पीडितलाई किन यतिसम्म पेलान ?

जो पीडित छ, उसैमाथि किन बारम्बार प्रहार गरिन्छ ? आफ्नो जीवनसाथीबाट चरम मानसिक र शारीरिक यातना भोगिरहेकी मलाई थप पीडा दिने काम भइरहेको छ । लमजुङको चण्डीस्थान निवासी विष्णुबहादुर बस्नेतसँग मेरो २०७३ सालमा विवाह भयो । उनी सेनामा कार्यरत थिए । मसँग विवाह गर्दा उनको घरको अवस्था दयनीय थियो ।
विवाह भएको एक वर्षपछि उनलाई ‘डिभी’ पर्यो । घरमा श्रीमती हुँदाहुँदै पोखरा निवासी जमुना गर्बुजासँग विवाह गरे । परिवारलाई केही जानकारी नगराई उनीहरु अमेरिका गए । उता गएको केही समयमै उनले जमुनासँग सम्बन्धविच्छेद गरे । अर्की युवतीसँग ‘लिभिङ टुगेदर’ मा बस्थें ।
उनले यता भएको परिवारलाई भुसुक्कै बिर्सिए । घरमा पैसा पठाउँदैनथें, बरु रमाइलो गरेर पैसा उडाउथें । बेसीशहरमा रहेको सम्पत्ति पनि उनले एनआईसी एसिया बैंकमा रोक्का राखेर पैसा अमेरिका लगेको देखिन्छ । आफू बिरामी भएको बहाना बनाउँदै उनी रुँदै घरमा फोन गर्थें । हामीले उनलाई कैयौंपटक पैसा पठाएका छौं । बैंकबाट ऋण लिँदै उनलाई अमेरिका पैसा पठाउँदै गरियो ।
पछि बुझ्दै जाँदा उनी क्यासिनो जान थालेको पोल खुल्यो । अमेरिकामा भएका साथीहरुका अनुसार उनी जुवातासमा लिप्त छन् । एक रातमै ५४–५५ लाख रुपैयाँसम्म हार्ने साथीहरु बताउँछन् । युवतीहरु लिएर हिँड्ने उनले नेपाली महिलाहरुलाई ‘ग्रीनकार्ड’ बनाइदिन्छु भन्दै ठगेको पाइएको छ ।
पैसा लिएर उनी सम्पर्कविहिन भएको जानकारी आएको छ । सात वर्षसम्म अमेरिका बसेका उनले नेपालमा लागेको ऋण तिर्न आलटाल गरिरहेका छन् । बैंकको किस्ता तिर्न गाह्रो भएपछि उनले यहाँ भएको घर बेच्न आमालाई फकाई रहेका थिए । उनको नियत बुझेरै मैले अदालतमा सम्पत्ति रोक्काको निवेदन दिएकी हुँ ।
सम्पत्ति रोक्का राखेको केही दिनमै उनी नेपाल आएका थिए । सोही निहुँमा उनले अपशब्दको प्रयोग गरेर गालीगलौज गरे । बेलुकीको खाना खाएर सुत्ने क्रममा उनले ममाथि जबरजस्ती करणीको प्रयास गरे । मसँग भएको गरगहना पनि खोस्न खोजे । म रुँदै दिदीको घरमा गए । तर, उनले त्यहाँ आएर पनि त्यस्तै हर्कत देखाए । मैले प्रहरीमा उजुरी दिएपछि उनी रातारात भागेर अमेरिका पुगे ।
अहिलेपनि उनले मलाई मानसिक दबाब दिइरहेका छन् । जिल्लाका पत्रकारहरुलाई समाचार लेख्न लगाएर मेरो चरित्रहत्या गरिरहेका छन् । मैले उनको अवैध विवाह दर्ताबारे जानकारी गराउँदै काठमाडौंस्थित अमेरिकी दूतावासमा निवेदन दिएकी छु । अमेरिकामा भएका निकायहरुमा पनि ईमेलमार्फत पत्र पठाएकी छु । अमेरिकामा यस विषयमा अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ ।
- सिर्जना भण्डारी
टिप्पणीहरू