एसईईमा जापानका २९, कारागारका ३५ जना परीक्षार्थी

भोलिदेखि शुरु हुन लागेको यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्रश्नपत्र छापेर जिल्लामा पठाइसकिइएको छ भने पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन् ।
जापानबाट २९ जना विद्यार्थीले एसईई परीक्षा दिन लागेका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलबाट परीक्षा दिने बोर्डले जनाएको छ ।
यस्तै, केन्द्रीय कारागार सुन्धारासहित विभिन्न कारागारबाट ३५ जनाले एसईई परीक्षा दिँदैछन् । यस पटक दुई हजार ८० वटा परीक्षा केन्द्र तोकिएको छ । ११ हजार २१७ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।
परीक्षामा समन्वयका लागि ७७ हजार आठ सय कर्मचारी र ३० हजार सुरक्षाकर्मी तैनाथ गरिने बोर्डले जनाएको छ । एसईईमा सबैभन्दा बढी विद्यार्थी काठमाडौंबाट ४० हजार हाराहारी र सबैभन्दा कम मनाङबाट ४३ जना सहमागी हुने बताइएको छ ।
डेढ सय परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष, २० जना विद्यार्थी बराबर एक जना निरीक्षक र ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने नियम छ ।
चैत १९ गते सम्पन्न हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदै छ ।
टिप्पणीहरू