संसदमा वेश्यालय र कोठीको चर्चा

सुन्नुहोस्

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सत्तारुढ दल नेपाली कांग्रेसका सांसद श्याम घिमिरेलाई ‘यौन व्यवसायमा घरबाट कसलाई लगाउनुहुन्छ ?’ भन्दै प्रश्न गरेकी छन् । 

पार्टीका प्रमुख सचेतकसमेत रहेका घिमिरेले हिजोको प्रतिनिधिसभामा यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटक भित्र्याउन सकिने बताएका थिए । सोही सन्दर्भमा सांसद राईले आज जवाफ मागेकी हुन् । ‘यौन व्यवसायलाई कानुनी मान्यता दिएर अर्थोपार्जन गर्न सकिन्छ भन्ने कुरा आपत्तिजनक छ’, उनले भनिन्, ‘सम्बन्धित माननीयजूले आफ्नो घरबाट चाहिँ कसलाई पठाउनुहुन्छ त्यो काममा ? पठाउने आँट छ ?’

घिमिरेको अभिव्यक्तिले अनुशासित र मर्यादित समाजलाई अराजक बनाउन प्रेरित गर्ने सांसद राईको अनुभव छ । सभामुखको ध्यानाकर्षण गर्दै उनले थपिन्, ‘मान्यज्यू उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गर्दछु ।’

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले पनि सचेतक घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले प्रश्न गरे, ‘अब हुँदा हुँदा सरकारले नै यौन व्यवसाय, वेश्यालय, कोठी चलाउने दिन आएको त होइन ?’
 

टिप्पणीहरू