भोलि तोकिएको स्ववियु चुनाव रोकियो

चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । यसअघि भोलिका लागि दोस्रो पटक निर्वाचन कार्यतालिका प्रकाशन गरिएकोमा सहमति नजुटेपछि पुनः स्थगित भएको बताइन्छ ।
विद्यार्थी संघसंगठनका प्रतिनिधिसँग छलफल गरेपनि सहमति जुट्न नसकेपछि निर्वाचन स्थगन गर्नुपरेको निर्वाचन समितिका संयोजक देवीप्रसाद पौडेलले जानकारी दिए । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बैठकमा सहमति जुट्न नसकेपछि मौजुदा स्थितिमा निर्वाचन प्रक्रिया अगाडि बढाउन कठिन भएका कारण स्थिति सहज नभएसम्मका लागि निर्वाचन स्थगन भएको व्यहोरा जानकारी गराउँदछौं ।’
चैत ५ गते चुनाव हुन नसकेपछि अनेरास्ववियुले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालय, प्रशासनिक भवन र नौविघा परिसरमा लगाएको ताल्चा कायम छ । तालाबन्दीपछि पटकपटक संवादको प्रयास भएपनि सार्थक हुन सकेको छैन ।
टिप्पणीहरू