आज कहाँ कहाँ के भयो र के हुँदैछ ?
आज काठमाडौं उपत्यकामा विभिन्न क्षेत्रका बिरोध कार्यक्रमहरु भएका छन् । केही कार्यक्रम भइसकेका छन् भने कुनै भइरहेका छन् । आज सेयर लगानीकर्ताहरूले ब्रोकर कमिसन घटाउनुपर्ने माग राख्दै बिहान १० बजे प्रदर्शनसहित नेप्सेको कार्यालय घेराउ गरेका थिए ।
उता,सडक बिस्तार पीडित संघर्ष समितिले नेपालको संविधान, ऐन, कानून र सम्मानित सर्वोच्च अदालतको आदेशविपरीत बालाजु बाइपास क्षेत्रमा गैरन्यायिक सडक बिस्तार गरिएको भन्दै बिहान १० बजेदेखि अपरान्ह चार बजेसम्मको लागि रिले अनसन गरेका छन् ।
झण्डै एक महिनादेखि बिरोध प्रदर्शन हुँदै आएको वीर अस्पतालमा कार्यरत कर्मचारीहरूले स्वास्थ्यकर्मीलाई कोभिड सामाग्री तथा खाईपाई आएको सुविधा उपलब्ध गराउनुपर्ने माग राखी अस्पताल प्राङ्गणमा बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म धर्ना र नारा जुलुस गरेका छन् ।
उता,खसान राष्ट्रिय संघर्ष समिति नेपाल केन्द्रीय कार्यसमितिले खस समुदायलाई आदिवासीमा सूचीकृत गर्न, खस र आर्य समानुपातिक क्लष्टरलाई अलग राख्न, खस समुदायको मष्टो सांस्कृतिक चाडमा सार्वजनिक बिदा दिन र पहिचानको आधारमा खसान प्रान्तसहितको १ सय १ प्रान्त स्थापनाको माग राखी माइतीघर मण्डलामा बिहान ११ बजे बिरोध सभा गरेको छ ।
नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी),नेकपा(माले), राष्ट्रिय जनमोर्चा, प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीलगायत २२ राजनीतिक दलहरूले एम.सी.सी. सम्झौता खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको भूभागमा नेपालको स्वामित्व कायम गर्नुपर्ने, कोभिड–१९ रोकथाम, नियन्त्रण र निःशुल्क उपचार,बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा,रोजगारीको व्यवस्था,निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम रकम तत्काल भुक्तानी गर्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा दिउँसो बिरोध सभाको आयोजना गरेको छ ।
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले भने ७ औं पार्टी पुनर्गठन दिवसको अवसरमा देशव्यापी प्रदर्शन तथा जनसभा कार्यक्रमको आयोजना गर्ने बताएको छ ।
त्यसैगरी त्रि.वि.आंशिक प्राध्यापक संघ,केन्द्रीय कमिटीले त्रिभुवन विश्वविद्यालयले जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका,२०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएको भन्दै उक्त निर्देशिका खारेजीको माग राखेर असोज २४ गतेदेखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउँदै आएको छ । यसबीच संघले देशभरका क्याम्पसहरूमा अनलाइन कक्षासमेत बहिस्कार गर्दै आएको छ । सोही संघको पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रीय निर्देशन भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा असोज १२ गतेदेखि गरेको तालाबन्दीलाई अझैपनि निरन्तरता दिएको जनाएको छ ।
टिप्पणीहरू