भरतपुरमा कृषि र पशुतर्फ प्रगति भरमार

चितवनको भरतपुर महानगरपालिकामा 'किसान परिचय पत्र' वितरणका लागि आवश्यक विवरण संकलन गर्न आठ जना गणक खटिएका छन् । किसानको पहिचानगरी तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्न र उनीहरुलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसानहरुको विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गरिने महानगरपालिकाले बताएको छ ।
किसान सूचीकरणको थालनी वडा नं. २७ र २८ बाट गरी आगामी आर्थिक वर्षमा सबै किसानलाई सूचीकरण गरिने लक्ष्य राखिएको पनि महानगरले जनायो । स्वस्थ बाली उत्पादनका लागि महानगरपालिकाका विभिन्न आठ स्थानमा आईपिएम कृषक पाठशाला सञ्चालन गरिएको बताउँदै महानगरले भनेको छ, 'यसबाट दुई सय जना कृषकहरु विषादी रहित स्वस्थ बाली उत्पादनमा दक्ष भई त्यसको अनुशरण गर्नेछन् ।’
भरतपुर महानगरको अस्ति दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिक प्रगति प्रतिवेदनमा कृषितर्फ माटो परीक्षणलाई महत्वपूर्ण कार्यमा राख्दै माटोमा भएको अम्लीयपनलाई न्यूनीकरण गर्न कृषि चुन वितरण कार्यलाई अगाडि बढाइएको र माटो परीक्षणका लागि आवश्यक उपकरण खरिद गरिएको जनाइएको छ ।
उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले किसानहरुलाई उन्नत बिउमा अनुदान दिने लक्ष्यअनुसार गहुँ खेती गर्ने ४३१ र तोरी लगाउने ९२१ गरी १३५२ जना कृषकलाई उन्नत बिउमा अनुदान उपलब्ध गराइएको विवरण उल्लेख गरिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले भने, ‘किसानहरुको खेतबारीमा सिँचाइको सुनिश्चितता गर्न बोरिङ तथा कुलो निर्माणमा अनुदान उपलब्ध गराइने लक्ष्य अनुसार यस वर्षको कार्यक्रममा आवेदन गर्ने किसानहरुको फिल्ड भेरीफिकेसनको कार्य भइरहेको छ । यसै महिनाभित्र छनौट भएका लाभग्राहीसँग सम्झौता गरिने छ ।’
पशुतर्फ किसानहरुलाई दूधमा दिँदै आएको अनुदान रकम वृद्धि गरिएको बताइएको छ । भरतपुरमा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा प्रतिलिटर दूधमा रु. ३ अनुदान कार्यक्रमअन्तर्गत ७८ वटा संघ-संस्थाहरु छनौट भई करिब दुई करोड १३ लाख लिटरका लागि अनुदान रु. ६ करोड ३९ लाख प्रदान गरिएको र त्यसबाट १० हजार ५६० जना कृषक प्रत्यक्ष लाभान्वित भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।
चालु आर्थिक वर्ष २०८१-०८२ मा प्रतिलिटर दूधमा रु. ४ अनुदान कार्यक्रम सञ्चालन भइरहेको महानगरपालिकाले बतायो । अहिले ७६ वटा संघसंस्थाका १० हजार तीनसय ९८ जना कृषक मार्फत् प्रारम्भिक दूधको परिमाण दुई करोड ४१ लाख ४६ हजार ४ सय ३१ लिटरको आवेदन पेश भई प्रमाणीकरणको कार्य अगाडि बढेको बताउँदै प्रगति प्रतिवेदनमा भनिएको छ, ‘यसबाट विगत आ.व. भन्दा २८ लाख लिटर दूध बढोत्तरी भई रु. ९ करोड ६५ लाख रकम वितरण हुने देखिन्छ ।’
‘पशुबस्तुको नश्ल सुधार कार्यक्रम अन्तर्गत १८ हजार नौसय ६७ पशुमा कृत्रिम गर्भाधान सेवा पुर्याइएको छ’, महानगरले भनेको छ, ‘करिब २२ हजार पशुहरुमा संक्रामक रोगहरु विरुद्धको पि.पि.आर., खोरेत, रेबिजका खोपहरु निःशुल्क लगाइएको छ भने २६ हजार पशुपन्छीमा परजीवी नियन्त्रण तथा उपचार सेवा पुर्याइएको छ ।’
भरतपुरमा चालु आ.व.मा मागमा आधारित पशु सेवा तथा मत्स्य प्रवद्र्धन कार्यक्रम र महिला उद्यमी तथा वैदेशिक रोजगारबाट फर्केकालाई प्रोत्साहन गर्ने अभिप्रायका साथ ४० जना लाभग्राहीसँग सम्झौतागरी गोठ मर्मतसुधार, चाफकटर, काउम्याट, पोखरी निर्माण, जैविक सुरक्षा जस्ता कार्यक्रम उपलब्ध गराइएको पनि महानगरले बताएको छ ।
टिप्पणीहरू