खाना सँगै बैंक खाता
कोभिड–१९ महामारीसँगै गत चैतदेखि शुरु भएको लकडाउन र निषेधाज्ञाका कारण निमुखा,असहाय र गरिब नागरिकलाई विभिन्न समूहले काठमाडौंमा निःशुल्क खाना वितरण गर्दै आएका छन् । त्यसरी खाना बाँड्नेमध्ये १०० ग्रुप नामको सामाजिक अभियान पनि एक हो । उक्त अभियान र हाम्रो टीम नेपालले झण्डै आठ महिनादेखि काठमाडौंको टुँडिखेलमा निःशुल्क खाना वितरण गर्दै आएकोमा बुधबारदेखि काठमाडौ महानगरपालिकाले दिएको निर्देशनअनुसार संयुक्त रुपमा कामनपा–११ थापाथलीस्थित प्रसुती गृहको पछाडिको खालि ठाउँमा खाना वितरण हुन थालेको छ ।
१०० ग्रुप नामको सामाजिक अभियानका संयोजक सन्जु यादवले आफूहरुले असहाय तथा विपन्न नागरिकहरुलाई निःशुल्क खाना वितरण कार्यक्रमअन्तर्गत विगतमा टुँडिखेलमा झैँ थापाथलीको प्रसुती गृह पछाडिको खाली ठाउँमा पनि साँझ ४:४० देखि ५ बजेसम्म सादा खानाका २ देखि ३ परिकारहरु बाँड्दै आएको बताएका छन् ।
खाना वितरणस्थलमा खानासँगै ई–सेवा लेखिएको आईडी र ग्लोबल आईएमई बैङ्कको खाता नम्बर उल्लेख हुने गरेको छ । ब्यानर १०० ग्रुप लेखिएको ब्यानरको छेउमै टाँगिएको अर्को ब्यानरमा आर्थिक सहयोग गरी पुण्य कमाउन चाहनेहरुले ई–सेवा र ग्लोबल आईएमई बैंकमा रहेको खातामा रकम जम्मा गर्नसक्ने भनिएको छ ।
टिप्पणीहरू