गरे के हुँदैन ? तिब्बतको विकासले हाम्रालाई छुँदैन

चीनको चमत्कारिक विकास देख्दा हाम्रा नेता,प्रशासक तथा विज्ञहरुले मुक्त कण्ठका साथ प्रशंसा गरेको सुनिन्छ । चीनले राजधानी बेइजिङ,व्यापारिक सहर सांघाईलगायत सम्रुद्रबाट नजिकका क्षेत्रमा सबै खालको विकासलाई उच्चतहमा पुर्याएको छ ।
दशकौंदेखिको प्रयासले नेपालसँग सीमाना जोडिएको भौगोलिक रुपले निकै कठिन सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रमा विश्वका अरुलाई पत्यार नलाग्ने चमत्कारिक विकास गरेको छ । पछिल्लो दुई दशकमा त्यहाँको सडक, रेल,हवाई यातायात,कृषि,रोजगारीमा भएको अतुलनीय प्रगतिले कुनै बेला चीनकै सबैभन्दा गरिब,पछौटे र दुर्गम सिचाङको परिभाषालाई ठ्याक्कै उल्टाइदिएको छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार पछिल्लो प्रगतिले सिचाङका जनता नयाँ युगमा प्रवेश गरेका छन् । आधा दशकमा सात लाखभन्दा बढी गरिबीको रेखामुनी रहेकाको जीवनस्तर उकासिएको छ । सन् २०२४ को डिसेम्बरसम्मा त्यहाँको प्रति व्यक्ति आम्दानी साढे १२ प्रतिशतले बढेकाले पनि गरिबी निवारणमा सहयोग पुगेको हो ।
यातायाततर्फ सिचाङमा गत वर्षको अन्तसम्म एक हजार ३५९ किलोमीटर लामो रेलमार्ग सञ्चालनमा आएको छ । यो सन् २०१२ को तुलनामा झण्डै दोब्बर हो । त्यसैगरी एक लाख २४ हजार ९०० किलोमीटर सडकमा सवारी साधन गुड्छन् । सन् २०१२ मा उक्त संख्या झण्डै आधा अर्थात ६५ हजार २०० किलोमीटर मात्रै थियो ।
सञ्चारतर्फ सिचाङमा गत डिसेम्बरसम्म ३३ लाख १० हजार जनाले मोबाइल र इन्टरनेट सुविधा उपभोग गरेको देखिन्छ । तीमध्ये २१ लाख ४० हजारले फाइभ जी सेवा प्रयोग गरेका छन् । त्यसका लागि सरकारले स्वायत्त क्षेत्रभर १७ हजार ८८१ वटा फाइभ जी बेस स्टेसन खडा गरेको छ ।
सिचाङ कुनै बेला अशिक्षितहरुको बसोबास गर्ने ठाउँको रुपमा परिचित थियो । तर अहिले त्यहाँ झण्डै चार हजार वटा विद्यालय छन् । डिसेम्बरसम्म विभिन्न तहका तीन हजार ६१८ वटा विद्यालय तथा कलेजमा नौ लाख ७० हजार विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई सहयोग पुर्याउन झण्डै एक लाख अर्थात ९६ हजार ६०० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको बताइन्छ ।
गत वर्ष त्यहाँको शहरी क्षेत्रमा ५१ हजार नयाँ रोजगारी सिर्जना गरिएको छ । पशुपालन तथा कृषिलगायतका क्षेत्रमा ६ लाख ४८ हजार जना नयाँ रोजगार थपिएको तथ्याङ्क छ । गैरकृषि क्षेत्रबाट ७ अर्ब १६ करोड चिनियाँ युआनको आम्दानी भएको देखिन्छ ।
पोषिलो खाना, स्वास्थ्य उपचारको सुविधा र सहज खालको जीवनयापनले त्यहाँका स्थानीयको औसत उमेर पनि बढेको छ । सन् २०१० मा ६८.१७ वर्ष औसत उमेर रहेका सिचाङबासीहरुको उमेर पछिल्लो समय झण्डै ७३ वर्ष पुगेको छ । सन् २०२० को सातौं राष्ट्रिय जनगणना अनुसार उक्त उमेर हाल ७२.१९ वर्ष देखिन्छ ।
चीन सरकारले सिचाङको विकास र त्यहाँका स्थानीयको जीवन उकास्न गरेको विभिन्न प्रयासमध्ये बीमा पनि एक हो । सन् २०२४ सम्म त्यहाँको सामाजिक क्षेत्रमा प्रयोग भएका विभिन्न बीमालेखको संख्या ७६ लाख ३० हजार पुगेको छ । सरकारले त्यहाँका जनताको स्वास्थ्यमा विशेष जोड दिँदै औषधोपचारमा प्रतिव्यक्ति प्रति वर्ष ७०५ चिनियाँ युआन अर्थात झण्डै १५ हजार नेपाली रुपैयाँ बराबरको अनुदान दिएको सिन्हाको समाचारमा उल्लेख छ ।
टिप्पणीहरू