मासुमा टाँचा छैन, कानुनको ढाँचा मात्रै अनेक

पछिल्लो समय भारतका विभिन्न राज्यमा बर्डफ्लु फैलिँदै गएको र कोशी प्रदेशमा पनि बर्डफ्लु संक्रमण पुष्टि भइसकेको सन्दर्भमा पोल्ट्रीको राजधानी मानिने चितवनमा पनि कुखुरा मर्न थालेको सुन्नमा आएको छ । बर्डफ्लु संक्रमण हुँदा खोरमा पालिएका ९० देखि सतप्रतिशत कुखुरा–हाँस–टर्की लगायतका पक्षी मर्छन् । यो रोेग जुनाेटिक भएकाले संक्रमित पक्षीबाट मान्छेमा पनि सर्दछ । बर्डफ्लु भाइरसको संक्रमणबाट मान्छेको समेत मृत्यु भएको पाइएको छ । हालै पूर्वी चितवनको कुनै ठाउँमा कुखुरा सोत्तर भएको घटना सामसुम पारिएको सुनिन्छ । घटना लुकाउन परीक्षण नगरी पक्षीहरू त्यसै नष्ट गरिँदा बर्डफ्लुको पुष्टि भने हुन पाएन ।
हल्ला त जसले जे पनि गर्छन् भन्दै नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यालय प्रमुख शिवप्रसाद बरालले चितवनमा अहिले बर्डफ्लु संक्रमण भएर कुखुरा मरेको रिपोर्टिङ कार्यालयलाई नभएको बताए । ‘बर्डफ्लुको संक्रमण पुष्टि भएमा बजार मूल्य अनुसार मरेका कुखुराको किसानले क्षतिपूर्ति पाइहाल्छन् । लुकाउनुपर्ने जरुरी के भयो र ?’ उनले भने । तर व्यवसायीको आफ्नो प्रतिष्ठाको लागि पनि घटना सामसुम पारिएको हुनसक्ने एकथरीको तर्क छ ।
यसबारे पूर्वीचितवनको विभिन्न पालिकाका पशु चिकित्सक, मेयरदेखि लिएर प्रमुख जिल्ला अधिकारीले समेत अनभिज्ञता प्रकट गरेका छन् । पशु सेवा कार्यालय चितवनका प्रमुख सुशील केसीले पनि चितवनमा अहिले बर्डफ्लु संक्रमणको जानकारी नआएको बताउँदै गर्दा राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठले भने पूर्वीचितवनको राप्तीमा एक महिनाअघि कुनै ठाउँमा कुखुराहरू सोत्तर भएको पुष्टि गरे । तर बर्डफ्लुले नभई रानीखेत भाइरसले राप्तीका केही खोरमा हजारौं कुखुरा सखाप पारेको उनले बताए ।
‘भ्याक्सिन लगाउन छुटेको रहेछ’, वरिष्ठ पशु चिकित्सक श्रेष्ठले भने, ‘रानीखेत भन्ने रोग बर्डफ्लुभन्दा पनि चर्काे, कुखुराको लागि सबैभन्दा ठूलो महामारी हो । मान्छेमा सर्दैन तर यो रोग लागेपछि कुखुरा लगभग बाँच्दैनन्, सतप्रतिशत नै मर्छन् ।’ चितवनका केही फार्म र लोकल कुखुराहरूमा पनि २–३ ठाउँ रानीखेत रोग भेटिइसकेको जानकारी उनले गराए । ‘यो भाइरस संक्रमित फार्मबाट नजिकका अरु फार्ममा पनि सजिलै फैलिन सक्छ’, उनले भने, ‘तर त्यति ठूलो चिन्ताको विषय होइन । भ्याक्सिन लगायो भने सजिलै लड्न सकिन्छ । भ्याक्सिन सस्तो र सर्वसुलभ पनि छ । समयमै भ्याक्सिन लगायो भने डराउनुपर्दैन ।’
अर्कोतिर, अहिले बर्डफ्लुको जोखिम पनि भएको हुँदा किसानहरूले आफ्नो फार्मको जैविक सुरक्षालाई यतिखेर एकदम कडा गर्न आवश्यक देखिएको पशु चिकित्सक बताउँछन् । चितवनको कुखुरापालनमा अहिले एचनाइनको संक्रमण पनि देखिइरहेको पक्षी रोग अन्वेषण प्रयोगशालाले जनाएको छ ।
एचफाइभमा गनिने बर्डफ्लुको भाइरस नेपालमा बसाइँ सरी आउने कतिपय प्रवासी चराहरूको शरीरमै हुन्छ भनी विज्ञ बताउँछन् । त्यसले उनीहरूलाई चाहिँ केही नोक्सानी हुँदैन तर उनीहरूको दिसाबाट समेत यताका अरु पन्छीमा संक्रमण फैलिएर मृत्यु हुने गरेको पाइएको छ । त्यसैले कुखुराको खोर वरपर ठुल्ठूला रुख नराख्नु, सकेसम्म बाहिरका चराहरू खोरछेउ आउन नदिनु भन्ने गरिन्छ । पक्षीलाई मात्र नभएर गाईलाई पनि बर्डफ्लु संक्रमण देखिइसकेको छ । मान्छेमा पनि सर्ने हुँदा यो भाइरस विकराल छ । मासु काट्ने तथा मासुसँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिलाई बर्डफ्लु सर्नसक्ने ठूलो जोखिम रहन्छ । संक्रमित स्थानबाट गुज्रेका जुत्ता र सवारी साधनबाट समेत बर्डफ्लु भाइरस अन्यत्र फैलिने गरेको पाइन्छ । क्वारेन्टाइन छलेर कुखुरा, हाँस, अण्डाहरू अहिले पनि भारतबाट भित्रिँदै आएको नेपाली व्यवसायीहरूको गुनासो छ । प्रतिबन्धित सेतो अण्डासमेत मधेसतिरबाट आइरहेको सुनिन्छ ।
यो बेला खोरहरूमा आवतजावत् कम गर्न, दाना, अण्डा, क्रेट, गाडीहरू डिस्इन्फेक्ट गर्न अत्यावश्यक देखिएको पशु सेवा कार्यालयका अधिकारीहरू सुझाउँछन् । मान्छेलाई झैं पशुपक्षीलाई पनि भित्र–बाहिर, देखिने–नदेखिने गरी अनेक रोग लाग्ने गर्छन् तर जति पनि पशुपक्षीहरू मासुका लागि पालिँदै, काटिँदै आएको छ, ती सबै स्वस्थ छन् त ? मासुको गुणस्तर के छ ? हामी अञ्जान छौं । व्यापारीले किसानको खोरबाट सीधै उठाएर ल्याउँछन्, पसलमा काटकुट पार्छन्, बेच्नेले बेच्यो, खानेले खायो, यस्तै नै चलिरा’छ नेपालमा ।
न त काट्नुअघि पशुपक्षीको स्वास्थ्य परीक्षण भइरहेको छ, न काटिसकेपछि मासुको जाँच ! हामीकहाँ कानुन भएर पनि कार्यान्वयन नभइरहेको हो । मासु जाँच सम्बन्धी ऐन बनेको राजा वीरेन्द्रकै पालामा हो । पशु बधशाला र मासु जाँच ऐन २०५५ मा बन्यो । त्यसपछि पशु बधशाला र मासु जाँच नियमावली, २०५७ अनि पशु वधशाला तथा मासु जाँच प्राविधिक निर्देशिका, २०६४ पनि आएको छ ।
ऐन, नियममा वधशालामा मात्रै पशुको वध गर्न पाइने, वध गर्नुभन्दा अघि मासु निरीक्षकबाट स्वास्थ्य परीक्षण (एन्टीमोर्टम एक्जामिनेशन) गर्नुपर्ने र काटिसकेपछि पनि मासु परीक्षण (पोष्टमार्टम एक्जामिनेशन) गर्नुपर्ने अनिवार्य व्यवस्था छ । नियमावलीको नियम १५ मा वध गरिएको पशुको मासु जाँच गरिसकेपछि मासु निरीक्षकबाट गुणस्तर प्रमाणित मासुमा छाप वा चिह्न लगाइएको हुनुपर्ने समेत उल्लेख छ । मासु निरीक्षकबाट टाँचा लगाइएको मासुमात्र बिक्रीवितरण गर्न पाइने कानुनी व्यवस्था कागजमै सीमित भइदिँदा उपभोक्ताको स्वास्थ्य धरापमा छ । मासु पसल सञ्चालनका लागि समेत मासु निरीक्षकबाट स्थलगत निरीक्षण गरेपछिमात्रै इजाजत दिइने व्यवस्था कानुनमा छ ।
पशु र मासुको अनुगमन, स्वास्थ्य परीक्षण तथा गुणस्तर जाँच गर्ने काम पशु सेवा कार्यालयको भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको भनाइ छ । तर पशु सेवा कार्यालयमै मासु निरीक्षकको व्यवस्था नभएको बुझियो । पशु सेवा कार्यालय चितवनकी सूचना अधिकारी पशु विकास अधिकृत डा. सबिना मिश्र ‘मिट इन्स्पेक्टर’को पद सिर्जना गरी बजारमा बिक्रीवितरण भइरहेका मासुको गुणस्तर परीक्षण गर्न आवश्यक विषय भएको बताउँछिन् । ‘हामीलाई लोकसेवामा जहिल्यै मासु जाँच ऐन किन लागू हुन सकेन ? भनेर सधैं सोधिरहने प्रश्न हो’ उनले भनिन्, ‘मासुमा काट्नेबित्तिकै व्याक्टेरियल कन्ट्यामिनेसन (प्रदूषण) बढ्दै जान्छ ।’
अहिले बजार अनुगमन र नियमन गर्ने अधिकार स्थानीय सरकारलाई नै छ । तर पशु र मासु जाँचको त के कुरा, नेपालमै पहिलोपटक हेटौंडामा स्थापित वधशालासमेत पसलेहरूले बहिष्कार गर्दै, खुँडा–खुकुरी लिएर एकथरी जमात विरोधमा उत्रिएपछि सञ्चालनमा आउन सकेन भन्ने छ ।
टिप्पणीहरू