छात्रावाससहित प्लसटुसम्मै सित्तैमा शिक्षा !

नेपालको संविधानले निःशुल्क शिक्षाको ग्यारेन्टी गरेको भएपनि सरकारी विद्यालयहरुमै अभिभावक सहयोग लगायत विभिन्न नाममा शुल्क लिने गरेको पाइन्छ । चितवनको राप्तीमा भने यस्तो कुनै पनि शुल्क लिने नगरेको नगरपालिका कार्यालयले बताएको छ ।
नगर प्रमुख शमशेर लामाले भने, ‘संविधानले ग्यारेन्टी गरेको निःशुल्क शिक्षाको मापदण्डअनुसार राप्ती नगरपालिकाका ४९ वटा सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षा लागू गरेका छौं । दुई वर्ष भयो । यो राप्ती नगरपालिकाको ठूलो उपलब्धि हो ।’
बालविकासदेखि प्लस टुसम्म नै सित्तैमा गरिएको नगरपालिकाको शिक्षा शाखाले जानकारी गराएको छ । वीरेन्द्र आदर्श माविमा साइन्स पढाइन्छ, साइन्स पढ्न पनि पैसा नलाग्ने नगर प्रमुखले बताए ।
निःशुल्क शिक्षाका लागि नगरपालिका कार्यालयको तर्फबाट ठूलै लगानी गरिएको छ । यो वर्ष शिक्षाको कुल बजेट चार करोड ५० लाख रहेकोमा शिक्षामा मात्रै एक करोड ८० लाख रुपैयाँ विनियोजन भएको शिक्षा शाखा प्रमुख रविना देउजाले बताइन् । ‘गत वर्ष दुई करोड ४० लाख रुपैयाँ निःशुल्क शिक्षाको लागि छुट्याइएको थियो’, उनले भनिन्, ‘यो वर्ष दिवा खाजाको लागि भनेर ५० लाख रुपैयाँ छुट्याइएको छ ।’
विकट पहाडी भेगका विद्यालयमा कक्षा १० सम्मकै विद्यार्थीलाई खाजा दिइएको नगर शिक्षा शाखाले जानकारी गरायो । वडा नं. १०, ११, १२ र १३ मा कक्षा १० सम्मलाई नै दिवाखाजाको व्यवस्था गरिएको र अरु वडाहरुमा पनि संघीय सरकारले पाँच कक्षा सम्ममात्रै दिवा खाजा दिँदै आएकोमा नगरपालिकाको तर्फबाट कक्षा ६ का विद्यार्थीलाई पनि खाजा उपलब्ध गराइँदै आएको शिक्षा अधिकृत देउजा बताउँछिन् ।
संघले कक्षा पाँचसम्मका विद्यार्थीलाई १५ रुपैयाँका दरले दिवाखाजा दिँदै आएकोमा नगरपालिकाले पाँच रुपैयाँ थपेर सबैलाई २० को खाजा खान दिइरहेको जनाइएको छ । छात्रावाससमेत सञ्चालन गरी शिक्षामा जोड दिइएको छ । धेरैजसो विपन्न चेपाङ समुदाय र तामाङ जातिको बसोबास रहेको माथिल्लो भेगमा ३–४ घन्टा हिँडेर विद्यालय पुग्नुपर्ने ठाउँ पनि छन् । कान्दा, स्वामीटार, एउरालीटार, थाकलटार र महादेवटारमा छात्रावास सञ्चालन भइरहेको नगरप्रमुखले जानकारी गराए ।
छात्रावासको लागि नगरपालिकाले वार्षिक रुपमा डेढ–डेढ लाख रुपैयाँ दिने गरेको पनि शिक्षा अधिकृतले बताइन् ।
‘छात्रावासमा बस्ने विद्यार्थीहरुले बिहान बेलुकी खाना र दिउँसो खाजा पनि पाउँछन् । टिचरहरु पनि यहीँ बस्ने हुँदा ट्युसन, कोचिङ पनि हुने भो । खानामै समस्या भएका, स्कूल गएपछि खाजा खान पाइन्छ भन्ने अवस्थाका बालबालिका पनि छन् । त्यसले गर्दा पनि पढ्न त आए नि त !’, नगरपालिकाका सूचना अधिकारी सुरेश न्यौपानेले भने ।
राप्ती–१२ स्थित एउरालीटारको गणेश माविमा रहेको छात्रावासमा १२२ जना विद्यार्थी रहँदै आएकोमा अहिले एसईईका ११ जना विद्यार्थी घटेर छात्रावासमा नियमित रहने विद्यार्थी १११ जना रहेको उक्त विद्यालयका प्रधानाध्यापक रामकृष्ण प्रजाले जानकारी दिएका छन् । विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्या भने ३७५ रहेको उनले बताए ।
वडा नं. ११ थाकलटारमा रहेको थाकलटार माविमा सञ्चालित होस्टेलमा कक्षा ४ देखि १२ सम्मकै विद्यार्थीहरु अध्ययन गरिरहेको प्रधानाध्यापक सुनबहादुर मुक्तान बताउँछन् । हिमालयन लाइफ संस्थाको सहयोगमा चलिरहेको छात्रावासमा सय जनाको कोटा भएपनि अहिले ८९ जना विद्यार्थी रहेको जानकारी दिँदै उनले भने, ‘त्यसमा सात जना जति कक्षा १२ मा पढ्ने छन् ।’
थाकलटार माविमा कुल ५६३ जना विद्यार्थी अध्ययनरत रहेको प्रध्यानाध्यापकले बताएका छन् । वडा नं. १३, कान्दामा रहेको कान्देश्वरी आधारभूत विद्यालय (१–८) मा सञ्चालित छात्रावासमा यसअघि १४० जना विद्यार्थीहरु रहँदै आएकोमा बिरामी लगायत विविध कारण पाँचजना अनुपस्थित हुँदा अहिले नियमित १३५ जना विद्यार्थीहरु बसेर अध्ययन गरिरहेको प्रधानाध्यापक बालकृष्ण थपलिया बताउँछन् । यहाँ १२–१३ जना शिक्षक–कर्मचारी पनि होस्टेलमै बस्ने गरेको उनले बताए ।
विद्यालय पढ्ने कुल विद्यार्थी १५५ जना रहेको बताइन्छ । २०७२ सालको भूकम्पपछि लक्ष्मी प्रतिष्ठानको सहयोगमा यहाँ विद्यार्थीहरुलाई आवासीय रुपमा पढाउन थालिएको प्रधानाध्यापकले जानकारी दिए ।
‘पहिल्यैदेखि सञ्चालन हुँदै आएका होस्टेलहरुमा पनि मेयर शमशेर लामा आइसकेपछि एक रुपैयाँ नलिनू, के मा पर्छ पैसा, बरु हामी दिन्छौं भनेर उहाँले सहयोग गर्नुभएको हो’ उनले थपे, ‘पहिला पहिला विद्यार्थीहरुलाई जाँच फि भनेर उठाइन्थ्यो, मासिक शुल्क भनेर उठाइन्थ्यो, कम्प्युटर भनेर उठाइन्थ्यो । अहिले विद्यार्थीहरुले एक रुपैयाँ पनि तिर्नुपर्दैन, कहीँपनि राप्ती नगरपालिकाभरि ।’
वडा नं. १० स्थित स्वामीटार राष्ट्रिय माविमा कक्षा ६–९ सम्मका विद्यार्थीहरुलाई छात्रावासमा राखिँदै आएको जानकारी दिइएको छ । माघ, फागुन र चैतमा एसईईको तयारीको लागि कक्षा १० का विद्यार्थीहरुलाई पनि छात्रावासमा बस्ने व्यवस्था गरिएको प्रधानाध्याक आशमान तामाङ बताउँछन् ।
अहिले ६५ यहाँ जना विद्यार्थीहरु छात्रावासमा रहेको र त्यसमा कक्षा ४ र ५ का पनि दुईजना विद्यार्थी भएको उनले बताए । स्वामीटारमा गत असोजदेखि छात्रावास सञ्चालनमा आएको बताइएको छ । यहाँको छात्रावासमा पनि हिमालयन लाइफ संस्थाको सहयोग रहेको प्रधानाध्यापकले बताए ।
वडा नं. १ मा अवस्थित राष्ट्रिय मावि महादेवटारमा अहिले ११ जना विद्यार्थी होस्टेलमा अध्ययनरत रहेको प्रधानाध्यापक हरिप्रसाद उप्रेतीले बताएका छन् । विद्यालयबाट आठ किमि माथि रहेको परेवाकोटका विद्यार्थीहरुलाई ल्याएर आवासीय सुविधासहित अध्यापन गराइरहेको उनले बताए ।
विगत चार वर्षदेखि आफूहरुले नै पैसा उठाएर, सहयोग जुटाएर छात्रावास सञ्चालन गर्दै आएको प्रधानाध्यापक बताउँछन् । उनी भन्छन्, ‘म पनि यही विद्यालयमा पढ्या । यही हो मेरो पहिलो पाठशाला । १ देखि ३ सम्म मैले पढेको यहीँ हो । यहीँ अहिले ३६ वर्ष भयो मेरो सेवा पनि । अब ६ महिनामा अनिवार्य अवकाश हुँदैछु ।’
मेयर शमशेर लामा आएपछि बल्लतल्ल गतवर्षदेखि नगरपालिकाबाट छात्रावासका लागि सहयोग हुन थालेको आएको उनले बताए । ५३ वर्ष पुरानो यो विद्यालयमा अहिले ९०५ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउँदै कक्षाकोठा नभएर धेरै विद्यार्थी (लगभग ४०० जना विद्यार्थी) लाई भर्ना गर्न नसकिएकोसमेत हेडमास्टरले बताएका छन् ।
‘झ्यालढोका नभएको ठाउँमा विद्यार्थी राखेर पढाइराछु मैले त’ उनले भने । विद्यालयमा चारवटा कक्षाकोठा आवश्यक भएकोमा अहिले दुईकोठे भवन को लागि नगरपालिकासँग सहयोग मागिरहेको पनि उनले बताए ।
राप्ती नगरपालिकाले वडा नं. ७ स्थित जनआदर्श बहुमुखी क्याम्पसमा ब्याचलर र मास्टर्स पढाउन समेत प्रयत्न थालेको बताएको छ । व्यवस्थापन समितिले हामीले चलाउन सकेनौं भनेर नगरपालिकालाई क्याम्पस हस्तान्तरण गरी जिम्मा लगाएको नगर प्रमुखले बताएका छन् ।
स्थानीय सरकारले १२ कक्षासम्ममात्रै चलाउन पाउने प्रावधान छ । टियुमा समन्वय गरेर एउटा विधान बनाएपछि गरीब, विपन्नका छोराछोरीले यहीँबाट न्यूनतम शुल्कमा ब्याचलर र मास्टर डिग्री पढ्न पाउनेगरी तयारी भइरहेको भन्दै यसका लागि आवश्यक बजेटको व्यवस्थापनसमेत भइसकेको जानकारी मेयरले दिए ।
टिप्पणीहरू