यो क्रुर हत्याकाण्डमा झारा नटार है पत्रकार महासंघ !

अन्तिम राजा ज्ञानेन्द्र शाहलाई गध्दीमा फर्काउने भन्दै गत शुक्रबार सडकमा उत्रिएका राजावादीहरुले उपद्रो मच्चाए । नवराजावादी दुर्गा प्रसाई र रविन्द्र मिश्रहरुले अगुवाई गरेको प्रदर्शन भड्किएर हिंसामा परिणत हुँदा अराजकताले सीमा नाघ्यो । व्यक्तिका घर,सञ्चार गृह,पार्टी कार्यालय,सरकारी भवन र सवारी साधनमा तोडफोड तथा आगजनी गरेका राजावादीहरुले कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गरे ।
हिंसात्मक प्रदर्शनबाट दुई निहत्था नागरिकको ज्यान गयो । जिउँदो मान्छेलाई मन्त्रीले रौतहटको इँट्टा भट्टामा हालेर मारेको पुरानो घटनालाई समेत बिर्साउने गरी एकजना सञ्चारकर्मीको आगोमा जलेर दु:खद निधन भयो । राजावादी उध्दण्ड भीडले निजी भवनमा झोसेको आगोमा परी आन्दोलनको रिपोर्टिङ्ग गरिरहेका पत्रकारले ज्यान गुमाउनु परेको हो ।
ड्युटीमै अस्ताएका पत्रकार हुन्, सुरेश रजक । एभिन्युज टेलिभिजनमा कार्यरत उनी शुक्रबार बिहानै रिपोर्टिङका लागि तीनकुने पुगेका थिए । जब आन्दोलन भड्किएर हिंसामा परिणत भयो,त्यसको फोटो र भिडियो खिच्न एउटा भवनको छतमा उक्लिएका उनी राजावादीहरुले च्यानल गेटमा ताला ठोकी तलबाट आगो लगाएपछि त्यहीँ जलेर खरानी भए । एकजना कर्मशील सञ्चारकर्मी कहिल्यै नफर्किनेगरी सदाको लागि बिदा भए ।
एउटा विज्ञप्ति फाल्दिएर मात्रै दायित्व पूरा गरेको ठहरिंदैन । त्यसैले राज्यसँग उधारो सम्झौता गरेर शव बुझ्न नमानेका परिवारलाई जवर्जस्ती नगरियोस् ।
स्मरणीय छ,एभिन्युज टेलिभिजन त्यो संस्था हो, जसमाथि राजावादी आन्दोलनलाई सघाएको आरोप छ । किनभने आन्दोलनको ठीक अघिल्लो दिन उक्त टिभीका मालिक भाष्करराज राजकर्णिकारको अगुवाइमा समाजका 'प्रवुध्द' भनिएका केही व्यक्तिले राजसंस्था पुनर्स्थापनाको पक्षमा संयुक्त वक्तव्य निकालेका थिए । भास्करराजसहित ३२ जनाले राजसंस्थालाई बाहिर आउन दिनुपर्ने आशयको विज्ञप्ति एभिन्युजमै बसेर जारी गरेको भनिएको छ ।
जे होस्, शुक्रबारको प्रदर्शनलाई एभिन्युजले विशेष महत्व दिएको थियो भन्नेमा त दुइमत नै रहेन, सायद ! त्याहाँका रिपोर्टरहरु दबाबमा पनि थिए । र, रजक ज्यानको बाजी लगाएर फुटेज खिच्न बाध्य भए । जुन संस्थाका मालिकले राजावादी आन्दोलनको पक्षमा विज्ञप्ति निकाले,त्यही आन्दोलनले पत्रकार सुरेशको ज्यान लियो ।
त्यसैले उनको न्यायका लागि बुलन्द आवाज उठ्नेमा कतिपयले आशंका गरिरहेका छन् । यस्तोमा पत्रकारहरुको अविभावकीय संस्था नेपाल पत्रकार महासंघलगायत सरोकारवाला संघ,संगठनहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने हुन्छ । माइतीघरमा भेला भई औपचारिक विरोध प्रदर्शन गरेर मात्र दायित्व पूरा हुँदैन । अत: मृतकलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिलाउन दबाबमूलक कदम चाल्न ढिलो भैसकेको छ ।
पत्रकारमाथि भएका अन्यायका सवालमा एउटा विज्ञप्ति निकालेर उम्किने गरेको आरोप लागिरहँदा यो घटनामा पीडितलाई न्याय दिलाउन सकेमात्र महासंघको प्रभावकारिता रहन्छ । त्यसका लागि कार्य क्षेत्रमा खटिएका पत्रकार मारिएको यो घटनाको संवेदनशीलता कति छ भन्ने कुराको बोध सरकार र सम्बन्धित पक्षलाई गराउन सक्नुपर्छ ।
औपचारिक कार्यक्रम र एउटा विज्ञप्ति फाल्दिएर मात्रै दायित्व पूरा गरेको ठहरिंदैन । त्यसैले राज्यसँग उधारो सम्झौता गरेर शव बुझ्न नमानेका परिवारलाई जवर्जस्ती नगरियोस् ।
अर्को कुरा,दैनिक ज्याला-मजदुरी गर्नेले समेत महिनाको ५० हजार सजिलै कमाउँछ,तर फ्रन्ट लाइनमा खटिने पत्रकारले तोकिएको तलबसमेत नपाउने अवस्था विद्यमान छ । बितेर गएका पत्रकार श्यामसुन्दर पुडासैनीलाई उनी कार्यरत मिडिया हाउसले लाखौँ पारिश्रमिक नदिएको सन्दर्भमा पत्रकार महासंघले खेलेको पछिल्लो भूमिका प्रशंसनीय छ ।
पत्रकार रजकलाई पनि एभिन्युज टेलिभिजनले लामो समयदेखि पारिश्रमिक नदिएको भन्ने कुरा आइरहेको छ । पत्रकार महासंघले यसको सत्यतथ्य छानविन गर्न अग्रसरता लिनुपर्छ ।
टिप्पणीहरू