सबैजसो सरकारी ‘अड्डा’मा बिप्लवको पोष्टर

सबैजसो सरकारी ‘अड्डा’मा बिप्लवको पोष्टर

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीको पुनर्गठन दिवसको अवसरमा मंसिर ६, ७ ८ गते तीन दिनसम्म देशव्यापी कार्यक्रमको आयोजना गरिरहेको छ । सरकारद्धारा प्रतिबन्धित नेकपाले दिवसको पहिलो दिन रुकुम पश्चिममा सबैजसो सरकारी अड्डा र सार्वजनिक स्थानमा पोष्टर टाँस्ने कार्य सम्पन्न गरेको जनाएको छ ।

मंसिर ६ गतेका दिन पार्टीको नाराहरु उल्लेखित भित्ते लेखन र साँस्कृतिक प्रस्तुतिहरु देशव्यापी गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । रुकुममा भने जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानीय तहमा व्यापक रुपमा पार्टीले दिवसका अवसरमा तयार पारेको पोष्टर टाँसिएको छ ।
कार्यालयका भित्ता, बिद्युतका पोल, सार्वजनिक चौतारी लगायतका स्थानमा पोष्टर टाँसिएको छ । ६ गते राती विप्लवका जिल्ला कार्यकर्ताहरुले विभिन्न पालिकाहरुमा एकै साथ पोष्टर टाँसेर दिवसको प्रचार प्रसार गरेका हुन् ।


पोष्टरमा ‘एकिकृत जनक्राान्ति – जिन्दावाद, एकिकृत क्रान्तिको झण्डालाई उच्च पारौ, पार्टी पुनर्गठन दिवस भव्य रुपले मनाऔं’ लगायतका नाराहरु उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय नजिकैको पोल र भित्ता, सदरमुकामका विभिन्न सरकारी कार्यालयको भित्ता, मुख्य बजार क्षेत्र, जिल्ला ६ ओटा स्थानीय तहमा करिब ७ सय पोष्टर ६ गते राति टाँसिएको छ । तर अधिकांश क्षेत्रमा टाँसिएका पोष्टर भने सरकारी पक्षबाट बिहानै च्यातिएका छन् ।

मंसिर ७ गतेका दिन देश व्यापीरुपमा नारा जुलुसको कार्यक्रम गर्ने नेकपाले जनाएको छ । जसअनुसार रुकुमका केही स्थानमा कोण सभा गर्ने कार्यक्रम तय भएको बताइन्छ । कार्यक्रमलाई सेक्रेटरी मनजित र ईन्चार्ज दिपले सम्बोधन गर्नेछन् ।

मंसिर ८ गते दिवसको मुख्य दिन भएकोले उनीहरुले उत्सवको कार्यक्रम तय गरेका छन् । जस अन्तर्गत दिउँसो जिल्लाको केही स्थानमा जुलुससहितको जनसभा गर्ने र साँझपख बत्ति बालेर दिपावली गर्ने छन् । बिशेष गरी पार्टीको केन्द्रिय समितिले रोल्पामा कार्यक्रम गर्ने भएपछि त्यताको कार्यक्रममा बढि केन्द्रित भएको बताइएको छ ।

टिप्पणीहरू