भूतपूर्व सैनिक सम्मेलनको सिजन शुरु

भूतपूर्व सैनिक सम्मेलनको सिजन शुरु

यो वर्षको भूपू सैनिक सम्मेलन सुदूरपश्चिम पृतना मुख्यालय कैलालीबाट शुरु भएको छ । ‘भूतपूर्व सैनिक सम्मेलनको प्रणः पुनर्मिलन, हिताधिकरीको कल्याण र कोषको दिगोपन’ नाराका साथ गोदावरी ब्यारेकमा शुरु भएको सम्मेलनको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरेका हुन् । 

सम्मेलनमा कैलाली र कञ्चनपुरमा बसोबास गर्ने दुई हजार नौ सय २५ भूपू सैनिक सहभागी भएको बताइन्छ । आजै सुदूरपश्चिम पृतनाअन्तर्गत डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा र दार्चुलामासमेत सम्मेलन आयोजना गरिएको छ । उक्त सम्मेलनमा नौ सय आठ भूपू सैनिकको सहभागिता रहेको जानकारी दिइएको छ ।

सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक तथा एकल महिलालाई सम्मान गरिएको छ । केहीलाई ह्विलचियर÷बैशाखी प्रदान गरिएको छ भने लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान प्रदान गरिएको छ । 

भोलि उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतसँगै नेपालगञ्ज, दैलेख, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्लामा भूपू सैनिक सम्मेलन हुँदै छ । सेनाले वि.सं. २०७० मा सैनिक कल्याणकारी बोर्ड स्थापनापछि यस्तो सम्मेलन गर्दै आएको छ । 

सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य, शिक्षालगायतका सेवा प्राप्त गर्ने हिताधिकारीको संख्या १० लाखभन्दा बढी छ । हरेक प्रधानसेनापतिले आफ्नो कार्यकालमा कम्तीमा एक पटक सबै प्रदेशमा यस्तो सम्मेलन गर्ने प्रचलन बनाइएको छ ।
 

टिप्पणीहरू