अधुरा काम पूरा गर्न प्रचण्डसँग भेट्न खोजिएको प्रधानमन्त्रीको स्पष्टोक्ति

अधुरा काम पूरा गर्न प्रचण्डसँग भेट्न खोजिएको प्रधानमन्त्रीको स्पष्टोक्ति
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न चाहेपनि सफल नभएको बताउनुभएको छ । 

शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउने विषयमा छलफल गर्न प्रचण्डसँग सम्पर्क स्थापितका लागि निरन्तर प्रयास गरे पनि सफल नभएको उहाँले आज अवगत गराउनुभएको हो । शान्ति प्रक्रियाका अधुरा काम निष्कर्षमा पुर्याउन प्रतिपक्षी दलका नेतासँग संवाद आवश्यक रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुङ्ग्याउन सरकार प्रतिवद्ध छ’, प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसमा अहिले पनि म प्रयासरत छु । मैले विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न पटक–पटक प्रयास गरेको छु, तर उहाँको स्वास्थ्य अवस्थाका कारण सम्पर्क हुन नसकेको जानकारी पाएको छु ।’

प्रधानमन्त्रीले प्रचण्डसँग सम्पर्क स्थापित हुनेबित्तिकै शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कामहरू अगाडि बढाइने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले शान्ति प्रक्रियाबारे सहमति जुटाउन प्रचण्डको साथ खोजेको बताए पनि यथार्थ भने अर्कै रहेको बताइन्छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान र गणतन्त्रमाथि नै चुनौती दिनेगरी गतिविधि अघि बढाएको सन्दर्भमा गणतन्त्र पक्षधर शक्तिलाई एकगठ गर्न प्रधानमन्त्री अग्रसर भएको र खुमलटारसँग सम्पर्कको प्रयास गरेको स्रोतको दाबी छ । अघिल्लो हप्ता प्रधानमन्त्रीको दूत बनेर एकजना एमाले नेता खुमलटार पुगेको चर्चा थियो । 

केही दिनअघि प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता हुने भनिएको थियो । तर, सोही दिन प्रचण्ड गृहजिल्ला चितवनतिर लागेपछि दुई नेताको मात्र भेट भयो । माओवादी स्रोतका अनुसार यसबीच अध्यक्ष प्रचण्डले देउवासँग फोनवार्ता गरेपनि ओलीसँग भने सम्पर्क भएको छैन । 

यता, काठमाडौँमा राजावादीहरुको सक्रियता बढेपछि तराई–मधेश जागरण अभियान स्थगित गरेर काठमाडौँ फर्कनुभएका प्रचण्डले हिजोदेखि पुनः अभियान थाल्नु भएको छ ।
 

टिप्पणीहरू