उत्तरका मन्त्री र दक्षिणका सचिव आउँदै

उत्तरका मन्त्री र दक्षिणका सचिव आउँदै

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने नेपाल भ्रमणको लागि आगामी साता काठमाडौं आउने भएका छन् । दुई देशबीच झण्डै एक वर्षदेखि कायम रहेको तिक्ततापूर्ण सम्बन्धलाई सुमधुर बनाउने प्रयासको श्रृंखलामा मङ्ग्सिर ११ र १२ गते यो भ्रमण हुन लागेको बताइएको छ ।

नेपालले आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि झन् बिग्रिएको दुईपक्षीय सम्बन्ध सुधार्न हालै मात्र भारतीय खुफिया एजेन्सी ‘र’ का प्रमुख सामन्त गोयलले पनि गोप्य भ्रमण गरेका थिए । त्यसक्रममा उनले मध्यराती प्रधानमन्त्री केपी शर्मा ओलीसँग झण्डै तीन घण्टा भेटवार्ता गरेका थिए । ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रूपमा गोयलले आफूलाई भेटेको दाबी गरेपनि भारतीय पक्षले अहिलेसम्म उक्त दाबीलाई पुष्टि गरेको छैन ।

यसबीच भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न काठमाडौं आएको बखत पनि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

सचिव श्रृंगला नेपाली मूलकी हरिदेवी बस्नेतकी छोरा हुन् । दार्जिलिङ् निवासी श्रृंगलाको ससुराली घर भने नेपालको इलाम जिल्ला रहेको बताइन्छ । यसअघि बाङ्लादेशमा राजदूत रहिसकेका उनी हिन्दी, अंग्रेजी, बंगाली र नेपाली भाषा फरर्र बोल्छन् ।

भारतसँग सीमा समस्या गहिरिँदै गएको र सत्तारुढ दलभित्रको आन्तरिक राजनीतिमा समेत उतारचढाव आएको बेला छिमेकी राष्ट्रहरूको चासो बढ्न थालेको हो । यसै महिनाको अन्ततिर उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ्ग यीले नेपालको १२ घण्टे भ्रमण गर्न लाग्नुभएको बुझिएको छ ।

झण्डै १२ घण्टा काठमाडौंमा रहँदा वाङ्गले राष्ट्रपति,प्रधानमन्त्री,परराष्ट्रमन्त्रीलगायत मुख्य राजनीतिक दलका सबैजसो मुख्य नेताहरूसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ । चिनियाँ विदेश मन्त्रीले अन्य मुलुकको भ्रमणमा जाने क्रममा केही समय काठमाडौंमा उत्रेर राजनीतिक भेटघाट गर्न लागेका हुन् । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको भेटमा उनले द्विपक्षीय सहयोग र अन्तर्राष्ट्रिय समसामयिक राजनीतिबारे छलफल गर्नसक्ने बताइएको छ ।

टिप्पणीहरू