अध्यादेश माग्दै शिक्षकहरुले दिए सरकारलाई लाचारीको संज्ञा

सरकारलाई खबरदारी गर्न देशभरबाट राजधानी ओइरिएका शिक्षकहरुले अध्यादेशबाट भएपनि विद्यालय शिक्षा ऐन जारीको माग गरेका छन् । आजको प्रदर्शनका क्रममा उनीहरुले सरकारले आफ्ना माग पूरा गर्न अध्यादेशबाट भएपनि ऐन ल्याउनुपर्नेमा जोड दिए ।
सरकारले संसद्को हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक ल्याउने प्रतिबद्धता जनाएको थियो । तर, विधेयक दर्ता नहुँदै अधिवेशन अन्त्य भएपछि आन्दोलनमा उत्रिएका शिक्षकहरुले अध्यादेशको माग गरेका हुन् ।
प्रदर्शनमा सहभागी शिक्षक भूपेन्द्रनाथ अधिकारीले समग्र शैक्षिक अवस्था परिवर्तनका लागि आफूहरु सडकमा आएको भन्दै शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । विद्यार्थी, अभिभावकको र शिक्षकको सारा समस्या समाधान गर्नेगरी नयाँ ऐन ल्याउन ढिला नगर्न उनले आग्रह गरे ।
‘शिक्षा ऐन नहुँदा अहिलेको ७५३ वटै पालिकामा फरक–फरक किसिमको शिक्षा प्रदान भइरहेको छ । त्यसलाई एउटै बनाउन र २०२८ सालको शिक्षा ऐनबाट शासित हुन गाह्रो भएको छ’, शिक्षक अधिकारीले भने, ‘अहिलेको शिक्षा ऐन प्रविधिमैत्री भएको छैन । अब आउने ऐनले विद्यार्थी, अभिभावकको र शिक्षकको समस्या हल हुनुपर्छ । हामीले सडकबाट सदन बोलाएर शिक्षा ऐन आओस् ।’
अर्का शिक्षक शिवलाल बरालीले पनि अध्यादेशबाट भएपनि ऐन जारी गर्नुपर्ने बताए । अहिलेको ऐनले सार्वजनिक शिक्षा सुधार गर्न नसकेको उनको बुझाई छ । ‘शिक्षा ऐन पुरानो भयो, यसले नयाँ प्रविधिलाई समेट्न सकेन । सार्वजनिक शिक्षा सुधार हुने किसिमको प्रविधिमैत्री शिक्षा ऐन हुनुपर्छ । पुरानो ऐनले अहिलेको शिक्षामा परिवर्तन भएको छैन’, उनको ठहर छ ।
उनले शिक्षक महासंघसँग यसअघि भएका सहमति अक्षरशः पालना गर्न सरकारलाई आन्दोलनस्थलबाट सचेत पनि गराए । अब आउने शिक्षा ऐन समसामयिक हुनुपर्नेमा उनको विशेष जोड छ । ‘सरकारले चाह्यो भने अध्यादेशबाट शिक्षा ऐन जारी गर्नसक्छ । सडकबाटै दबाब दिन उपस्थित भएका हौँ’, उनले भने ।
सरकार र शिक्षक महासंघबीच भएको सहमति अक्षरशः कार्यान्वयन गर्न अर्का शिक्षक हेमलाल घिमिरेले माग गरेका छन् । ‘सरकार र शिक्षक महासंघबीच पटक पटक सहमति भएको छ । २०७५, २०७८ र २०८० सालमा शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । संघीय ऐन जारी होस्’, उनले भने ।
शैक्षिक गुणस्तर वृद्धि गर्दै दक्ष जनशक्ति नेपालमै रहने अवस्था निर्माणका लागि नयाँ शिक्षा ऐन जरुरी रहेको घिमिरे बताउँछन् । त्यसैका लागि आफूहरु सडकमा आएको उनले सुनाए ।
प्रदर्शनमा जुम्लाबाट सहभागी एक शिक्षकले अध्यादेशमार्फत भएपनि शिक्षा ऐन तत्काल जारी नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । सरकारले चाहेको खण्डमा यो असम्भव नरहेको उनको जिकिर छ ।
‘सरकारले लाचारीपन देखाइरहेको छ । अध्यादेशमार्फत शिक्षा ऐन ल्याउनसक्छ । हिउँदे अधिवेशनमा आउँछ भनेर झ्क्याएर सक्याए’, उनले थपे, ‘अहिले पनि चाहेको हो भने शिक्षक महासंघसँग सहकार्य गरेर अध्यादेशमार्फत ल्याउनसक्छ ।’
विगतमा शिक्षक महासंघसँग भएका सम्झौता सम्बोधन हुनेगरी नयाँ शिक्षा ऐन जारी गर्न शिक्षक रुद्रबहादुर वलीले माइतीघरबाटै माग गरे । भने, ‘विगतमा सरकारसँग भएका सम्झौता सम्बोधन हुनेगरी नयाँ शिक्षा ऐन जारी गर्नका लागि दबाब दिन आएका हौँ । हाम्रा समस्या धेरै छन् । तत्कालको लागि हाम्रा नयाँ माग छैनन् ।’
अस्तिदेखि सडकमा उत्रिएका शिक्षकहरुले मुलुकको शैक्षिक अवस्थाप्रति सरकार बेखबर राखेको भन्दै चिन्ता जनाएका छन् । नाजुक अवस्थामा रहेको शिक्षाको स्थिति सुधार्न प्रविधिमैत्री शिक्षा ऐन आवश्यक पर्ने उनीहरुको धारणा छ ।
टिप्पणीहरू