको लागि प्रहरी संगठनबाट विशेष पहल भइरहेको व्यहोरा सबैमा अनुरोध गरिएको छ’,पत्रमा उल्लेख छ ।
प्रहरी नियमावली, २०७१ बमोजिम प्रहरी कर्मचारीहरुले विभिन्न सेवासुविधा पाउँदै आएका छन् । सोमध्ये औषधीपचारको सुविधा कटौती हुन लागेको भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सूचनाहरु प्रकाशित भएका छन् । शाखाले गत माघ ८ र फागुन ९ गते मातहत सबै कार्यालयलाई पत्राचार गर्दै सेवासुविधा कटौती नहुने प्रष्ट पारेको थियो । पछिल्लोपटक गत फागुन २८ गते शाखाले सबै कार्यालयलाई पत्राचार गरेको हो ।
टिप्पणीहरू