आज काठमाडौंमा हुने कार्यक्रमहरू

प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन र इलामस्थित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्न आज बिहान त्यसतर्फ जानुभएको छ भने सडक विस्तार पीडित संघर्ष समितिले नेपालको संविधान,ऐन,कानून र सम्मानित सर्वोच्च अदालतको आदेशविपरित बालाजु बाइपासमा भइरहेको गैरन्यायिक सडक बिस्तारबिरुद्ध दोस्रो दिनको रिले अनसन आज बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म जारी राखेको छ ।

वीर अस्पतालका कर्मचारीहरूले स्वास्थ्यकर्मीलाई कोभिड बिरुद्धको स्वास्थ्य सामाग्री तथा खाईपाई आएको सुविधा दिलाउन अस्पताल पदाधिकारीबिरुद्ध अस्पताल प्राङ्गणमा आज पनि बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना तथा नारा जुलुस गरेका छन् । उनीहरूले हिजो पनि त्यस्तै खालको बिरोध कार्यक्रम गरेका थिए । शाहीशक्ति नेपालले आगामी दिनमा आयोजना गर्ने प्रदर्शन कार्यक्रमका साथै आन्तरिक रणनीति विषयमा न्यू गोधुली क्याफे,कोटेश्वरमा बिहान ११ बजेदेखि छलफल कार्यक्रमको आयोजना भएको छ ।

उता,जोरपाटीमा नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आयोजना गरिएको छ भने प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले देशभर ७ औं पार्टी पुनर्गठनको कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ ।

त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघ,केन्द्रीय कमिटीले असोज २४ गतेदेखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने र अनलाइन कक्षा बहिस्कार गर्ने कार्यक्रमलाई आजपनि निरन्तरता दिएको छ । सोही संघको पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रीय निर्देशनअनुसार क्याम्पस प्रमुखको कार्यकक्षमा असोज १२ गतेदेखि गरेको तालाबन्दीको कार्यक्रमलाई जारी राखेको बताइएको छ ।

टिप्पणीहरू